आफन्तले हत्या गर्ने धम्की दिएपछि अन्तरजातीय विवाह गरेको जोडी २१ दिनदेखि जंगलमा (भिडियोसहित)

कैलालीमा अन्तरजातीय विवाह गरेकाे एक जोडी करिब एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य भएका छन्।

कैलालीको भजनी नगरपालिका-४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएकाे बताएका हुन्।

उनीहरूले जंगलबाटै भिडियाे बनाएर आफूहरु अन्तरजातीय विवाह गरेपछि मार्ने धम्की आएकाे र जंगलमा लुकेर बस्न बाध्य भएकाे बताएका छन्।

विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएकाे बताएका छन्। युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन्।

दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्।

भिडियाेमा उनीहरूले भनेका छन्, ‘हामीहरूले इन्टरकाष्ट विहे गरेका छाैं। परिवारले नमानेका कारण अहिले हामी जंगलमा बस्न बाध्य भएका छाैं। तपाईहरूकाे साथ चाहिएकाे छ। घरकाले जवर्जस्ती विहे गरेकाे भनेर मुद्दा हालेका छन्। हामीले सहमतिमा विहे गरेकाे हाैं। घरकाले रूकुम हत्याकाण्ड काण्ड दाेहाेरिन सक्छ भन्नु भएकाे छ। हामीलाई डर लागेकाे छ, सहयाेग गर्नुहाेस् !’

भिडियाे सार्वजनिक भएसँगे उनीहरूलाई दलित अभियन्ताकाे सहयाेगमा गाउँ फर्काउने तयारी भएकाे जेबी विश्वकर्माले बताएका छन्।

प्रकाशित मिति: : 2021-07-09 14:51:00

प्रतिकृया दिनुहोस्