रिङरोडमा ललितपुर महानगरले स्मार्ट बत्ती जडान गर्ने

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले रिङरोडमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।

महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत बालकुमारी–बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो। 

सडक बत्ती जडानका लागि महानगरपालिका, विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक अर्जुन थापाले हस्ताक्षर गरेका छन्। 

सो सडक बत्ती जडानका लागि करिब १७ करोड ३६ लाख रकम लाग्ने अनुमान रहेकाे महानगरले जनाएकाे छ। जसमा कुल लागतको ६० प्रतिशत रकम महानगरले बेहोर्नेछ भने नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने भएको छ।

 सम्झौता कार्यक्रममा बाेल्दै महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरले रिङरोडलाई उज्यालो र सुरक्षित बनाउन यो बत्ती जडान गर्न लागेको बताए। 

‘रिङरोड हेर्दा आधुनिक र आकर्षक देखिएपनि असुरक्षित छ, बत्ती नहँदा रातमा हुने दुर्घटनाले धेरैको ज्यान गएको छ। यो बत्तीको जडानले सडकलाई सुरक्षित बनाउने र दुर्घटना कम गर्न समेत सहयाेग मिल्नेछ।’  

महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत पहिलो चरणमा महानगरभित्रका तीनवटा रुटमा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ। नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरपालिकाले बाग्मती पुलबाट जावालखेल - लगनखेल हुँदै सातदोबाटोसम्म , हिमालय होटेल ( इनार ), पाटनढोका, अशोक हल, बल्खु हुँदै मंगलबजार-लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६ ९ वटा स्मार्ट सडक बत्ती जडान सम्पन्न गरिसकेकाे छ। 

सडक बत्तीको जडानले यी रुटका सडक झिलिमिली भएका छन्। सडक उज्यालो हुँदा सवारीसाधनमा गुड्नेलाई, पैदल हिँड्नेलाई सजिलो भएको छ। बत्ती जडानपछि सडक सुरक्षित भएको छ। सहर सुन्दर देखिएको महानगरले बताएकाे छ। 

प्रकाशित मिति: : 2021-06-16 08:25:00

प्रतिकृया दिनुहोस्