कालापानीमा भारतीय कब्जाबाट दुःखी नेपाली सेना मुलुकको परिवर्तित राजनीतिक अवस्थामा कालापानीमा सक्रिय थिए। तर उसले सरकारबाट कहिल्यै आदेश पाएन। नत्र दुई वटा ठूलो विश्व युद्व लडेको नेपाली सेनाका लागि आफ्नो भूमि कालापानीमा बनेका टिनका बंकर उडाउनु खासै ठूलो कुुरा न हिजो थियो न आज छ।
आफ्नो भूमिमा भएको अबैध कब्जा सेनाका लागि दुख्ने विषय थियो। बेला–बेलामा नेपाली सेनाले कालापानीमा विभिन्न अप्रेशन चलाएको थियो, त्यहाँको बस्तुस्थिति बुझन्। जसमध्ये एउटा अप्रेशन थियो, २०५२ भदौमा।
मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात क्याप्टनको नेतृत्वमा भएको यो अप्रेशनको उद्देश्य थियो, कालापानीमा भारतीय सेनाको अवस्थितिको ग्राउण्ड रिपोट सैनिक मुख्यालयलाई बुझाउनु।
स्कुल खोल्ने र व्यवसाय गर्ने बहानामा २०५२ भदौमा कालापानी पुगेको नेपाली सेनाको समूहमा थिए, डोटीका डम्बरबहादुर बिष्ट। उनलाई नेतृत्व गरेका काठमाडौंबाट गएका नेपाली सेनाका क्याप्टेनले ब्यासमा स्कुल खोल्ने बहाना बनाएका थिए।
२०३६ फागुन २० गते गोरखदल गुल्म प्रवेश गरेका बिष्ट सेनाको इन्टेलिजेन्स समूहमा काम गर्थे।
२०५४ बैशाख १ गते अवकाश लिएर उनी अहिले धनगढीमा व्यवसाय गर्दै अइरहेका छन्। खलंगाबाट हिँडेको तीन दिनपछि ब्यास पुगेको नेपाली सेनाको समूहले तेस्रो दिन भात खाएको थियो।
ब्यासमा उतिबेला प्रहरीको पनि उपस्थिति थियो,सीतापुल नाकामा। स्कुल खोल्ने र व्यवसाय गर्ने बहानामा ब्यास पुगेको नेपाली सेनाको टोलीले त्यहाँको अवस्था भिन्न पाएको थियो।
स्थानीयमा भारतले कब्जा गरेको कालापानी क्षेत्रमा जानु हुँदैन भन्ने वातावरण बनिसकेको थियो। ‘अर्को दिन भारतीय सेना बसेको कालापानी जाउँ कालीमाताको दर्शन गरेर आउँभन्दा सबै डराए। तर सम्झाइँबुझाइँ गरेपछि दुईजना जान राजी भए,’ बिष्ट सुनाउँछन्।
उनले एका बिहानै १२ किलोमिटर हिँडेपछि कालापानीमा पुग्नुभन्दा अगाडि नै सेनाले आफूसँग ल्याएको वाईनाकुलर र कागजात एउटा ठूलो ढुंगामा लुकाएर राखेको बताए।
कालापानी पुग्दा भारतीय सेनाका साैगोत्री मोहनसिंह बिष्टले पहरा दिइरहेको उनको भनाई थियो।
‘मैले यति टाढाबाट कालीको दर्शन गर्न आएको भनेपछि भारतीय सेनाले नक्कली काली बनाएको नदीको छेउमा बनेको मन्दिरमा दर्शन गर्न भने,’ बिष्टले २३ वर्षअगाडिको घटना सुनाए, ‘मैले बिष्ट भएको हुनाले सौगोत्री भएको बताएपछि उसले चिया पिलायो।’
यसै क्रममा कुराकानी हुँदा ती सैनिकले भारतले नेपाली भूभाग अवैध कब्जा गरेको र वास्तविक कालीकोे मुहान लिम्पियाधुरा देखाउँदै कालीको मुहानको वास्तविकता पनि खोलेको बताए।
‘उनीहरुले देखाएको कालीको पानी नै कालो देखिन्छ। लिम्पियाधुराबाटै अरु हिमनदीको पानीमा सेतोपना बढी हुन्छ। अरु हिमनदी कालीमा मिसिएपछि मात्र कालीकाे रंगमा बिलाउँछन्,’ उनले भने।
कालीमा कालापानीबाट अन्दाजी ३६ किलोमिटर उत्तर लिम्पियाधुरा र लिपुलेकको भू–भाग भारतले कब्जा गरेको देखेपछि आफ्नाे आँखाबाट आशु आएको उनले बताए। उनी राेएकाे देखेपछि अन्य भारतीय सेना सतर्क भएकाे उनकाे भनाई थियाे।
‘म रोएपछि भारतीय सेना अलि सर्तक भयो। हामीलाई कब्जामा लियो र सोध्न थाल्योे,’ उनले त्यो बेलाको घटना बताए,‘मातृभुमिको माया लागेर रोएको भने। मैले म व्यापारी भएको र कमिशन समेत दिने लोभ दिएपछि कुरा मिल्यो।’
दिनभरी कालापानीमा बसेर आफ्नो भुमिमा बिदेशी सेनाको मनै दुखाउने उपस्थितिको यथार्त देखेर नेपाली सेनाका ४ जना साँझ हुन लाग्दा फेरि छांङरुको गागा फर्केएकाे उनले बताए। असोज महिनामा नै यो समुहले सैनिक मुख्यालयलाई आफ्नो रिपोट बुझाएको थियो। बिष्ट भन्छन् ‘मलाई आदेश मात्र भएको भए म त्यही दिन कालापानीका सबै बंकर उडाई दिन्थे, त्यहाँ ४० जना थिए। उनीहरुलाई म एक्लै भ्याइदिन्थे।’