नेपालमा बदलिँदै बिहेको मान्यता (भिडियोसहित)

बिएल

आरआर क्याम्पसको क्यान्टिनमा यसै साता साथीहरू बीच कस्तो केटा बिहे गर्ने भनेर चर्चा चलिरहेको थियो।

यत्तिकैमा स्नाकोत्तर पढिरहेका ईश्वर खड्का हामीसँगै मिसिए। भन्न थाले, ‘बिहे गर्न केटी त समझदार हुनैपर्छ। जिम्मेवारी बोध गर्ने खालको पनि।’

ल क्याम्पसका शिक्षक आर्शी गौतम पनि बिहे गर्ने केटी शिक्षित र आफैमा सक्षम हुनुपर्ने बताउँछन्। उनको निश्कर्ष छ, अहिलेको महंगी जमानामा एक्लैले कमाएर पुग्दैन्।

आर्शी बिहे गर्न केटीको उमेरले खासै फरक नपर्ने बताउँछन् तर केटी आफूभन्दा जेठी हुन नहुने उनको ठम्याई छ।

आर्शी जस्तै नेपाल ल क्याम्पसमा एलएलवी पढ्दै गरेकी सोनिया अधिकारी आफूले बिहे गर्ने केटाको उमेर आफूभन्दा ३ वर्ष जेठो र सममmदार हुनुपर्ने सोचाई राख्छिन् ।
‘केटा अलि बढी व्यवहारिक, परिपक्क र सममmदार हुनुपर्छ’, सोनिया भन्छिन्।

आरआर क्याम्पसबाट स्नातकोत्तर गरेकी निरु आचार्य सममmदार, स्मार्ट र हरेक कुरामा ‘लीड’ गर्न सक्ने खुबी भएको केटा आफ्नो प्राथमिकतामा रहेको बताउँछिन् ।

परिवार र समाजलाई ‘हयान्डल’ गर्न सक्ने भयो भने जीवन सहज हुने उनको बुझाई छ । ‘आफूभन्दा कम उमेरको केटाले कसरी यी सवै कुरा ‘हयान्डल’ गर्न सक्छ र? त्यहीँ भएर केटा आफू भन्दा जेठो नै चाहिन्छ,’ निरुको पनि भनाई छ।

यस्तै, आरआरबाटै स्नाकोत्तर गर्दै गरेकी सरु भण्डारीे आफूले बिहे गर्ने केटाले आफ्नो भावना पनि बुझ्ने र दुःख–सुखमा साथ दिने, समाजिक काममा लागेको होस् भन्ने कामना गर्छिन्। अरु जस्तै उनी पनि आफूले रोजेको केटा उमेरमा अलि परिपक्व र कमाउने होस् भन्ने चाहाना राख्छिन्।

काठमाडौं विश्व विद्यालयमा विएस्सी गर्दै गरेकी कोपिला शर्माको पनि सरु र नीरु जस्तै बुझाई छ। उनी पनि आफूभन्दा पाको उमेरको केटासँग बिहे गर्न रुचाउँछिन्।
‘मेरो विचारमा मेरो श्रीमान शिक्षित, इमान्दार,समाजसेवामा लागेको र मलाई माया गर्ने होस्,’ उनी भन्छिन्।

यी त सबै प्रतिनिधि पात्र हुन्। नेपालमा केही वर्ष यतादेखि विवाहप्रति मानिसहरूको आम धारणा परिवर्तन हुँदै गइरहेको छ।

पौराणिक कालदेखि नेपालमा समान्यतया केटा पक्षले केटी पक्षको घरमा विवाहको कुरा गर्न जाने चलन छ। विवाहको कुरा छिन्नु अगाडि केटीको गोत्र, कुल–घराना सबै बुझ्ने चलन थियो।

केटीको शिक्षादीक्षा भन्दा पनि केटीको बुवाको समाजिक प्रतिष्ठा हेरेर बिहे गर्ने चलन थियो।

तर, हिजोआज समाजमा आएको परिवर्तनसँगै यी कुराहरू बिस्तारै हराउँदै गइरहेका छन्। अहिले केटा र केटीहरू उनीहरूको परिवारको प्रतिष्ठाभन्दा पनि आफूमा भएको क्षमता हेरेर बिहे गर्न चाहन्छन्।

समाज परिवर्तनसँगै मानिसको सोचमा पनि परिर्वतन आएको छ। हिजोआज हरेकले आफ्नो रोजाई अनुसारको केटा वा केटीसँग विहे गर्न थालेका छन्।

सम्पत्ति भन्दा पनि पढे लेखेको र माया गर्ने केटा वा केटी हुँदा जीवन सफल हुने अहिलेको पुस्ताको बुझाई छ।

समाजशास्त्री प्रकाश पौडेल विश्व व्यापीकरणसँगै उप्पादन प्रणालीमा आएको परिवर्तन, बसाइँसराइँ र धर्म संस्कृतिप्रति मानिसको बुझाईमा आएको परिवर्तनका कारण वैवाहीक मान्यतामा परिवर्तन आएको बताउँछन् ।

उनी भन्छन्, ‘हिजो नेपाली समाज कृषिमा निर्भर थियो। त्यसैले आफूले बिहे गर्ने केटी घरको काम काजमा सक्षम होस् भन्ने मान्यता राखिन्थ्यो। हिजोआज मानिसहरू कृषिभन्दा पनि जागिर मुखी भए। अहिले आफूले चाहेको खानेकुरा रेष्टुरेन्ट र क्याफेबाटै अर्डर गर्दा घर आइपुग्छ।’

बसाइँसराइँको कारणले गर्दा सोलुखुम्वुको मानिस हिजो जे कुरामा आत्मनिर्भर थिए आज नभएको उनको ठम्याई छ। उनी काठमाडौंमा बस्ने मानिसको जीवनशैली विदेशी प्रभावमा रहेको बताउँछन्।

 

 

प्रकाशित मिति: : 2019-07-16 18:26:44

प्रतिकृया दिनुहोस्