ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।
सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्। आज पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन।
यो सँगै ७७ मध्ये ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको हो। अब रसुवामा मात्र कोरोना देखिन बाँकी छ।
यसअघि आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा आइतबार ४२१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।
संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।
त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।