बंगलादेशका राष्ट्रपति नेपाल आउँदै, यस्ता छन् भ्रमणको एजेण्डा

तस्बिरः एजेन्सी

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतले मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ । स्रोतका अनुसार बंगलादेशबाट प्रस्तावित मिति नोभेम्बर ११ देखि १४ रहेको छ ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रपति हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार दुई देशका प्रधानमन्त्रीको छलफलपछि पत्रकारहरुसँग बोल्दै बंगलादेशका विदेश मन्त्री शाहिदुल हकले दुवै प्रधानमन्त्रीहरुले ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने तत्परता व्यक्त गरेका छन् ।

बीबीआईएन अन्तरगत चारदेशहरु, बंगलादेश, भुटान, इण्डिया र नेपाल छन् । यी देशहरुवीच अन्तरदेशीय यातायात सञ्चालनका लागि यसअघि नै मोटर भेइकल एग्रिमेन्ट भइसकेको छ ।

बाकुमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले तीन देशवीच यातायात सञ्चालनका लासगि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिल्यै कुरा राखिसकेको भन्दै नेपाललाई पनि त्यसै गर्न आग्रह गरेकी थिइन् ।

पछिल्लो समयमा माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेघावाट बिजुली खरीद गर्न बंगलादेशले सहमति जनाइसकेको छ ।

यसबाहेक बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । यता बंगलादेशबाट मजदुरहरु नेपालका काम गर्न आउने क्रम पनि बढेको छ ।

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो । सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

प्रकाशित मिति: : 2019-10-28 17:29:50

प्रतिकृया दिनुहोस्