काली बगरमा जति गर्मी दिउँसो हुन्छ राती यो हिमनदी छोएर बग्ने सिरेटोले दिउँसोको गर्मीलाई खाईदिन्छ । मातृभुमि टेक्न नपाएका सयौं नेपालीलाई क्वारेन्टाइनका नाममा दार्चुला सदरमुकामको ठिक पारी भारतीय भूमि धार्चुलामा भेडाबाख्रा झैं राखिएको पनि तीन साता कटिसकेको छ।
दिउँसोको उखरमाउलो गर्मी अनि रातिको चिसो सिरेटो मानांै उनीहरु कुनै जेलमा सजाय काट्न राखिएका हुन। लाउने लुगा छैन, खाने पत्तो छैन। साथमा महिला दुधे बालकदेखि ७३ वर्षीय बृद्ध पनि छन्। आँखाअघि सीमा नदी कालीपारी उनीहरूको आफ्नो देश छ र त्यो देश चुम्ने अनुमति उनीहरुलाई मिलेको छैन।
त्यो देश आफ्नो हुन डराइरहेछ मानौ उनीहरु आउदैमा देश कोरोनामय हुन्छ। आफ्ना १ हजार ६ नागरिकलाई त्रिदेशीय शवेंदनशील महत्वपूर्ण सीमाको विदेशी भूमिमा राखेर आफ्नै बेईज्जत गरिरहेको, यो थाहा पाउने कहिले हो सरकारले।
संघीय संरचनामा प्रवेश गरेको मुलूकका यी नागरिकलाई राज्यले अनागरिकको व्यवहार गर्न थालेको अति भइसक्यो। राज्य उनीहरूका लागि यति कठोर भइरहेको छ कि आमा मर्दासम्म उनीहरूले आफ्नो देश टेक्न पाएनन्। मलामी जान त कता हो, क्रिया बस्न पनि विदेशी धर्ती उनीहरूको भाग्यमा परेको रहेछ। सिडिओको फोन नै उठदैन। गाउँका मेयर अमरसिंह धामी झुुटो दिलासा दिन्छन्। शैल्यशिखरका बासुदेव भट्ट क्रिया बसेको वलुवाकोट क्याम्पबाट ३० किलोमिटर दूरीमा उनको गाउँ छ।
अमरसिंह उनको नगरपालिकाका तिनै मेयर हुन्, जो केही महिनाअघि कञ्चनपुरको डान्सबारमा प्रहरीबाट समातिएका थिए, मातेर अभद्र व्यवहार गरेकाे आराेपमा।
आखिर शरणार्थी जीवन जीउन बाध्य पारिएका उनीहरु गरुन् पनि के? काला पहाडतिर ढुंगागिट्टी फोडेर आफ्नो भन्ने देशमा रहेका जहान पाल्ने वर्गका जनता जो परे। उनीहरुको आफ्नो भनेकै एक मात्र नेपाल आमा हुन् तर ती आमामाथि निर्लज्जको जो राज छा उनीहरुको सबैभन्दा ठूलो दोष भनेकोे गरिबी हो।
यही गरिबीका कारण काला पहाडतिर हानिएका उनीहरुको उपहास सीमामा आफ्नै राज्य र राज्यका शाषकहरु निर्ममतापूर्वक उडाई रहेका छन्। बिएल नेपाली सेवा निरन्तर उनीहरूका समस्या राज्यसामु पस्कदैं आएको छ तर राज्य शायद कानमा तेल हालेर बसेको छ। उ आफ्नो उपचार गराउन व्यस्त छ।
जनता मरुन या बाँचुन मतलब छैन।
भारतीय सरकारको कोरोना परीक्षणमा उनीहरु स्वस्थ्य छन् तैपनि उनीहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिदँैं आएको छ। उनीहरु मुलूकका सबैभन्दा गरिबको सूचीमा पर्ने नागरिक जो परे। राज्यको नजरमा अनागरिकको अवस्थामा ल्याईएको छ।
तीन सातादेखि भारतको धार्चुलाका पाँच वटा क्याम्पमा राखिएका नेपाली मध्ये एक जना ७३ वर्षीय बृद्ध पनि छन्। यो उमेरमा भारतमा रोजगारीका लागि जानु उनको रहर पक्कै पनि नहोला। निरन्तर सम्पर्कमा आइरहँदा उनले पनि आफ्नो बेदना पोख्ने हिम्मत गरे र राज्यसँगको आफ्नो गुनासो बिएल नेपाली सेवामार्फत पाेखे।
वित्थड चीर गाउँपालिका, कफलसेरी बझाङका ७३ वर्षीय संग्राम जाग्री आफू लगायत सम्पूर्ण नेपालीले घर फर्किन पाउनुपर्ने माग गरिहेका छन्। पाको उमेरमा पनि घरजहानलाई लुगा फाटो हुन्छ कि भनेर उत्तराखण्डको थलनजिक सडकमा काम गर्न पुगेका जाग्री घरबाट भारत प्रवेश गर्दा गाउँको खेतमा अलिकति लगाएको गहुँ काट्ने मान्छे पनि नभएको बताउँछन्।
घरमा आमा बित्दा पनि घर जान नपाएका दार्चुला शैल्यशिखर नगरपालिकाका बासुदेव भट्ट पनि उनकै क्याम्पमा बसोबास गरिरहेका छन्। ‘भट्टलाई त जान दिएनन् मलाई के देलान्’ उनले शंका व्यक्त गरे, ‘घर नगई यतै मरिन्छ कि जस्तो लाग्न थालेको छ।’
उनीसँगको अडियो अन्तर्वार्ता ।