काबुलस्थित अमेरिकी राजदूताबासमा तालिवानद्वारा रकेट आक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूताबासमा भएको रकेट आक्रमण । तस्बिर : टाइम्स अफ इस्लामावाद ।

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूताबासमा रकेट आक्रमण गरिएको छ । 

आक्रमण बुधबार मध्यरातमा भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । 

आक्रमणमा कुनै मानवीय हताहति र क्षति भएको बताइएको छैन तर रकेट दूताबास परिशरभित्र खसेको जनाइएको छ । 

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले गरेको त्रासदीपूर्ण आक्रमणको १८ वर्ष पुगेकै दिन यस्तो आक्रमण भएको हो । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्याम्प डेविडमा तालिवानी नेता तथा अफगान राष्ट्रपतिसँग गर्न लागिएको गोप्य शान्ति वार्ता अन्तिम अवस्थामा आएर रद्द गरिदिएकोमा तालिवानीहरू अमेरिकासँग रूष्ट छन् । त्यसैको प्रतिक्रियास्वरूप यो आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।  

राष्ट्रपति ट्रम्पले वार्ता हुनुभन्दा एक दिन अगाडि मात्र ट्विट गर्दै वार्ता रद्द भएको जनाएका थिए । उनले एकजना अमेरिकी सैनिकसहित १२ जना मारिएको विरोधस्वरूप शान्ति वार्ता रद्द गरिएको जनाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प सन् २०२० को चुनावअघि नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न चाहन्छन् । त्यसैका लागि केही महिनायता अमेरिकी अधिकारीहरू र तालिवानी शीर्ष नेताहरूबीच विभिन्न स्थानमा गोप्य वार्ता हुदैआएको बताइएको थियो । त्यही क्रममा आइतबार क्याम्प डेभिड वार्ताको आयोजना गरिएको थियो ।

यसअघि सन २०१२ मा पनि सेप्टेबर ११ कै दिन लिवियाको बेन्घाजीमा यस्तै आक्रमण गरी अमेरिकी राजदूतसहित तीनजना अमेरिकी अधिकारीको हत्या गरिएको थियो ।

प्रकाशित मिति: : 2019-09-12 03:24:20

प्रतिकृया दिनुहोस्