अमेरिकामा अड्केका नेपाली फर्कन चाहेनन् नेपाल, चारमध्ये दुई उडान रद्द

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

कोभिड-१९ का कारण अमेरिकामा अड्केर रहेका भनिएका अधिकांश नेपाली उडानको विशेष व्यवस्था हुँदा पनि अन्तिम अवस्थामा नेपाल जान तयार भएनन् । करिव एकहजार दुई सय नेपालीले नेपाल जनाका लागि आवेदन दिएपछि उनीहरूका लागि कतार एयरवेज र टर्किस एयलाइन्सका दुई दुई गरी चार उडान व्यवस्था गरिएकोमा दुई उडान पनि नभरिएको बताइएको छ।विशेष उडानको व्यवस्थामा जुटेको वासिङ्टन डीसीस्थित नेपाली दूताबासका अनुसार अब जुन २३ मा वासिङ्टन डीसीबाट उड्ने भनिएको कतार एयरवेज जुन २५ मा शिकागोबाट उड्ने भनिएको टर्किस एयरलाइन्सको उडान रद्द गरिएका छन्। ती विमानस्थलबाट नेपाल जान ज्यादै थोरै संख्यामा नेपालीले टिकट बुक गरेपछि उडान रद्द गरिएको हो।

अब नेपाल जानका लागि टर्किश एयरलाइन्सले जुन २३ मा न्युयोर्कबाट र कतार एयरवेजले  जुन २५ मा टेक्सासबाट मात्र विशेष उडान गर्ने जनाइएको छ। शिकागो र वासिङ्टन डीसीबाट नेपाल फर्कन टिकट काटेकाले पनि सम्बन्धित विमानसेवासँग सम्पर्क राखेर न्युयोर्क र डलासबाट नेपाल जानुपर्ने बताइएको छ। 

आखिर अमेरिकामा अड्केका भनिएका नेपाली वासिङ्टन डिसीस्थित नेपाली दूताबासले विशेष उडानको व्यवस्था गर्दा पनि किन नेपाल फर्कन चाहेनन् त ?  दूताबासले केही गरेन भनेर सत्तोसराप गरिरहेकाको एकाएक किन मुख बन्द भयोे ? 

यस प्रश्नको सपाट उत्तर नेपाल फर्कन नाम लेखाएर पनि फर्कन तयार नभएका कोही पनि दिन तयार भएनन्। नाम उल्लेख नगर्ने शर्तमा एक नेपालीले गाँठी कुरा बताए। उनका अनुसार, धेरैले सरकारले नि:शुल्क लगिदेला भनेर आवेदन दिएका थिए तर त्यसो नभएर आफैँ भाडा हालेर जानुपर्ने भयो। त्यसमा पनि एकहजार ६ सय भाडा तिर्नुपर्ने भयो जुन भाडा आफैंमा झण्डै दोब्बर महंगो हो। यही कारण धेरै नेपाली फर्कन चाहेनन्। '

अमेरिकामा कोभिड-१९ महामारीका कारण अड्केका  नेपाली नेपाल फर्कने फाराम भरेर पनि  अन्तिम अवस्थामा फर्कन चाहेनन् । फर्कन आवेदन दिएका १२०० का लागि व्यवस्था गरिएका  चारमध्ये दुई उडान रद्द गरिएका छन्  भने जुन २३ मा न्युयोर्कबाट र जुन २५ मा टेक्सासबाट  दुई उडानमा मात्र  नेपाली नेपाल फर्कनेछन्। 

शिकागोबाट नेपाल फर्कन नाम लेखाएर पनि अन्तिम अवस्थामा नेपाल नफर्केका अर्का एक नेपाली भन्छन्, ' समयमै फर्कन पाइएन, थप समयका लागि भिसाको म्याद पनि बढाइ सकियो। यताबाट फर्कनका लागि पनि कोभिड -१९ नेगेभटिभ भएको प्रमाणित गर्नुपर्ने हुन्छ। भिजिटिङ भिसामा आएकाले  अमेरिकामा त्यो आफ्नै पैसामा गराउन सम्भव छैन।' उनले अगाडि थपे, 'यी सारा झन्झट ब्यहोर्नुभन्दा बरू केही समय पर्खनै ठीकै लाग्यो।'

वासिङ्टन डीसीबाट नेपाल फर्कन नाम लेखाएर पनि टिकट नकाटेका अर्का एक नेपाली भन्छन्, ' उता नेपालमा पनि कोरोना बढेर हैरान छ। उहाँ पुगेर पनि सहज र सामान्य जीवन बिताउन पाउँने अवस्था छैन। यी विशेष उडानमा नेपाल जाँदा ज्यादै महंगो पर्ने अवस्था छ। टिकट महंगो छ, विमानमा चढ्नपहिलै कोरोना नेगेटिभ रिपोर्ट बुझाउनु पर्छ।नेपाल फर्केर पनि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।' 

अन्तत: यी विविध कारण देखाएर अमेरिकामा अड्केका भनिएका नेपाली नेपाल फर्कन तयार भएनन्। यसका अनेकौ दुष्परिणाम निस्केका छन्। त्यसमध्ये पनि अमेरिकाका लागि नेपाली दूताबासको विश्वसनियतामाथि नै प्रश्नचिनह उठेको छ। दूताबासले संयोजन गरेर चार उडान बुकिङ गरेकोमा दुई उडान रद्द गर्नुपर्दा यस्तो स्थिति सिर्जना भएको दूताबासका एक अधिकारीले बताए। उनले अगाडि थपे, ' नगर्दा पनि दूताबासले केही गरेन भन्ने, गर्दा पनि अनेकौ बहाना बनाएर नेपाल जान तयार नहुने।'  महंगो टिकटको कुरा गर्दा उनले भने, ' यो विशेष अवस्था हो, चार्टर गरेपछि महंगो त हुन्छ नै। खाडी मुलुकबाट फर्कने श्रमिकले भाडा तिरिरहेका छन् तर अमेरिका घुम्न आउँने पर्यटक भने सित्तैमा जाने अपेक्षा गर्छन् । यो आफैंमा विडम्बनापूर्ण छ। ' 

प्रकाशित मिति: : 2020-06-22 08:26:30

प्रतिकृया दिनुहोस्