गण्डकी प्रदेशका ४ जिल्लामा पुन: १६ संक्रमित फेला परेका छन्। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन्।
निर्देशनालयले बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेकाे जनाएकाे छ।
यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु सबै पुरुषहरु हुन्। उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन्।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन्।
पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिए।