विदेशी शक्तिले खाडीको शान्ति सुरक्षा खतरामा पार्‍यो: इरानका राष्ट्रपति

EPA

इरानका राष्ट्रपति हसन रूहानीले विदेशी शक्तिले खाडीको शान्ति सुरक्षा खतरामा पारेको आरोप लगाएका छन्।अमेरिकाले तेल खानी र प्रशोधन केन्द्रमा आक्रमण भएपछि उक्त क्षेत्रमा सेना खटाउन गरेको घोषणाको प्रतिक्रियामा रूहानीको यस्तो भनाइ आएको हो।

सन् १९८० देखि सन् १९८८ सम्म भएको युद्धको वार्षिकोत्सवको कार्यक्रममा उनले विदेशी शक्तिले सधैँ पीडा र दुःख ल्याएको र सैन्यबल प्रदर्शन गर्ने प्रतिस्पर्धामा उनीहरूको प्रयोग गर्न नहुने बताएका छन्।

उनले भने-'विदेशी शक्तिले हाम्रा जनता र क्षेत्रमा समस्या असुरक्षा ल्याउन सक्छन्।इरानले आउने दिनहरूमा खाडी क्षेत्रमा शान्तिका लागि संयुक्त राष्ट्रसङ्घ समक्ष पहल गर्नेछ।'

साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रहरूमा सेप्टेम्बर १४ मा आक्रमण भएपछि अमेरिका र इरानबीच तनाव अझ बढेको छ।इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले उक्त आक्रमण गरेको स्वीकारेका छन्। तर इरानको मुख्य क्षेत्रीय प्रतिद्वन्दी साउदी अरब र अमेरिकाले त्यसमा इरानको संलग्नता भएको बताएका छन्।

प्रकाशित मिति: : 2019-09-22 18:19:57

प्रतिकृया दिनुहोस्