मेरा असल मायालुहरू
हुन, मेरा असल पुस्तकहरू
जस्लाई म
प्राणभन्दा बढी माया गर्छु
तर मेरा सबै ती मायालुहरू
आज बन्द छन् कालकोठरीभित्र
फोहर र धूलोको चादर ओढेर
धमिरा र कमिलाका गुँड बनेर
म अँगालोमा समेट्न चाहन्छु सबैलाई
म अमृत रस बनाएर पिउनु चाहन्छु सबै
यो अमृतरस पिलाउन चाहन्छु सबैलाई
तर बिवस छन् मेरा मायालुहरू
मेरो अंगालोमा आउन चाहन्छन्
मसँग नाच्न गाउन चाहन्छन्
मसँग हाँस्न खेल्न चाहन्छन्
मलाई खुशी र सुख दिन चाहन्छन्
तर बिवश छन् बिचराहरू
चाहेर पनि आउन सक्दैनन्
किनभने पुस्तकको शत्रु
औरंगजेबको धारिलो हतियार
उसकै भरभराउँदो अग्निशिखा
तयार छन् काट्न र जलाउन
म पनि बिवश छु
आकाशको फल आँखा तरि मर्'
बस्.. विषादको थुक निल्दै बसेको छु
केवल आफ्ना मायालुहरू सम्झेर
शायद ती पनि त्यहीं गल्छन् होला
शायद म पनि यसै गल्छु होला...