अवुधावीस्थित नेपाली दूताबासमा 'एनओसी-गोरखधन्दा' : उपनियोग प्रमुख फुयाँल फिर्ता

अवुधावीस्थित नेपाली दूताबासमा 'एनओसी-गोरखधन्दा' का कमाण्डर  उपनियोग प्रमुख सागर  फुयाँल । लेआउट :  ब्रेक एन लिंक्स ग्राफिक्स

संयुक्त अरव इमिरेट्स (युएई) का लागि अबुधावीस्थित नेपाली दूतावासका कर्मचारीहरूको 'गोरख-धन्दा' बन्द गर्न दूतावासले जारी गर्दै आएको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) नै बन्द गर्ने निर्णय गरेको खुलासा भएको छ । यो  धन्दा दूताबासकै उपनियोग प्रमुख सागर फुयाँलको कमाण्डमा भैरहेको प्रमाण भेटिएको छ । त्यही प्रमाणका आधारमा उनलाई २१ दिनभित्र मन्त्रालयमै हाजिर हुन परराष्ट्र मन्त्रालयले चिठी काटेको छ । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपालको अध्यागमनबाट दैनिक कम्तिमा पनि दुई सय नेपाली युएई भित्रिने गरे पनि फुयाँलले २० वटाजति एनओसी जारी गरेकोे देखाएर बाँकि सबैलाई सेटिङमा भित्राएर गोरखधन्दा चलाइरहेका थिए । 

भिजिट भिषामा युएई आउने नेपालीले यहाँ आएर कामदार रुपमा काम गर्ने र समस्या पर्दा उद्दारमा समस्या देखिएपछि नेपाल सरकारले भिजिट भिषामै रोक लगाएको थियो । तर, यही बीचमा दूतावासले एनओसी जारी गर्ने धन्दा सुरू गरेर कामदारका आफन्त (बाबु, आमा, सासु, ससुरा, छोरा, छोरी, श्रीमान,श्रीमती) लाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्न थाल्यो । यही एनओसी जारी गर्ने नाममा फुयाँल नेतृत्वमा दूताबासका कर्मचारीको 'गोरख-धन्दा' चलिरहेको थियो । 

यो धन्दा फुयाँल एक्लैले नचलाएर परराष्ट्र मन्त्रालयका उच्चअधिकारीकै हाइकमाण्डमा चलिरहेको परराष्ट्र मन्त्रालयकै एक अधिकृतले बताए । उनका अनुसार फुयाँल परराष्ट्र मन्त्रालयका उपसचिव मात्र हुन् । उनले कम्तिमा पनि सहसचिव र सचिवलाई समेत उचित भाग पुर्याएर यो धन्दा चलाइरहेको हुनुपर्छ ।

उनको यो धन्दामा माथिल्लो तहकै संलग्नता छ भन्ने कुरा परराष्ट् मन्त्रालयका वरिष्ठ सहसचिवसमेत रहेका प्रवक्ता भरतराज पौड्यालको भनाइबाट पनि पुष्टि हुन्छ । उनले सूचना लुकाउँदै फुयाँल एनओसी काण्डका बारेमा केही थाहा नपाए जस्तो गर्दै भने- 'सागरजीलाई फिर्ता बोलाइएको बारेमा त मलाई केही थाहा छैन ।फुयाँल उपसचिव भएकाले नियमित सरुवा भएको हुनसक्छ ।'

अब यो प्रकरण यसै दबाइन्छ कि यसमाथि कुनै कारबाही पनि हुन्छ ? फुयाँललाई मात्र बलीको बोको बनाएर सामसुम पारिन्छ कि कुनै कारबाही प्रक्रिया पनि अघि बढ्छ, त्यसैको आधारमा मात्र भन्न सकिन्छ । 

प्रकाशित मिति: : 2019-07-18 09:04:37

प्रतिकृया दिनुहोस्