ट्रम्पको चुनावी सभा उत्साहप्रद देखिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गरेका छन्। कोभिड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएको थियो।

तर  झण्डै साढे तीन महिनापछि पहिलो पटक ट्रम्पले ओक्लोहोमाको टल्सामा आइतबार बिहान गरेको चुनावी सभा त्यति उत्साहप्रद देखिएन।

१९ हजार क्षमताको टल्सा स्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा भएको  सभाका लागि १० लाख भन्दा बढीले टिकटका लागि आवेदन दिएको दाबी गरिए पनि सहभागिता भने अपेक्षाकृत भन्दा न्यून थियो। 

सभा भएको ब्यांक अफ ओक्लोहोमा सेन्टरका अधिकांश सिटहरु खाली नै थिए। सहभागी अधिक हुन सक्ने आंकलन गरेर ट्रम्पले सेन्टर बाहिर खुला स्थानमा सम्बोधन गर्ने व्यवस्था गरिएको थियो। तर सहभागिता कम भएपछि सो योजना कार्यान्वयनमा आउन सकेन।

साढे तीन महिनापछि पहिलोपटक चुनावी र्‍यालीमा ट्रम्प

कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा रहेको छ। ट्रम्पले आफ्नो चुनावी र्‍याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहामाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका थिए।

यसअघि कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्‍याली रोक्न माग गरी मुद्दा दायर भएको थियो। त्यसमा सुनुवाई गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्‍याली गर्न अनुमति दिएको थियो।

यसैका बिच सुरु भएको र्‍यालीमा कोरोना भाइरसको महामारी कायमै रहेको भन्दै बेला सभा सुरु हुनु भन्दा केही पूर्व मात्रै आयोजक टिमका ६ जनामा संक्रमण देखिएको थियो। 

उनले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएनन्।  उनको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन्। 

रिपब्लिकनको वर्चश्व रहेको ओक्लोहोमामा भएको चुनावी सभामा ट्म्पले झण्डै दुई घण्टा लामो सम्बोधन गरे। सो क्रममा उनले विभिन्न विषयमा कुरा गरे। उनले सम्बोधनको क्रममा कोभिड–१९ को परीक्षण कम गर्न आग्रह गरे। ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन्।

उनको सो भनाईलाई पछि उनको टिमले व्यंग्यको रुपमा परिभाषित गरेको छ।

यता उनले आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गरे। 

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ। सो चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुने होडमा छन्। उनलाई डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चुनौति दिने छन्।

प्रकाशित मिति: : 2020-06-22 06:59:52

प्रतिकृया दिनुहोस्