महानगरपालिकाले काेराेना महामारीका कारण बेरोजगार भएकालाई रोजगारी दिने

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिकाले काेराेना महामारीका कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएकाे छ। 

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बेराेजगार भएका महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हाे।

असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जारी गरेकाे सूचनामा जनाइएको छ। 

यसअघि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका खान खुवाउने प्रतिवद्धता जनाएका थिए।

महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति आपत्ति जनाउँदै उनले उक्त प्रतिवद्धता व्यक्त गरेका थिए। 

उनले रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न पनि बताएका थिए। 

प्रकाशित मिति: : 2020-11-13 11:06:00

प्रतिकृया दिनुहोस्