राजनैतिककर्मी, मानव अधिकारकर्मी, पत्रकार, प्रहरी, सामाजिक अगुवा सबैको सल्लाहलाई हृदयंगम गर्दै अन्ततः मेरो स्वविवेकी निर्णयले नेपाल छिर्न हिम्मत गरें।
धेरै वुद्धिजीवी वरिष्ठले अहिले नेपाल नआउनुस् भन्ने सल्लाह दिएपनि मलाई मतदिने मतदाताको यति चर्को दवाव थियो कि अब पनि नेपाल नआए म तिनको नजरमा भगौडा र अपराधी सावित हुने पक्का थियो। हो ! मैले हाम्रो देशको राजनैतिक अवस्थाअनुसार नेपाल आएर गल्ती गरेकै हो। मलाई लिन लाखौं जनता भारत आउन तयार थिए, तर म आफ्नो र राज्यको सुशासनलाई मध्यनजर गर्दै सुटुक्क नेपाल आएँ, त्यो मेरो राजनैतिक भूल थियो। मेरो रिहाइका लागि मलाई मत दिने हजारौं जनताको लस्कर लिएर अदालतमा उपस्थित हुनुपर्दथ्यो, तर सुटुक्क आए सम्मानका साथ रिहा हुने कानुनी सल्लाहकार र सरकारी कर्मचारीले दिएको आश्वासनमा विश्वस्त हुनु महाभूल थियो भन्ने अहिले जेलमा महसुस गर्छुं।
हिजो सामान्य नागरिकबाट आज सांसदमा रुपान्तरण भएको मर्यादालाई स्थापित गर्न खोज्दा मैले जेलको हावा खानु प¥यो। देशको संविधान र कानुनले जनमतको सम्मान गर्नेछ भन्ने मेरो भ्रम पुर्पक्षका लागि जेल चलानले चिरिदियो। हुलले जन्माएको हुल हुज्जत हुलद्वारा नै स्थापित गर्नुपर्दछ भन्ने मलाई हेक्का भएन। आउनुस्, देशको कानुन र संविधानले तपाईंको सम्मान गर्नेछ भन्ने राजनेताहरुले अभिव्यक्त गरेको पंक्ति त मेरा लागि बालक भुलाउने चकलेट रहेछ भन्ने सावित भयो।
नेपाल छिर्ने दिनमा भारतमै डेरा जमाएको अइयाको घरको चापाकलबाट पानी निकालेर नुहाएँ। मोहना नदीको किनारबाट जन्मभूमि नेपाल नियालें। आज बेलुकीको रात तिम्रो कोखमा हुनेछ भन्दै नेपाली धर्तीलाई सम्झिएँ। नजा, नजा भनेर केही दिनदेखि मलाई सम्झाउँदै पिछा गरिरहेकी अइयालाई केही हुन्न भन्ने ढाडस दिएँ। रुँदै अइयाले पस्किएको एक रोटीको टुक्रा मुखमा हाल्दै बिदा लिएँ। बाटोमा केही भैहाले राजपाका नेता तथा घर परिवारमा खबर गरिदिनु भन्ने हेतुले सहयोगी साथी कान्छु र गंगालाई अर्को मोटरसाइकलमा पिछा गर्न आएँ।
नेपालको बोर्डरमा मलाई लिन कानुन व्यवसायी गजेन्द्र केसी आउनुभएको थियो। अधिवक्ता गजेन्द्रले ल्याएको मोटरसाइकल आफैले हाँक्ने निर्णय गरें। यसो गर्दा मोटरसाइकलको हेण्डिल आफ्नो हातमा हुने भएकोले आत्मविश्वासको मात्रा स्वतः बढेर जाने नै भयो। धनगढी बजारमा छ्याप छ्याप्ती प्रहरी तैनाथ भएको खबर कार्यकर्ताले दिइनै राखेका थिए। अदालतको ढोकाबाहिर दर्जनौं प्रहरी डिउटीमा तैनाथ भएर मलाई रोक्न खोज्दै थिए। सुरक्षाकर्मीले रोक्दा रोक्दै पनि मोटरसाइकल अदालतभित्र छिराइ दिएँ मैले। पछि पछि दौड्दै आएर प्रहरी मलाई समात्न खोज्दै थिए। दैवसंयोग वा भाग्य भनौं छेवैमा आर्मी डे«समा सजिएको सैनिक जवानलाई मैले के छ भाइ खबर ? भनेर सोधें। ढाका टोपीसहित कोटमा सजिएको मलाई उनले ठूलै व्यक्ति ठाने कि क्या हो सलाम साप ! भन्दै अभिवादन टक्र्याए। यो देखेर मलाई समात्न दौडदै आएका प्रहरी हच्किए। मेरा वकील गजेन्द्रले मलाई सिधै श्रेष्तेदारको कोठामा प्रवेश गराए। हामी सोफामा बस्न मात्र के खोज्दैथियौं, दर्जनौं प्रहरीको एकसाथ कोठामा प्रवेश भयो। ती प्रहरीले मलाई समात्न मात्रै के खोजेका थिए, अदालतका एक कर्मचारीले – यो अदालत हो, यसलाई कुनै प्रहरी कार्यालय नसम्झिन चेतावनी दिए। लगत्तै मलाई श्रीमानको (न्यायाधीश) फैसला गर्ने सुनुवाइ कक्षमा लगियो। मेरो प्रवेशको केही क्षणमै माननीय रेशमजी होइन ? भन्दै न्यायाधीश परशुराम भट्टराईजी आउनुभयो। हालखबर सोधपुछ भयो, उहाँसँगको भलाकुसारीले अब पक्कै रिहा भइन्छ कि भन्ने विश्वास म मा बढेर आयो।
म अदालत छिरेको केही समयभित्रै पत्रकारहरुको बाक्लो भीड अदालत परिसरभित्र भैसकेको थियो। म र न्यायाधीश चुपचाप बसिरहेका थियौं, बाहिर एक चर्चित दैनिक पत्रिकाका पत्रकारले प्रत्यक्ष प्रसारण गरिरहेका थिए। म आफै लामो समय पत्रकारिता गरेकोले प्रत्यक्ष प्रसारणमा उत्तर फर्काइरहेका पत्रकारले दिएको जवाफबाट उनलाई के कस्तो प्रश्न सोधिएको थियो, आँकलन गरिहालें। उनी हौसिदै रौसिदै जवाफ दिइरहेका थिए – रेशम कसरी अदालत परिसरभित्र आइपुग्यो यो नै रहस्यको विषय हो, उसलाई इन्कान्टर नगरिएकोमा हामी सबै पत्रकार नै चकित परेका छौं। कुनै ठूलो शक्तिको सहयोगमा उ अदालत छिरेको हुनुपर्छ। उ सकुशल बचेकोमा अदालतको पनि हात हुनुपर्छ। उनको जवाफ सुनेर म मुस्कुराएँ। श्रीमान भने खित्कै छोडेर हाँस्दै आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभयो।
मेरो अदालत प्रवेशको विषयमा प्रत्यक्ष प्रसारण गर्ने पत्रकारलाई म राम्रैसँग चिन्दछुँ। म भूमिगत हुँदासमेत मेरा बारेमा उनी निकै नकारात्मक समाचार लेख्ने गर्दथे। त्यसको निरन्तरता उनले आजसम्म पनि दिएका छन्। उनको र मेरो गहिरो मित्रता नभएपनि एउटै जिल्लामा पत्रकारिता गर्ने मेरो निम्ति उनी किन आक्रोशित छन् भन्ने मैले बुझ्न भ्याएको छैन। मसँग सहयोगी भै निकैवर्ष पत्रकारिता गरेका गोविन्द रोस्यारा भाइ जेलमा भेट्न आउँदा सोधेको थिएँ – पहिले नकारात्मक भएपनि अहिले सबैले कुरो बुझिसके दाइ, पीर मान्नु पर्दैन भनेर उनले मलाई सम्झाएका थिए।
मेरो अनसनको शुरुवात
२०७४ फागुन १४ गते जिल्ला अदालतमा उपस्थित भएकै दिनदेखि म जेल गएँ। फागुन २० गते चुनाव जितेका सबै विजेता सांसदहरुलाई सपथ खानका लागि सरकारले राजधानी काठमाण्डौमा आमन्त्रित ग¥यो। जिल्ला अदालतले जेल पठाउँदासमेत न्यायाधीशलाई मैले मेरो विजयी प्रमाणपत्रको बारेमा सोधेको थिएँ। संजोग पनि कस्तो रह्यो भने मेरो उम्मेद्वारीदेखि विजय भएको घोषणा, पुर्पक्षका लागि कारागार चलान गर्ने र मलाई जन्मकैदसम्मको फैसला गर्ने न्यायाधीश पनि उनै परशुराम भट्टराई भए। यसैबाट सबैजसो राजनैतिक अन्वेषकलगायत मैले पनि अनुमान पाएको थिएँ – यो मुद्दा अदालती होइन राजनैतिक हो र राजनैतिक पद्धतिले नै यसको समाधान गरिनुपर्दछ।
जेलमा परेको भन्दा प्रमाणपत्र र सपथ ग्रहणको चिन्ताले मलाई पिरोल्न थाल्यो। आखिर म नेपाल आइसकेको थिएँ र राज्यले मलाई जेल चलान गर्दै नियन्त्रणमा राखिसकेको थियो। अब त सरासर जेलमै भएपनि मेरो प्रमाणपत्र मलाई हस्तान्तरण गर्नुपर्दथ्यो, तर सरकारले त्यसो गरेन। प्रमाणपत्रका लागि मैले सिडियो गोविन्द रिजाललाई पनि सोधें। अत्यन्तै सहयोगी समाज बुझेका कैलाली सिडियो रिजालज्यूले पनि निकै प्रयत्न गर्नुभयो। परिणाम उहाँले र मैले सोचेजस्तो भएन।
देशमा जनमतले स्थापित लोकतन्त्रको नामाड्ढरण शब्दैपिच्छे उच्चारण गर्ने नेताले निरंकुशताको थैलोभित्र जनमत कोच्दै थिए। श्री ५ महाराजधिराज सुन्न नसकेर जनता फकाइ फकाइ सडकमा ओराल्नेहरुले आफू महाराज भएको सपना देख्न थालिसकेका थिए। एउटा राजालाई किनारा लगाएर म नै अब सर्वेसर्वा हुँ भन्ने भूत सवार तिनमा भैसकेको थियो। पटक पटकको अस्थिर सरकारबाट जनता वाक्क भैसकेका थिए। नाकाबन्दीको निहुँमा गाडिएको नक्कली राष्ट्रवादलाई चिन्नै नसकी जनताले पनि झण्डै दुई तिहाइको थप्पा लगाइदिए। दुई तिहाइको दम्भको गर्जन शुरु भैसकेको थियो। यसको प्रभाव जनताले बुझ्नेबेला नभैसकेको भएपनि कर्मचारी वृत्तका सरकारी मातहतमा बस्ने सबैले बुझिसकेका थिए, त्यसैको परिणामित उदाहरण हो – मेरो प्रमाणपत्र। वास्तवमै मेरो विजयी प्रमाणपत्र बन्धक बनेकै हो।
आदेश त स्वार्थको सन्दुकमा थन्किसकेको थियो, यो कुराको भेउ पाएपनि तत्काल केही गर्न सक्ने अवस्था हामीसँग थिएन। जिल्ला प्रशासन कार्यालयका प्रमुखको बसमा नभएपछि प्रमाणपत्रका लागि मैले सर्वोच्च अदालतको ढोका गुहारें। न्यायको आशा गरिएको सर्वोच्च अदालतले समेत मेरो निवेदन दरपिठ गरिदियो। मेरो प्रमाणपत्र पाउँ भन्ने निवेदनलाई सर्वोच्चले दरपिठ गरेपछि सारा वुद्धिजीवी, मानवअधिकारकर्मीसमेत चकित परेका थिए। एक सर्वोच्च अदालतका न्यायाधीश भैसकेका र अहिले मानवअधिकार आयोगमा कार्यरत बरिष्ठ व्यक्तिले मलाई जिल्ला कारागार कैलालीमा भेट गर्दै भनेका थिए – माननीयजी, लोकतन्त्र स्थापित गर्ने बहानामा हुकुमी शासनको शुरुवात भयो कि भन्ने कुरामा तपाईंले विजयी प्रमाणपत्र नपाएपछि हामी सशंकित भैसक्यौं। त्यसपछि उहाँले काठमाण्डौमा आएर रेशम चौधरीलाई माननीयको दर्जासहित प्रमाणपत्र दिनुपर्ने वक्तव्य नै निकाल्नु भएको थियो। जिल्ला प्रशासन प्रमुख, अदालत, निर्वाचन आयोग सबैतिर आग्रह गरेर पनि मैले प्रमाणपत्र पाउन सकेन। प्रमाणपत्र पाउनका लागि अब एउटै मार्ग र उपाय थियो – संसद सचिवालय।
२०७४ फागुन २० गते विजयी सांसदलाई सपथ लिनका निमित्त राजधानी काठमाण्डौ बोलाइयो। अघिपछि पहिचानको ‘प’ पनि सुन्न नचाहने पार्टीका सांसदहरु आ–आफ्नो पहिचानी पोशाक लगाएर संसद भवन छिरे। टेलिभिजनको रंगीचंगी दृश्यले यस्तो भान हुन्थ्यो कि सांसदको सपथभन्दा देशको चिनारी महोत्सव हुँदैछ। मुलुकमा पहिचान स्थापित भए देशै टुक्रिन्छ भन्ने नेताहरुकै सम्मुख आ–आफ्नो भाषामा सपथ लिएको देख्दा मन गर्वित र सपथ लिन नपाएकोमा त्यतिकै विचलित हुन्थ्यो। रंगीचंगी पहिचानी पोशाकमा सजिएर सपथ लिएका सांसद देखेर म मनमनै अनुमान लगाउँथे – पहिचान बेचेर राष्ट्रियताको बर्कोले हामीलाई दास बनाइसकेको यिनले कहिले बुझ्ने हुन् कुन्नी ?
विजयी सहपाठी सांसदहरुले सपथ लिएपछि मेरो बेचैनिले सीमा नाघ्यो। के गर्ने, कसो गर्ने भनेर सबैतिर फोन गरेर माहोल बुझें। विजयी सांसदलाई प्रमाणपत्र र सपथ नखुवाउनु राज्यको गम्भीर गल्ती हो भन्ने सबै नागरिक वुद्धिजीवी, राजनैतिक विश्लेषकसमेतको निश्कर्ष थियो। राज्यको कानुन व्यक्तिको हातमा बन्धक बनिसकेको प्रष्ट भैसकेको थियो। आवश्यक सुझावका लागि पार्टीका मुख्य व्यक्ति महन्त ठाकुर, राजेन्द्र महतोसमेतलाई फोन गरेर सुझाव मागें। अबको विकल्प अनसन हो भन्ने आफ्नो धारणा राखे“। राजेन्द्र महतोले त्यस्तो गम्भीर गल्ती कदापी गर्नुहुन्न भन्ने सुझाव दिनुभयो, तर मेरो ढिपी बढो अनौठोको हुन्छ। जे ठीक लाग्छ त्यसबाट वञ्चित गर्न मलाई विरलैले सक्छ। विकल्प अनसन हो भन्ने मेरो अठोटलाई राजेन्द्रको सुझावले समेत जित्न सकेन।
यसरी मलाई नेल लगाइयो
अस्पतालमा भर्ना भएकै दिनदेखि आमरण अनसनकै बखत पनि मलाई नेल लगाएर बाँधिएको थियो। धेरैदिन भोको बसेपछि भोक, प्यास केही लाग्दैन रहेछ। दिशा पिसाब पनि लाग्दैन रहेछ। अस्पतालको शैयामा सुतिरह्यो। भेटघाटमा आएकाहरुको अनुहार टुलुटुलु हेर्यो। छटपटिएर विस्तरामै कोल्टे फेर्यो। दिनहरु यसैगरी नै बितिरहेका थिए। आफ्नै पार्टीका नेताले नै बेवास्ता गरेपछि सरकारलाई चासो हुने पनि कुरै भएन। मर्न रत्तिभर डर लाग्थेन, किनकि पहिचानको आन्दोलनमा होमिएको नेता मृत्युदेखि भाग्नुपनि भएन। दिनभर भेट गर्न आउने भेटालुहरुको ढाडस र आशा यति गहन र गम्भीर प्रकृतिको हुन्थ्यो, जसले मलाई म अब साँच्चिकै नेता रहेछुँ भन्ने कुराको आत्मावोध गराउँदथ्यो। यही आत्माबोधको विश्वासले विजय असम्भव छैन भन्दै म ढुक्क हुन्थें।
आमरण अनसनको चौधौं दिनमा बिहान ८ बजेतिर मिठु भाइले खबर ल्यायो- आज राजपा नेपालका अध्यक्ष मण्डल भेट्न आउने रे। धेरै दिनपछि अलि तागत र स्फूर्ति शरीरमा प्रवेश गरेजस्तो लाग्यो। दाँत माझ्न र मुख धुनका लागि सुरक्षाकर्मी साथीलाई खुट्टामा लगाइएको नेल खोलिदिन आग्रह गरें। दाङतिरका प्रहरी सहायक निरीक्षक (असइ) भाइले आज त्यस्तो केही छ र दाइ ? भनेर सोधें। यति धेरै दिनपछि आफ्नो पार्टीका नेताहरु भेट्न आउने उत्साहलाई लुकाउन मन लागेन र भनिदिएँ- भाइ, राजपा अध्यक्ष मण्डलका नेताहरु आज भेट्न आउँदै हुनुहुन्छ, अलि सफा भएर बस्नुपर्यो भनेर नि।
उनको आदेश पाएपछि छेवैमा बन्दुक समातेर डिउटी गरिहेका प्रहरी जवानले मेरो खुट्टाको नेल खोलिदिए। आमरण अनसनमा खाने पिउने कार्य नभएपछि सुत्ने र उठ्ने क्रिया नियमित हुने कुरै भएन। सिरानीमा टाउको राखेर सुत्या सुत्यै भएर होला, कपाल लट्टा परेको जोगीको जस्तो जिङ्ग्रिङ्ग भइसकेको थियो। मुख सुकेर प्याक प्याक्ती गन्हाउँथ्यो। मसँग कुरुवा बसेका मेरो सहयोगी तथा बालसखा कान्छुलाई प्याकेटवाला स्याम्पु किन्न पठाएँ, ब्रस गरेर मुख धोएँ, कपाल नुहाएँ र अलि चिटिक्क हुनेगरी बसें। मैले यी सम्पूर्ण कृयाकलाप गर्दा मेरो डिउटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नो माथिल्लो निकायमा रिपोर्टिङ गर्न भ्याइसकेका थिए।
कुनै कारणवस दुई तीन दिनमा ट्वाइलेट वा स्वास्थ्य चेकअपका लागि अर्को वार्डमा जानुपर्दा प्रहरीहरुले नेल खोलिदिन्थे र मलाई ह्वील चेयरमा गुडाउँदै लैजान्थे अनि फर्किएपछि फेरि नेल लगाइदिन्थे। आजपनि सोही क्रिया दोहोर्याउने होलान् भन्ने नै लागेको थियो। धेरै दिनदेखिको भोको ज्यान जति स्फूर्तिलो हुन खोजेपनि के नै हुन्थ्यो र ? अध्यक्ष मण्डल भेट्ने जाँगरले कपाल, मुख धोएपनि विस्तरामा बसिरहन सकेन, त्यसैले शैयामा पल्टिएर कम्बल ओढें।
शक्ति नभएको जीउले निद्राको सुरुवाती गर्न मात्रै के थालेको थियो, डिउटीमा खटिएका प्रहरी भाइले मेरो ओढिएको कम्बल पल्टाउँदै सुत्ने पलङमा बाँधिएको नेलले मेरो खुट्टामा कस्न खोजे। मेरो त नेलले बाँधिने बानी परिसकेको थियो, चुपचापै थिएँ तर अचानक अलि चर्को स्वरमा सुनें – ए ! नबाँध्।
नेलले मेरो कुर्कुच्चा कस्नै लागेका प्रहरीले असईको मुख हेरे। पुनः असईले अलि झर्किएको स्वरमा भने- नबाँध भनेको सुनिनस्। माथिबाट आज नबाँध्नु भनेको छ। बिरामीको अलि विचार पुर्याउनु, तर नेल लगाउनु पर्दैन। असइले अलि विचार पुर्याउनु भन्ने शब्द कैदी भाग्न सक्छ तर्फको संकेत थियो।
[रेशम चौधरीद्वारा लिखित ‘परिवन्द’बाट ]