काेभिडका कारण मृत्यु भएका नरैनापुरका युवकको दाहसंस्कार, क्वारेन्टाइन क्षेत्र शिल

जिल्लास्थित नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका २४ वर्षीय युवकको दाहसंस्कार गरिएको छ। आइतबार विहान मृत्यु भएका उनको कोरोना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएको थियो।

 उनको आइतबार साँझ उच्च सतर्कताका साथ सामाजिक दुरी कायम गरेर दाहसंस्कार गरिएको हो। उनी बैशाख ३० गते भारतबाट आएका थिए। मृतक युवकसँगै आएका ३९ जना क्वारेन्टाइनमा  छन्। 

शनिबार मात्रै स्वास्थ्य कार्यालय बाँकेले उनीहरू सहित नरैनापुर गाउँपालिकाका २६३ जनाको कोरोना परिक्षण गरिएको थियो। 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अन्यको स्वाब परिक्षणको क्रममा रहेकोले रिपोर्ट भने सोमबार सम्म आउँछ। अहिले वडा नम्बर ५ को उक्त क्षेत्र शिल गरिएको छ।

मृतक युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएर वडा नम्बर ५ भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए। उक्त क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। शुक्रबार नरैनापुरका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-05-17 21:39:18

प्रतिकृया दिनुहोस्