राजनीति हिजोआज सत्ता र पत्ताको खेलमा चल्न थालेको छ। वर्तमान समयको राजनीति भनेको सत्ताको निम्ति पत्ता चाहिन्छ अनि पत्ताको निम्ति सत्ता चाहिन्छ। राजनीतिकै सिलसिलामा चर्चा गर्नु हो भने अहिलेको समयमा राजनीति बुद्धिबलले भन्दा बहुबल र छापा लागेको पत्ताको भरमा चल्ने गरेको छ।
पत्ता र बाहुबली छैन भने राजनीति गर्नेको पाइतला मुनिको जमीन धस्किँन्छ। जनताका समस्याहरू निवारण गर्नुभन्दा अझ बढी समस्यालाई जटिल बनाउँदै लगे राजनीतिमा खेल्ने र खेलाउने धेरै मौका प्राप्त हुन्छ, यस्तो छ वर्तमान समयको राजनीति।
एउटा समय थियो राजनीति सिद्धान्त र दर्शनको आधारमा चल्थ्यो। राजनैतिक सिद्धान्त र दर्शनलाई नै शिरोपर गरेर जनताको निम्ति समर्पित हुन्थ्यो। तर, गएको केही दशकदेखि भने यसको ठीक उल्टा भइरहेको छ, राजनैतिक सिद्धान्त र दर्शन भन्ने त छॅंदै छैन उल्टो नेताप्रति जनता समर्पित हुनुपर्ने समय आएको छ। आज समग्र विश्वकै राजनीति यस्तो स्थितिमा पुगेको छ। वर्तमान राजनीतिमा नेता वरिपरिबाट एक मुट्ठी अवसरवादी व्यक्तिहरूको घेरबन्दीमा परेका हुन्छन् अनि जन महोलमा चलिरहेको कतिपय चर्चाहरूबाट वन्चित रहन्छन्।
यस्तो हुँदा नेता स्वंय पनि राजनैतिक चलखेलबाट दिग्भ्रमित हुँदैछन्। नेतालाई आफ्नो प्रशंसा मात्र सुन्ने बानी बसेपछि कुनै पनि किसिमको आलोचना खप्नु सक्दैनन्। यसैले प्रशंसाको घेरोभित्र बस्ने नेताहरूको सिंहासन भित्रैभित्रै धमिराले खाएर मक्किॅंदै गएको थाहा पाउँदैनन्।
आज जहिँ पनि हेर्नु हो भने राजनीतिमा व्यक्तिवाद र नायकवादले जरा गाडेको छ। जसले गर्दा पूँजीवादी समाजको साम्राज्य झनै बढ्दै गइरहेको छ। जनता आज हरेक क्षेत्रबाट उपभोक्ता मात्र भइसकेका छन्। फलस्वरूप पूँजीवादी समाजमा एउटा नयाँ उपभोक्तावादी समाज सृजना भएको छ। आजसम्म पनि वर्ग सङ्घर्ष समाप्त हुन सकेको छैन तर, वर्ग विवेध भने झनै बढ्दै गइरहेको छ। राजनीतिक दल भनेको कुनै पनि देशमा लोकतान्त्रिक प्रणालीको मेरूदण्ड हो।
जब राजनीतिक दल प्रभावकारी बनेर व्यक्तिवाद र नायकवादमा परिणत हुन्छ त्यहाँ लोकतन्त्रको मेरूदण्ड भाँचिन्छ।
***
आज राजनीतिमा स्वपोशकहरूको जन्म भइरहेको छ। वर्तमान समयमा प्रकृतिको बदलिँदो क्रमसँगै पर्यावरण र जलवायुमा प्रदुषण फैलिए जस्तै राजनीतिको परिवेशमा पनि प्रदुषण फैलिएको छ। यसैले राजनीतिलाई ‘घृणित खेल’ अर्थात ‘डर्टी गेम’ भन्छन् धेरैले। राजनीति घृणित खेल होइन, राजनीति भनेको समाज, राज्य, राष्ट्रलाई प्रगतिको मार्गमा डोहोर्याउने रथ हो।
समाज र राजनीतिको सम्बन्ध हाड र मासुको जस्तै हो। तर, राजनीतिमा प्रवेश गर्ने आत्मा, विचार, व्यवहारले राजनीतिलाई घृणित खेलमा परिणत गराउँछ। मान्छे व्यक्तिगत रूपमा कहिले पनि घृणित हुँदैन तर, जब उभित्र कुविचार, कुभावनाले प्रवेश गर्दछ त्यति बेला व्यक्ति घृणित बन्दछ। यहाँ विश्व विख्यात कालजयी चित्रकार लियोनार्डो दा भिन्सीको बहुचर्चित चित्र ‘द् लास्ट सपर’ को घटना बारेमा विख्यात चित्रकार एवं साहित्यकार स्व. लैनसिंह बाङ्गदेलले आफ्नो पुस्तक ‘विश्वका छ् महान् कलाकार’ मा उजागर गरेका सानो कथा यहाँ उद्घृत गर्न सान्दर्भिक ठहरिन्छः
‘लियोनार्डो दा भिन्सीले ‘लास्ट सपर’ बनाउन शुरू गरेर येशु ख्रीष्टको अनुहार बनाउने पालो आएपछि आफूले चाहे जस्तो अनुहार भएको व्यक्ति पाउन सकेका थिएनन्। एकदिन संयोगले गिर्जा घरमा जाँदा भजन गाउने केटोहरूमध्येमा एकजनाको अनुहारले उनलाई आकार्षित पारेपछि आफूले खोजी गरिरहेको अनुहार झट्ट सम्झिए। ती केटोको नाम थियो पिइत्रो बेन्देलिनी। यीनै केटोलाई हेरेर निर्दोश र स्वच्छ भावनाले भरिएका येशु ख्रीष्टको अनुहार बनाए। अब जुडासको अनुहार बनाउन बाँकी रहेको थियो। जुडाससित मिल्ने अनुहार नपाउँदा भिन्सीले ‘लास्ट सपर’ बनाउने काम त्यतिकै वर्षौं थाँतीमा राखे। भिन्सी मिलान शहर छोडेर बाहिर गए अनि पछि फर्केर आए तर, ‘लास्ट सपर’ थाँतीमै रहेको थियो।
एकदिन भिन्सी एउटा गरीब टोलतिर गइरहेको बेलामा त्यहाँको गल्लीमा एउटा चोर-बदमाश जस्तो अनुहार भएको मानिसले पैसा मागिरहेको थियो। हेर्दै बदमाश किसिमको देखिने ती मानिसलाई देख्दा उनलाई जुडासको सम्झना आयो। आफूले खोजेको जस्तो मानिस देखेपछि ती मानिसलाई भिन्सीले आफ्नो चित्रशालामा लिएर आए। चित्रशालामा आएपछि ती मानिसले भने, ‘हजुर, तपाईंले मेरो अनुहार हेरेर येषु ख्रीष्टको अनुहार बनाउनु भइसकेको छ।’
त्यति बेला भिन्सीले थाहा भए ती मानिस पिइत्रो बेन्देलिनी रहेछन्। बेन्देलिनी रोममा सङ्गीत सिक्न जाँदा नराम्रो सङ्गतमा परेर रक्सी पिउने, जुवा तास खेल्ने, चोरी गर्ने, वेश्यागमन बनेको हुँदा उसको अनुहारमा विकृति आएको रहेछ। अन्तमा उही मानिसलाई हेरेर भिन्सीले जुडासको अनुहार बनाए।
यस्तै असल व्यक्तिमा पनि विकार आउँदा घृणित बन्दछ। स्वादिष्ट खानामा विष परे त्यो खाना विषालु बन्दछ। आज राजनीतिमा पनि कयौँ विकार आउँदा दुषित बनेको छ।
+ + +
मानिस विचारशील प्राणी भएका हुनाले सृष्टि निर्माताको सबैभन्दा सुन्दर र आकर्षक आविष्कार भनेको मानव हो। हिन्दु धर्मअनुसार वर्तमान युगलाई कलियुग भनिएको छ। कलियुगलाई कालो युग पनि भनिन्छ। भनिन्छ घोर कलियुगमा कालो दुनियाँको साम्राज्यले अशान्ति स्थापित हुनेछ। कलियुगमा नैतिकता, सच्चाई, ईमानदारी, मानवता, भलाई, पुण्य, धर्म, कर्म, चरित्र सबै केवल पुस्तक र बोलीमा मात्र सीमित रहनेछ अनि यी सबैको व्यावहारिकतामा कुनै महत्व रहने छैन।
आज राक्षस अर्थात शैतान खोज्न बाहिर कतै जान पर्दैन। कयौँ किसिमको शैतानले मन, हृदय, चेतना र विचारलाई अड्डा बनाएको छ। आज मन, मस्तिष्कलाई आफ्नो अड्डा बनाउने शैतानहरू भनेको काम, क्रोध, मद्, मोह, लोभ लालच, घृणा, द्वेश, ईष्या, अङ्कार, कुबूद्धि, दुर्बुधि हुन् जसले मानव समाजलाई निरन्तर पतनको दिशातर्फ लागिरहेको छ। वर्तमान युगमा चारैतिर अधर्मको आधिपत्य बढिरहेको छ, असत्य, भ्रष्टाचार, अन्याय र शोषणको साम्राज्य बनेको छ। असत्यको गर्जन र हुँकारले सत्य दबिँदै गइरहेको छ। धर्मको आडमा ढोङ्गीहरूको आगमन तुफानी रूपमा भइरहेको छ।
राजनैतिक, सामाजिकजस्ता हरेक क्षेत्रमा नै भ्रष्टाचार, शाषण अन्याय, अत्याचारको जग बलियो बनेको छ। कति राष्ट्रहरूमा राष्ट्रनायक समेत भ्रष्टाचारका कारणले कैद पर्ने गरेका छन्।
+ + +
अहिलेको समयमा विकासले जति बढी छलाङ् मार्दै अघि बढिरहेको छ त्यति नै बढी पुराना समस्याहरूमाथि नयाँ नयाँ समस्याहरू थपिँदै जान थालेका छन्। यस्तो विभिन्न समस्याहरूले घेरिएको परिवेशमा राजनीतिको खेती मैलाउनमा सहयोग प्राप्त हुँदछ आज विश्वका कैयौँ देशहरूमा कयौँ किसिमका समस्याहरू छन्। तर, समस्याहरू निवारण हुनभन्दा बढी राजनीतिलाई उँभो लगाउने दह्रिलो औजार बनेको छ।
जनताको समस्या निवारण गर्नुको बदलीमा विभिन्न कानून बनाउॅंदै समस्यालाई जटिल बनाउनु एक खाले राजनीतिको प्रदुर्भाव भइरहेको छ। पुँजीवादी समाजलाई हरेक विषयमा सुविधायुक्त बनाउने राजनैतिक चलखेल चलिरहेको छ भने आममानिसहरू उपभोक्ता मात्र हुँदै गइरहेका छन्।
पूँजीवादी व्यवस्थामा जनताको समस्यालाई राजनीतिको पोखरीमा जति बढी घोलेर धमिल्यायो उति बढी जनता पनि आश्रित बन्दछन्। जनता आश्रित बनेपछि माथिबाट जुनसुकै किसिमले धलीमली गर्न सकिन्छ अनि एकदिन यस्तो स्थिति आउँछ जनताले बाँच्न पाउनुलाई मात्र विकास भन्ने छन्।