कर्णालीकी काफलवाली

यी हुन् चोयाको डोकोमा ल्याएर कागजको सोलीमा काफल बेच्ने सुर्खेतकी यशोदा अधिकारी अर्थात् कर्णालीकी काफलवाली तस्विर: महेश विक्रम शाह।

कुनेबला तरकारीवाली चर्चामा थिइन् नेपालमा। यतिबेला त्यो सिजन सकिएर होला, उनी छायाँमा परेकी छिन्। अहिले पालो आएको छ- काफलवालीको। त्यो पनि अरू ठाउँकी हैन, कर्णालीकी। त्यसैले उनी भएकी छिन् कर्णाली काफलवाली।

उनको वास्तविक नाम यशोदा अधिकारी हो। उनी यतिबेला हरेक विहान सुर्खेतको लेकबेशी गाउँपालिकाको रतुबाट काफल ल्याउँछिन् र सुर्खेतको कालिञ्चोकमा बेच्छिन्।यशोदाको विशेषता भनेको काफल बोहोता, टपरी वा डालोमा हैन, डोकोमा ल्याउँछिन् र कागजको सोली बनाएर बेच्छिन्। उनको एक सोदी काफलको दाम ३० रूपैयाँ हो। 

सुर्खेतकी यशोदा अधिकारीलाई काफलवाली बनाउने श्रेय भने महेश विक्रम शाहलाई जान्छ। मदन पुरस्कार फेमका शाह यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रहरी प्रमुख छ्न। उनले नै डोकोमा काफल बेचिरहेकी यशोदालाई देखेर फोटो खिचे र यस्तो फेसबुक स्टाटस  बनाए- 
कर्णालीकी काफलवाली !!
एक बोहोता, एक टपरी र एक डालो काफल त सुनेको र देखेको पनि हुँ। तर एक डोको काफल भने जीवनमा पहिलोपटक देखें ।
सुर्खेतको कालिङ्ग चोकमा एकाबिहानै काफल बेचिरहेकी यशोदा अधिकारी ।

शाहको यो स्टाटसले यशोदालाई कर्णालीकी काफलवाली बनायो। अहिले उनी सामाजिक सञ्चालमा भाइरल भएकी छिन्। 

 

 

प्रकाशित मिति: : 2019-05-19 02:13:22

प्रतिकृया दिनुहोस्