साउदी अरबमा ड्रोन आक्रमण: विश्वकै ५ प्रतिशत तेल उत्पादन बन्द

साउदी अरबलाई ठूलो झड्का : अब ड्रोन आक्रमण जस्ले पनि गर्ने भयो ! तस्बिर : एजेन्सी

साउदी अरबका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मेवारी इराननिकट यमनका विद्रोही हुथी समूहले लिएको छ ।

हुथी समूहका प्रवक्ता याह्या सारएले उनीहरूले नै बेरूतबाट सञ्चालन गरेको अल-मसिरा टीभीमा यस्तो दावी गरेका हुन् ।

आक्रमणमा १० वटा ड्रोन प्रयोग गरिएको भन्दै थप आक्रमण गरिने चेतावनी पनि उनले दिएका छन् ।

साउदी अरबले हुथी समुहको बसोबास रहेको यमनमा हवाइ आक्रमण गरी उनीहरूको जातीय नरसंहार गरेको जवाफमा यसो गरेको उनले बताएका हुन् । 

आक्रमणबाट साउदी अरबको पूर्वमा रहेका दुई तेल प्रशोधन केन्द्र अबकाइक र कुरिसमा आगलागी भएको छ । सरकारी तेल उत्पादन कम्पनी आरामकोको स्वामित्वमा रहेका ती तेले प्रशोधन केन्द्रले साउदी अरवको आधी र विश्वको ५ प्रतिशत तेल उत्पादन गर्छन् ।

यसअघि सन् २००६ मा अल कायदाले आत्मघाती हमलाकारीमार्फत् गरेको आक्रमण साउदी सुरक्षाबलले विफल पारिदिएका थिए।

प्रकाशित मिति: : 2019-09-15 02:32:27

प्रतिकृया दिनुहोस्