ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारले भने, ‘ट्रम्पले चुनाव जित्न चीनसँग सहयोग मागे’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै प्रकाशित गरेको किताबले विश्वको ध्यान तान्न सफल भएको छ। उनले आफ्नो किताबमा राष्ट्रपति ट्रम्पले आउँदा चुनावमा पुनः निर्वाचित हुन चीनसँग सहयोग मागेको कुरा सार्वजनिक गरेपछि यसले चारैतिर खैलाबैला मच्चाएको छ। 

बोल्टनले आफ्नो किताबमा ट्रम्पले २०२० को राष्ट्रपति निर्वाचनका लागि चिनियाँ राष्ट्रपति सी चिङफिङसँग सहयोग मागेको उल्लेख गरेका छन्।
बोल्टनको किताबको एउटा अंश ‘द वाल स्ट्रिट जर्नल’, ‘द वासिङ्टन पोस्ट’ र ‘द न्युयोर्क टाइम्स’ ले प्रकाशित गरेको छ। 

 बोल्टनको दावी अनुसार पछिल्लो वर्ष जुनमा जापानको ओसाकामा भएको जी–२० समिटमा ट्रम्प र सीबीच भेट भएको थियो, जहाँ अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर कुरा भएको थियो।

चीनले अमेरिकामा पार्नसक्ने आर्थिक प्रभावलाई लिएर भएको कुराकानीमा ट्रम्पले आफूलाई सहयोग गर्न अपील गरेको बोल्टनले लेखेका छन्। चीनले अमेरिकी चुनावमा प्रचार अभियानमा आर्थिक चलखेल गरेर प्रभाव पार्न सक्ने पनि किताबमा उल्लेख छ। 

बोल्टनका अनुसार ट्रम्पले अमेरिकी कृषकलाई महत्व दिँदै चीनलाई सोयाबिन र गहुँ खरिद गर्न विशेष जोड दिएका थिए। यसले अमेरिकाको राष्ट्रपति चुनावमा प्रभाव पार्ने सक्ने बताइएको छ।

ट्रम्पले चुनाव जित्न चीनसँगको व्यापार युद्ध समाप्त गर्ने र पश्चिम चीन उगुरमा मुसलमानहरूका लागि ‘योग शिविर’ निर्माण गर्नेसम्मको प्रस्ताव राखेको किताबमा दावी गरिएको छ।

‘द रुम ह्वेयर इट ह्यापेन्ड’ नाम गरेको बोल्टनको पुस्तक जुन २३ अर्थात आउँदो मंगलबार प्रकाशित हुँदैछ।  

गएको जनवरीमा राष्ट्रपति कार्यालयले बोल्टनको पुस्तकमा अति गोप्य जानकारीको विस्तृतमा उल्लेख रहेको भन्दै सो कुरा पुस्तकबाट हटाइनु पर्ने बताएको थियो। तर बोल्टनले सो कुरा अस्वीकार गरेका थिए।

बोल्टनको पुस्तकमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपतिलाई जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएको कुरा विस्तृतमा उल्लेख गरहेको पनि दाबी गरिन्छ।

सोही कार्यका लागि ट्रम्पले सदनमा महाअभियोगको सामना गर्नु परेको थियो। महाअभियोगको अनुसन्धान युक्रेनबाट अरु तर्फ पनि गएको भए नतिजा अर्कै आउन सक्ने बोल्टनको भनाई छ। यसको अर्थ उनले चीनसँग ट्रम्पले प्राप्त गर्न खोजेको सहयोग तर्फ इंगिद गरेका हुन्।

ट्रम्प प्रशासनले बोल्टनको पुस्तक प्रकाशित हुनबाट रोक्न हरसम्भव प्रयास गरिरहेको छ। तर गैरसरकारी संस्था अमेरिकन सिभिल लिबर्टिज युनियनले बोल्टनको पुस्तक प्रकाशन हुनबाट रोक्ने ट्रम्प प्रशासनको कुनै पनि प्रयास सफल नहुने बताएको छ।

ट्रम्पले गएको सोमबार पत्रकारहरुसँग भनेका थिए, ‘मसँग भएका सबै कुराकानीहरु वर्गिकृतका रुपमा लिन्छु। त्यसैले उनले (जोन बोल्टन) ले किताव लेखेर र त्यो प्रकाशित भयो भने उनले कानून उल्लंघन गरेको हुन्छ। जसका लागि उनले आपराधिक समस्या झेल्नु पर्ने हुन्छ।’

स्मरण रहाेस् बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए। उनी सन् २०१९ को सेप्टेम्बरमा जिम्मेवारीबाट बाहिरिएका थिए।

प्रकाशित मिति: : 2020-06-18 07:21:31

प्रतिकृया दिनुहोस्