ओलीलाई ‘मोदी गृहकार्य’ : राजासहितको हिन्दू राष्ट्र

Break n Links
Break n Links

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेपछि छटपटाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मोदीको दर्शनभेट पाएका छन् । दर्शनभेट पनि यस्तो मिल्यो कि एक्लाएक्लै । विदेशी सरकार प्रमुखलाई विरलै एक्लाएक्लै भेट्ने मोदीले ओलीलाई दिएको यो ‘एक्स्क्लुसिव दर्शनभेट’ केका लागि थियो ? त्यो दर्शनभेटको भाँडोमा केके पाक्यो ?, त्योचाहिँ अहिले पनि रहस्यकै गर्भमा छ ।

अहिले यो दर्शनभेटलाई लिएर परस्पर विरोधी अनुमानहरू बाहिर आएका छन् । ओलीका गोयबल्सहरू यस भेटलाई नेपाल–भारत सम्बन्धको कोशेढुंगाका रूपमा भाष्य दिने प्रयत्नमा छन् । तर, बाँकीले यसलाई सहज र स्वाभाविक भेटका रूपमा लिइरहेका छैनन्; शंकाकै घेरामा राखेर हेरिरहेका छन् ।

राजावादीहरूले राजा फर्काउने आन्दोलन सुरु गरेकै समयमा भएको यो दर्शनभेट सामान्य छैन । यसको पृष्ठभूमिमा नेपाल र भारत दुवैतिर केही विशिष्ट कारण र आधार छन् । नेपालतिरको कुरा गर्दा वयलगाडा सिद्धान्तका प्रतिपादक ओलीको गणतन्त्रप्रतिको प्रतिबद्धतासँग जोडेर हेर्नुपर्ने हुन्छ । यतिमात्र हैन, योसँगै राजावादीहरूलाई दूध खुवाएर गणतन्त्रविरूद्ध विषवमन गर्ने हैसियतमा उकाल्ने उनको भूमिकालाई पनि सँगै राखेर हेर्नुपर्ने हुन्छ । आखिर यो सबै उनले किन गरिरहेका थिए ?

भारततिरको कुरा गर्दा मोदी नेपालमा सके राजासहितको हिन्दू राज्य नसके पनि संवैधानिक राजासहितको हिन्दूराष्ट्र र त्यो पनि नसके हिन्दू राष्ट्र फर्काउनुपर्ने चरम दबाबमा छन् । यो दबाब उनलाई आफ्नै मातृसंस्था राष्ट्रिय स्वयंसेवक दलले दिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यो दबाबको नेतृत्व लिएका छन् ।

आदित्यनाथसँग पूर्वराजा ज्ञानेन्द्र शाहको बाक्लो उठबस मात्र भइरहेको छैन, केही दिन पहिले भएको राजावादी आन्दोलनमा उनको तस्बिर ज्ञानेन्द्रको भन्दा पनि ठूलो थियो । यी दुई परिघटनालाई केवल संयोग मात्र भन्न सकिने अवस्था छैन । अझ त्यसमाथि पनि भारतीय गोदी मिडियाले यसलाई जुन किसिमको ‘भगुवा रङ’ दिने कोसिस गरे, त्यो त असामान्य नै छ ।

प्रस्तुत पृष्ठभूमिमा ओलीले मोदीको एक्लाएक्लै दर्शनभेट पाएका हुन् । र, यो भेट ओलीलाई लामो समय तडपाएपछि मात्र दिइएको छ । भेटपछिको ओलीको ‘भर्वल कम्युनिकेसन’ ठिकै देखिए पनि ‘ननभर्वल कम्युनिकेसन’ उत्साहप्रद छैन । खासगरी ओलीको अनुहारबाट चमक हराएको छ । लाग्छ, उनलाई मोदीले जुन गृहकार्य दिएका छन्, त्यसैको भारीले उनको यो दशा भएको हो ।

के छ ‘मोदी–गृहकार्य’मा ?
मोदी लुकाएर कुरा गर्ने स्वभावका छैनन् । शायद उनले यो भेटमा पनि ओलीसँग सिधै राष्ट्रिय स्वयंसेवक दलको चाहना र आफ्नो बाध्यता बताएको हुनुपर्छ । त्यो भनेको ‘सके राजासहितको हिन्दू राज्य नसके पनि संवैधानिक राजासहितको हिन्दू राष्ट्र र त्यो पनि नसके हिन्दू राष्ट्र फर्काउनुपर्ने’ हो । मोदीले यसमा ओलीको सक्रिय भूमिका र सहयोग चाहेका छन् । त्यति मात्र हैन, मोदीले त्यसो भए मात्र ओलीलाई प्रधानमन्त्रीका रूपमा सहयोग मिल्छ र नेपाल–भारत सम्बन्ध पनि सुमधुर हुन्छ ।

सत्ताका वाचाल खेलाडी मोदीले ओलीको गणतन्त्रप्रतिको प्रतिबद्धता र राजावादी हुर्काउन गरेको योगदानको नाडी छामिसकेकै छन् । अझ उनलाई ओलीको सत्तामोह र अरू कमजोरीको पनि राम्रैसँग हेक्का छ । त्यसमाथि पनि उनले आफू राजाको पक्षमा उभिन बाध्य हुने र त्यतिबेला आम्नेसाम्ने हुनुपर्ने अवस्था आउँछ भनेर तर्साएको पनि हुनुपर्छ ।

मोदीको साम, दाम, दण्ड, भेदमा लत्रेर ओलीले कम्तीमा पनि नेपाललाई संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा स्विकार गरेर आएको हुनुपर्छ । यही नै ओलीले पाएको कठिन गृहकार्य हो । ओलीकै सबैभन्दा प्रिय विषयकै गृहकार्य भए पनि यो फत्ते गर्न सहज छैन । ओलीको टाउको दुखाइ पनि यही नै हो ।

अब के गर्छन् ओली ?

ओली अहिले नै मोदीलाई दिएको वचन सार्वजनिक गर्न सक्ने अवस्थामा छैनन् । उनलाई थाहा छ, नेपालको पछिल्लो राजनीतिक तावा त्यतिसम्म तातिसकेको छैन । यसका लागि अरूको त कुरै नगरौँ, ’ओमाले’ बनिसकेको उनको आफ्नै पार्टी पनि तयार छैन ।

कांग्रेसमा एउटा धार राजावादी नै छ । त्यसको दबाब पार्टीमा बढ्दै पनि छ । यद्यपि, संस्थापन पक्ष त्यो धारमा गइसकेको छैन । कांग्रेसको युवा पुस्ता पनि राजा पाल्ने पक्षमा छैन । तर, मोदीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक दलले आरजु राणामार्फत कांग्रेसको संस्थापनलाई राजाको पक्षमा ल्याउने प्रयास थालिसके जस्तो देखिन्छ । आरजुको बढ्दो राजनीतिक महत्वाकांक्षाका सामु सधैँ निहुरमुन्टी न हुने चरित्र र छैटौँ पटक प्रधानमन्त्री हुन जे पनि गर्ने मानसिकताका कारण देउवाले गति छोड्दैनन् भन्न सकिने अवस्था छैन ।

अझ त्यसमाथि पनि ओलीले मोदीलाई दिएको वाचा पूरा गरियो भने मात्र ‘तपाई प्रधानमन्त्री हुनुहुन्छ’ भनेर देउवालाई भन्न सक्छन् । यस्तो अवस्थामा कांग्रेस पनि संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा उभिन सक्छ ।

कांग्रेसमा यस्तो अवस्था सिर्जना गरेपछि ओली आफ्नो पार्टीमा संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा फर्काउन दबाब बढाउन सक्छन् । त्यस्तो अवस्थामा पार्टीको ठूलो पंक्तिको असहमति रहँदारहँदै पनि ओलीले एमालेलाई मोदीलाई दिएको बचनको पक्षमा उभ्याउन सक्छन् । त्यस्तो अवस्थामा एमाले विभाजनमा जान पनि सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी त रविलाई बचाउने सर्तमा जुन कित्तामा पनि उभिन तयार नै छ । त्यसका लागि रविले मोदीका भाइमार्फत लबिङ गर्न थालेको पनि धेरै भइसक्यो । यद्यपि, अझै त्यसको परिणाम देखिएको छैन । ओली र देउवा मिलेर रविलाई बचाउने वचन दिए भने रास्वपा नै सबैभन्दा पहिले राजावादी कित्तामा उभिन्छ । राजावादी आन्दोलन राप्रपाको काँधबाट रास्वपाको काँधमा सार्न सकियो भने त्यसमा केही बल पुग्न पनि सक्छ ।

यस्तो अवस्थामा ओली–देउवालाई आआफ्नो पार्टीमा आफ्नो बाध्यता सम्झाउन सहज हुन्छ । र, उनीहरू राजाको पक्षमा वार्ता र सम्झौता गर्ने आफ्नो रोडम्यापमा अगाडि बढ्छन् । नेपालमा यो स्थिति सिर्जना भएपछि मोदीलाई पनि आफ्नो राजावादी तुरुपको पत्ता हाकाहाकी खोल्न सजिलो हुन्छ । जब मोदीले तुरुप खोल्छन्, नेपालको सेना र प्रहरीले पनि त्यही लाइनमा ‘हरियो बत्ती’ देखाउँछ ।

त्यसपछि के हुन्छ ?

ओली र मोदीले आआफ्नो पार्टीलाई मोदीको लाइनमा उभ्याए पनि माओवादी गणतन्त्रको पक्षमा नै उभिन्छ । गणतन्त्र छोड्नु भनेको माओवादीको राजनीतिक आत्महत्या नै हो । नेपाली सत्ता राजनीतिका अर्का वाचाल खेलाडी प्रचण्डलाई यसको हेक्का राम्रैसँग छ । उनलाई यो पनि थाहा छ कि यसबाट उनलाई थप शक्ति आर्जन गर्ने अवसर मिल्छ ।

संघीयता बटम लाइन बनाएका तराईका क्षेत्रीय दलहरू पनि त्यसको सुरक्षाका लागि गणतन्त्रकै पक्षमा उभिन्छन् । यद्यपि, राजाको पक्षमा भारतीय लाइन आउँदा आधा जति धर्मराउछन् । जनजाति, आदिवासी, दलित र पिछडिएको वर्ग गणतन्त्रकै कित्तामा हुन्छ ।

यस्तो अवस्थामा देश फेरि एकपटक २०६२÷०६३ अघिकै राजनीतिक ध्रुवीकरणमा पुग्छ । एकातिर ओली–देउवा ज्ञानेन्द्र पथमा उभिन्छन् । त्यो कित्तामा यसपटक रवि लामिछानेको रास्वपा पनि उभिन्छ । अर्को कित्तामा माओवादी र तराईको मूलधारसहितको गणतन्त्र पक्षधर हुन्छन् । नेपालमा रहेका तमाम ससाना कम्युनिष्ट पार्टीहरू पनि गणतन्त्रकै पक्षमा हुन्छन् । जनताको एउटा ठूलो पंक्ति पनि ज्ञानेन्द्र छान्नुभन्दा गणतन्त्र नै ठीक भन्ने स्थितिमा पुग्छ ।

ओली समस्या हुन्, समाधान हैनन्

ओलीले आफ्नो निजी सत्ता स्वार्थका सामु अरू सबै गौण बनाउँदै आएका छन् । उनी देशको अस्थिरतामा खेलेर राजनीतिक शक्ति र भूमिका हासिल गर्दै आएका एक धूर्त खेलाडी हुन् । उनले एमालेलाई ’ओमाले’ बनाएर कम्युनिष्ट पार्टीभन्दा पनि एक भजन मण्डली बनाइ दिए । आज एमाले जनताको बहुदलीय जनवाद मान्छ भन्नु आफैँमा खिसीटिउरीको विषय भएको छ ।

ओली मूलतः प्रियतावादी तानासाह हुन् । व्यक्तिगत स्वार्थ उनको चरित्र हो । वाकवटुता उनको खुबी हो । झुटको वैशाखी टेकेर आकाश–पाताल जोड्न त उनलाई महारथ नै हासिल छ । प्रचण्डलाई एक दिन अघि मात्र ‘नरक पनि सँगै जाने, स्वर्ग पनि सँगै जाने’ भनेर घाँस हालेको पछिल्लो परिघटना उनको सिग्नेचर झुट हो । त्यति मात्र हैन, ओलीले देशका विश्ससनिय मिडियाहरूमा तस्बिरसहित आइसकेको सत्ता उलटपुलटको समाचार पनि पहिलेको तस्बिर राखेर समाचार बनाएको भन्दै दिउँसै रात पारिदिएका थिए ।

तर, यति सबै गर्दा पनि यो झुटको पुलिन्दालाई काँधमा बोक्न एमाले–गोयबल्सहरूबीच प्रतिस्पर्धा नै छ । उनीहरू ओलीका लागि जस्तोसुकै झुट बोल्न र सजाय भोग्न पनि तयार छन् । यो स्थिति हेर्दा लाग्छ, आजको एमाले र हिजोको पञ्चायतमा कुनै तात्त्विक फरक छैन । पञ्चायतमा राजाको जुन तहको एक छत्र थियो, अहिले एमालेमा ओलीको त्यही छ । हिजो दरबारियाहरूको जस्तो जगजगी थियो, आज ओलीको किचेन क्याविनेटका सदस्यहरूको त्यस्तै छ । एमाले अझ त्यसमा पनि ओली गुटको भएन भने कुनै राजनीतिक वा पार्टीको नियुक्ति सम्भव छैन । पार्टी सदस्य नहुने वा ओली गुटको कुनै नेताको कोटामा नपर्नेले त कुनै किसिमको अवसर नै पाउँदैन । सर्वसाधारण जनताले अवसर पाउने कुरा त सम्झिने पानी छम्किने मात्रै हो ।

के यसैका लागि हो लोकतन्त्र–गणतन्त्र ?

आज चैत २६ गते । २०४६ सालको यही दिन नेपालमा लोकतन्त्र आएको थियो । त्यो दिन प्रहरी हिरासतबाट खुल्लामञ्चमा पुग्दा जुन उत्साह र सपना थियो, सम्झनाले मात्र पनि भावविभोर बनाउँछ । तर, त्यो उत्साह र सपनामा बिस्तारै नेता र पार्टीहरूले पानी खन्याउन थाले । त्यसको क्लाइमेक्स बन्यो ज्ञानेन्द्रको मकरतन्त्र । त्यो तन्त्रमा देउवाको भूमिका र ओलीको वयलगाढा पोजिसन सबैको सामु छर्लङ्गै छ ।

परिणामतः फेरि २०६२÷६३ को वसन्त क्रान्तिमा होमिनु पर्यो । लोकतन्त्र आयो, त्यसकै पृष्ठभूमीमा गणतन्त्र आयो । फेरि नयाँ उत्साहको पालुवा पलायो र सपनाहरू देख्न थालियो । दिनहरू बित्दै गए, फेरि पार्टी र नेताहरूको उही गति र मति भयो ।

हुँदाहुँदा २०७२ सालमा आइपुग्दा देश नै छोड्ने निष्कर्षमा पुगियो । लोकतन्त्र–गणतन्त्र, दलतन्त्र, पार्टीतन्त्र, गुटतन्त्र हुँदै नेतातन्त्रमा कैद भएपछि जन्मेको देश छोड्नुको कुनै विकल्प रहेन । लोकतन्त्र–गणतन्त्रका लागि जेल–नेल र यातना भोगेका थुप्रै सहयोद्धाहरू आज पनि परदेशमा भेटिन्छन् । सबैको एउटै भनाइ हुन्छ, बाँदरको हातमा नरिवलको जस्तो हालत हुन्छ, नेताहरूको हातमा पुगेको लोकतन्त्रको अवस्था पनि त्यस्तै भयो । यो दिन र दशाका लागि सबैभन्दा बढी कसैको योगदान छ भने त्यो ओलीकै छ । यद्यपि, ओलीलाई ‘कल्ट लिडर’ बनाउनेहरू त्यो मान्दैनन् ।

घुम्दै फेर्दै फेरि ‘मोदी–दर्शन’कै कुरा

जगजाहेर नै छ, ओली भारतको गुडबुकमा रहेका नेपालका थोरै कम्युनिष्ट नेता मध्ये एक हुन् । ‘रअ’सँगको उठबसलाई ओलीको भारतभक्तिको कास्टिङ थियो भने महाकाली सन्धी क्लाइमेक्स । संजोगले त्यतिबेला पनि देउवा नै प्रधानमन्त्री थिए । २०६२÷६३ मा ‘बयलगाडे’ अवतारमा देखिएका ओली’ र त्यही बेला ज्ञानेन्द्रले प्रधानमन्त्री बनाइदिएपछि ‘राजाले न्याय दिए’ भन्ने देउवा फेरि एकपटक समयको त्यही रथमा सवार छन् ।

यही बेला ओलीलाई मिलेको छ, ‘मोदी–गृहकार्य’ । यो गृहकार्यको पटाक्षेप भइनसकेकोले अझै पनि ओलीलाई शंकाको सुविधा प्राप्त छ तर समयक्रममा त्यो पटाक्षेप भएपछि उनको वास्तविक अनुहार देखिने नै छ । त्यो देखाउने एक थान ऐना पनि ओलीलाई मोदीले नै दिएर पठाएका छन् ।

प्रकाशित मिति: : 2025-04-09 06:57:00

प्रतिकृया दिनुहोस्