कांग्रेसले द्वैध चरित्र देखायो : मन्त्री साह 

शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएर कांग्रेस पतन उन्मुख रहेको बताएका छन्।

बिहीवार रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्धघाटन कार्यक्रममा बोल्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले निरन्तर सत्ता स्वार्थमा रहेको कांग्रेस वर्तमान स्थितिमा पनि दोहोरो चरित्र देखाइरहेको बताएका हुन्। 

‘संसद विघटन पछि देशमा विद्यमान अवस्थाका बीच कांग्रेसको भुमिकामाथि सबैले एकपटक ध्यान दिन जरुरी छ। हामीले जितेका पार्टी देशलाई नयाँ दिशा दिन ताजा जनादेशको लागि आह्वान गरेका छौँ’ मन्त्री साहले भने, ‘तर जनताले पराजित गरिसकेको नेताहरू भने संसद पुनर्स्थापनाको लागि माग गरिरहेको छ।’

संसद विघटनकै विषयमा एकातिर अदालतको कुरा मान्ने भन्नू र अर्कोतिर आन्दोलन गर्ने कार्य गर्नु कांग्रेसको लागि पतनको सुरुवात भएको मन्त्री साहले बताए। 

कांग्रेसले संविधान बनाएको दाबी पनि गर्ने अर्कोतिर धर्मनिरपेक्षता, संघीयतलगायतका संवैधानिक व्यवस्था उल्टाउन खोज्ने दोहोरो चरित्र देखाएको उनको भनाइ छ। 

‘एकातिर संसद पुनर्स्थापनाको माग गर्दै सडकमा आन्दोलन गरिरहेको कांग्रेस अर्कोतिर अदालतको फैसलालाई पनि स्विकार्ने बताइरहेको छ। आज कांग्रेसको पोजिसन के छ ?’ मन्त्री साहले थपे, ‘यो द्वैध चरित्रले नै अलिअलि बाँकी रहेको कांग्रेस पतनको सिकार बन्दै गएको छ। र यही नै आजको आवश्यकता हो।’

समाजलाई भ्रममा राखेर सत्ताको रस चाट्ने दाउमा रहेको बताउदै मन्त्री साहले कांग्रेसले विगतमा पनि एकातिर आन्दोलन गर्ने र अर्कोतिर राजासँग बार्गेनिङ गर्नेजस्ता गतिविधि देखाएर सत्ताको आसपास मात्र रहेको स्मरण गराए।

प्रकाशित मिति: : 2021-02-18 21:43:00

प्रतिकृया दिनुहोस्