चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने

चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने भएको छ।

 राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि सो सम्बन्धी कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्नका लागि बेइजिङले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने भएको हो।

साथै हङकङका लागि ल्याइएको नयाँ सुरक्षा कानून कार्यान्वयका लागि त्यहाँ कार्यालय स्थापनाको तयारी भएको चीनको सरकारी सञ्चारमाध्यमले  सिन्ह्वाले जनाएको छ।

नयाँ सुरक्षा कानूनसँग बाझिने हङकङको स्थानीय कानून खारेज हुने जनाएको छ।

चीनले लागु गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा प्रदर्शन हुनुका साथै अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन्।

तर चिनियाँ विदेश मन्त्रालयले हङकङमा भएको प्रदर्शनको समर्थन गरेका अमेरिका, बेलायत र ईयूका विरुद्ध नबोल्न चेतावनी दिएको छ। 

आलोचकले नयाँ कानूनले हङकङको स्वतन्त्रता खोस्ने बताएका छन्। तर चीनले भने विखण्डनकारी गतिविधि रोक्नका लागि कानून आवश्यक रहेको बताएको छ।

बेलायतको पूर्व उपनिवेश हङकङ सन् १९९७ मा चीनले फिर्ता पाएको थियो।

हाल हङकङमा चीनको ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन चल्दै आएको छ। उक्त नियमअन्तर्गत ५० वर्षसम्म चीनले आंशिक स्वायत्तता प्रदान गरेको छ।

प्रकाशित मिति: : 2020-06-21 08:07:46

प्रतिकृया दिनुहोस्