बाँकेका पहिलो संक्रमितसहित अन्य २० जनाले जिते कोरोना (फाेटाेफिचर)

बाँकेका २१ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन्। बैशाख अन्तिम साता कोरोना संक्रमण देखिएका नेपालगञ्जका २५ जना मध्ये २१ जना घर फर्किएका हुन।

उनीहरूको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो। सबै जनालाई विशेष बधाई ज्ञापन गर्दै फूल,माला र अविर ग्रहण गरेर अस्पतालबाट विदाइ गरिएको हो। 

निको हुनेमा नेपालगञ्जका पहिलो कोरोना संक्रमित ६० वषर्षीय पुरूष र अन्य २० जना रहेको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ।

बाँकेमा पहिलो पटक गत बैशाख १९ गते एक ६० वर्षीय पुरूषमा कोरोना सक्रमण पुष्टि भएको थियो।  

कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पहिलो संक्रमितसहित २० जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका हुन्। उनीहरूलाई अझै दुई साता होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको श्रेष्ठले जानकारी दिए। 

‘पहिलो संक्रमितको तीन पटक र अन्य २० जनाको दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो,’उनले भने,‘उहाँहरु यहाँबाट जानुभएपछि दुई साता होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएका हौं।’

यता गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको साहसको उच्च कदर गर्दै कोरोनालाई जितेकाहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। 

गाउँपालिकाको तर्फबाट उनले सम्पूर्ण महामारीको समयमा अहोरात्र खट्नेहरूलाई धन्यवाद प्रकट गरेका छन्।

यसैगरि प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले समेत कोरोना संक्रमित निको हुनुले सबैमा उच्च मनोबल बढेको बताए। 

उनले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन्,‘खजुरा कोरोना विशेष अस्पतालबाट २१ जना कोरोना जितेर घर जाँदै हुनुहुन्छ। यसबाट चिकित्सक र विरामी दुबैको मनोबल उच्च भएको छ। बधाई सबैलाई।’

यहाँका अन्य संक्रमितको भने नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ।

तस्बिर साैजन्य- पाैडेल मधुर किस्मत कुमार कक्षपति

प्रकाशित मिति: : 2020-05-22 13:37:55

प्रतिकृया दिनुहोस्