विश्वव्यापी रूपमा नयाँ पुस्ताका नौजवानहरू मनमा झिनो आशा राखेर ‘ह्वाइटकोलर जब’ को लागि नाम र प्रतिष्ठा भएका कम्पनीमा जागिरका लागि आवेदन दिने क्रम तिव्र छ ।
नेपालमा पनि हाइस्कुल सक्नेबित्तिकै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जापानलगायतका देशमा अध्ययनका लागि योजना बनाउनेको भिड जति देखिन्छ, त्यसको तुलनामा रोजगारीका लागि अन्य मुलुक जाने नेपाली दोब्बर भेटिन्छन् । यसमा पनि आम्दानीको हिसाबले दक्षिण कोरिया उत्कृष्ट मानिन्छ ।
कोरियाको श्रम बजारले अहिलेको नयाँ पुस्तालाई खुबै तानेकाे देखिन्छ । तर, कोरियामा केही नेपाली यस्ता पनि छन्, जो रोजगारीका साथसाथै सीप सिकेर आफ्नै देशमा केही गर्न चाहन्छन्।
अर्घाखाचीका २१ वर्षिय बाबुराम गौतम। २१ वर्षको उमेरमा स्नातक पढ्दा पढ्दै छोडेर रोजगारीका लागि कोरिया आएका थिए।
उनी कोरिया आएको दुई वर्ष बितिसकेको छ। अब उनी कोरियामा सिकेको सीप नेपालमा फर्किएर आफ्नै माटोमा प्रयोग गर्ने अठोटमा छन्।
गाैतम सानै उमेरदेखि हरियाली वनजंगल र खेतबारीमा काम गर्न मन पराउँथे। उनी कोरिया आउँदा आफूले कृषि क्षेत्रलाई छनोट नगरेकोमा अलि उदास छन् । तर उत्साह भने मरेकाे छैन। उनी नेपालमै कृषि पेसा गर्न चाहनेलाई काेरियामा सिक्ने प्रसस्त ठाउँ भएको बताउँछन् ।
आफू पनि नेपाल फर्केर अनार खेती गर्ने उनको धोको छ। पढेलेखेका र देशविदेश घुमेका कोरियालीले विदेशबाट अाउँने कामदारलाइ राम्रै व्यवहार गर्छन् । तर पुरानो सोच र विदेशीलाई हेर्ने दृष्टीकोण फरक भएका कोरियालीले गर्दा आफू हेपिएको अनुभव सुनाउँदै उनी भन्छन्, ‘हामीले धेरै कमाउने आशा राख्न हुन्न, कसरी मन खुशी हुन्छ ? कसरी खुशी रहन सकिन्छ त्यो हेर्नुपर्छ ।’
हाम्रो संवाद नजिकैबाट सुनिरहेका काभ्रेका सन्तोष घिमिरेको कृषिप्रतिको लगाव कम गज्जबको छैन। नेपालबाट कोरियाको कृषि प्रविधिबाट केही सिकेर नेपालमा व्यवसायिक कृषि पेशा गर्ने जोश बोकेका सन्ताेषालाई सुरुका दिनमा निकै गाह्रो भएकाे थियाे।
आफूले आशा गरेको जस्तो रोजगारदाता नभेटेपछी उनले दुई पटकसम्म रोजगारदाता परिवर्तन गरेका थिए। यसपछी उनले आफ्नै लगावको पेशा गाईपालन सम्बन्धि कोरियन प्रविधी सिक्न सकिने कम्पनी भेटाए ।
अहिले कारिब १ सय ७० वटा दुहुना गाइको पालनपोषण गर्दै आएका सन्तोष भन्छन्, ‘नेपालमा गएर गाई नै पाल्ने हो । यही काम सिक्नलाई दुई–दुई पटक रोजगारदाता परिवर्तन गरे। अहिले साेचे जस्तो ठाउँमा आइपुगेको छु । काम पनि मज्जाले सिकिसकेको छु ।’ नेपालमा कोरिया जस्तो भ्याक्सिनेशन र दाना पाउन गाह्रो पर्छ। यसकाे चिन्ता भने उनलाई रहेछ।
कोरियामा पनि कृषि क्षेत्रमा कम तलब हुने, उत्पादन कम हुने, मौषम तथा बजार मूल्यको उतार चढावले नयाँ पुस्ता याे पेशातर्फ अाकर्षित हुनसकिरहेका छैनन्। तर काेरियाकाे पछिल्लो आंकडाअनुसार शहर केन्द्रित बस्तिबाट गाउँ केन्द्रित कृषि पेशामा युवाको संख्या बढ्दै गएको देखिन्छ।
अहिले २० देखि ४० वर्ष समूहका युवा पुस्ता गाउँ फर्केर कृषिमा लगानी गर्ने क्रम बढ्दो छ।
२०१८ मा कोरियाको कृषि, खाद्यान्न तथा ग्रामिण मामिलासम्बन्धी मन्त्रालयको तथ्यांकले कारिब दुई लाख ५० हजार ३९ वर्षमुनिका युवा युवतीहरु कृषि पेशामा संलग्न भएको देखाएको थियो ।
यही तथ्यांकलाई आधार बनाएर अहिले कोरियाली सरकारले २० देखी ४० वर्षभित्रका युवा कृषकलाई व्यवासायको सुरुको तीन वर्षसम्म मासिक करिब आठसय ५० डलर बराबरको अनुदान दिने गरेको छ ।
देशभरिका विभिन्न आठवटा आवाशीय तालिम केन्द्रहरु खडा गरेर सहभागीहरुलाई निःशुल्क जग्गा दिन्छ। यसरी आफूले चाहेको कृषिबाली छनोट गरी उक्त जग्गामा फलाएको अनुभव संगालेपछि त्यस ज्ञानलाई आफूले चाहेको ठाउँमा गएर उपयोग गर्ने वातावरणसमेत मिलाएको छ ।
नेपाल सरकारले पनि यस्तै बिना लगानी र बिना जोखिम सरकारी रकम र प्रविधिको सहयोगमा कृषि व्यवसाय सम्बन्धी अभिमुखिकरण र व्यवहारिक योजना ल्याइदिएको भए बाबुराम गौतम र सन्तोष घिमिरेजस्ता इच्छाशक्ति भएका आम नेपाली युवाकाे परिवारकै साथमा रहेर आफ्नाे माटो हराभरा पार्ने सपना पुरा हुने थियो कि ?