नेपालको ग्रामिण भेगमा बसोबास गर्ने अर्धदक्ष युवा युवती हुन् वा शहरका शिक्षित व्यक्तिहरू जो कोहीको एउटै सपना हुन्छ, विदेश जाने अनि टन्न पैसा कमाउने। कतिको सपना सजिलै पुरा हुन्छ, कतिको बीचमै तुहिन्छ।
पछिल्लो समय नेपालमा रोजगारीको अवसर नभएको भन्दै युवाहरू विदेशिनेक्रम पनि बढ्दो छ। अहिले पनि नेपालबाट दैनिक १३ सय व्यक्ति रोजागारीका लागि विदेशिने गरेका छन्।
विदेशमा गएपछि टन्न पैसा कमाइन्छ र नेपाल फर्केर सहज जीवन बाँच्न सकिन्छ भन्ने आशा बोकेर विदेशिएका केही युवालाई कोरियाको राजधानी सोलमा भेट्ने मौका जुरेको थियो।
यीनै युवाहरूसँग हामीले गरेको कुराकानीको सार संक्षेपः
सुन्दर घर्तिमगरः रोल्पा जिल्लाको माडी गाँउपालिका घर भएका उनी एक वर्ष अगाडि टन्न पैसा कमाउने सपना बोकेर ईपिएसमार्फत कोरिया आए।
ईन्छानको एक कम्पनीमा उनी काम गर्ने गर्छन्। उनलाई भेट्न राति १० बजे पुग्दा भर्खरै कामबाट कोठा फर्किएका रहेछन्।
कोरियाको सोलबाट झण्डै साढे २ घण्टाको बस यात्रा पार गरेर आफूलाई भेट्न नेपाली आएको खबरले उनीमा खुसीको सीमा थिएन।
परिचयकै क्रममा मैले सोधे, ‘कहिले कोरिया आउनुभो?’
उनको जवाफ थियो, ‘ठ्याक्कै आजको दिन।’
उनले आफ्नो परिवारको विषयमा भन्दै गए, ‘बुवा वितिसक्नु भयो। दाइहरु कोही ईन्डिया, कोही कता लागे।’
प्लस टु पढ्दा पढ्दै विदेश जाने अनि टन्न पैसा कमाउने सपना बुनेपछि ईपिएस पढ्न थाले।
भाषा परीक्षामा पहिलोपल्ट फेल भए पनि उनले हिम्मत हारेनन्। अर्को वर्ष पास भए।
कोरिया आउने योजना बनाउँदा कस्तो सपना देख्ने गरिन्थ्यो। मेरो प्रश्नको हाँस्दै उनले रोचक उत्तर दिए, ‘अरूले निदाउँदा मात्र सपना देख्छन्। म त दिउँसै सपना देख्थेँ।’
नेपालमा हुँदा उनलाई लागेको थियो, ‘विदेशमा २-३ लाख त यसै कमाइन्छ। तर, कोरिया आएपछि उनलाई थाहा भयो, पैसा कमाउन धेरै लात र बात सहनुपर्ने रहेछ।’
अन्य आम नेपालीझै उनका लागि पनि कोरियामा भाषा नबुझेर हुने समस्या एकातिर छँदै थियो, अर्कोतर्फ काम नजान्दा साहुले गालि गरेर हैरान पार्ने।
सुन्दर बिहान ७ बजे उठ्छन्। हल्का केही खाने बित्तिकै कामका लागि कम्पनी दौडिहाल्छन्।
कम्पनीले कोठा खोजिदिए पनि तलबबाट भाडा कट्दो रहेछ। कम्पनीको काम नहुँदा ज्याला पनि काटिदो रहेछ।
उनी पहिले कम्पनीको कोठाहरुको सरसफाई गर्छन्। अनि काममा लाग्छन्। काम त्यति गाह्रो छैन। तर, दिनभरी उभिनुपर्दा उनको खुट्टा निकै दुख्छ। खुट्टाको दुखाईभन्दा पनि ससानो काम बिग्रिदा आफूसँगै कामगर्ने माथिल्लो तहका नेपाली दाजुहरुले नै कुरा लगाईदिएर कोरियनको गाली सुन्नु पर्दा भने उनलाई नरमाइलो लाग्छ।
साहुले कामदारलाई यति धेरै दुःख दिन्छन् भन्ने उनले कहिल्यै सोचेका थिएनन्।
उनलाई कामदार भएर विदेश बस्न पटक्कै मन छैन।
तर के गर्ने? पैसा कमाउने सपना बीचैमा तुहाएर नेपाल फर्कन सक्ने अवस्था पनि छैन, उनको।
राति ८ बजे काम छुट्छ। थाकेर कोठा आउँछन्। आफैं बनाएर खान्छन् अनि थकान बिसाउन एकछिन गितार बजाउँछन्।
त्यही गितारसँग आशुको ढिक्का बगाउँदै आफ्नो पीडा यसरी साट्छन्-
सुन साइली, साइली।
परदेशबाट म आउँला।
४० कटेऽऽसी रमाउँला।
रातिको १० बजे उनी सुत्न ओछ्यानमा पल्टिन्छन्।
यतिबेला उनको सपना फेरिएको छ। भन्छन्, ‘५० लाख जम्मा पार्छु अनि कहिल्यै विदेश नआउने गरि नेपाल फर्किन्छु। आफैं साहु भएर गाडीको ग्यारेज खोलेर बस्छु।’