जात व्यवस्थाविरुद्ध पाेखरामा माैन प्रदर्शन

जात व्यवस्थामाथिको बहस देशव्यापी रुपमा चर्केको छ, यतिबेला।

बौद्धिक जमातदेखि सामाजिक सञ्जाल, अखबारका पाना र सञ्चारमाध्यममा जात व्यवस्थामाथि बहस चलि रहेको छ। 

विभेदको विरोधमा देशव्यापी विरोध भईरहदा पोखरामा पनि मौन विरोध प्रदर्शन गरिएको छ। सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको विरोधमा पोखरामा मौन विरोध भएको हो। 

आवाज कास्कीद्वारा आयोजित ‘जात व्यवस्थाका संरक्षकलाई मौन प्रश्न’ नाम दिइएको कार्यक्रममा दुई दर्जन बढीको उपस्थिति थियो। हातमा व्यवस्थामाथि अनेक प्रश्न बोकेको 'पम्प्लेट' बोकेर प्रर्दशन गरिएको थियो।

आवाज कास्कीका अध्यक्ष प्रकाश सुनारले मौन आवाज नसुने सशक्त प्रतिकारमा उत्रिने बताए। पोखरा मानव अधिकार चोकमा एक घण्टा मौन उभिएर गरिएको प्रश्न सञ्चारकर्मी रुपा सुनारको पक्षमा आयोजना गरिएको उनले सुनाए।

‘यसलाई क्रमिक रुपमा लैजाने कार्यक्रम रहेको छ। यो सुरुआत मात्रै हो। पहिलो कार्यक्रम यहाँबाट सुरु गर्‍यौं,’ उनले भने।

पहिलो चरणमा सरकारलाई मौन प्रश्न राखे पनि परि आएको खण्डमा विद्रोमा समेत उत्रिने उनले बताए। दलित महिला संघ कास्कीकी अध्यक्ष सुमित्रा गायकले शान्तिपूर्ण विरोधमा उत्रिएको बताइन्। शान्तिपूर्ण गरिएको विरोध सम्बोधन नभए शसक्त विरोधमा समेत उत्रिने उनले बताइन्।

‘हाम्रो माग पूरा भएन भने हामी आन्दोलन चर्काउन पनि तयार छौं,’ उनले भनिन्। मौन रहेर आजाव उठाउदा सुनुवाई नभए आवाजसहित प्रश्न राख्न पनि तयार रहेको उनले सुनाइन्।

व्यवस्थामाथि मौन प्रश्न राख्न गैर दलितको समेत उपस्थिति थियो। मौन प्रश्न राख्न आएका दीपक केसीले जात व्यवस्था हटाउनु पर्ने बताए। त्यस्तै पत्रकार केशव शरणले मौनभन्दा पनि चर्को आन्दोलन लिएर उठ्नु पर्ने बताए। मान्छेको दर्जा नदिने विभेदकारी प्रवृति भत्किनुपर्ने उन भनाइ थियाे।

भौतिक दुरी कायम राखेर प्रर्दशनकारीले मौन प्रश्न राखेका थिए। 

प्रकाशित मिति: : 2021-06-28 10:18:00

प्रतिकृया दिनुहोस्