ट्रम्पले उत्तर कोरिया पसेरै भेटे किमलाई : दुबै नेताले भने- 'ऐतिहासिक', अरूले भने- 'नाटक'

ट्रम्प र किमबीच उत्तर कोरियामा ऐतिहासिक भेट । तस्बिर : रोयटर्स ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ ।

ट्रम्पले आइतवार कोरियाली सिमाना पार गरेरै उत्तर कोरियाली नेता किमलाई भेटे ।

छोटो भेटको क्रममा दुई नेताले आपसमा हात मिलाएका थिए। त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए ।

डिमिलिटराइज्ड जोन डीएमजी समेत भनिने असैनिकीकृत क्षेत्रमा किमलाई भेट गर्दै उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका छन् ।

ट्रम्पले भेटको क्षण वास्तवमै ऐतिहासिक भएको बताउँदै उनी दुई कोरियाबीचको "सीमा पार गर्न पाउँदा गौरवान्वित भएको" बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार पत्रकारहरू सामु विरलै बोल्नै गरेका किमले यो भेट ट्रम्प र उनीबीचको "गजबको सम्बन्ध"को संङ्केत भएको बताए।

आलोचकहरूले यसलाई विशुद्ध नाटक भनेका छन् तर अन्य केहीको बुझाइमा यो भेटले भविष्यमा थप वार्ता गर्नको लागि बाटो खोलिदिन सक्छ।

यसअघि  अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमलाई भेट्न दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीसहित दुई देशबीचको असैनिकीकृत क्षेत्र पुगेका थिए।

राष्ट्रपति ट्रम्प जापानको ओसाकामा सम्पन्न जी-२० शिखर सम्मेलन सकेर दक्षिण कोरियाको भ्रमणमा सोलमा छन् । 

प्रकाशित मिति: : 2019-06-30 21:50:24

प्रतिकृया दिनुहोस्