विरोध प्रदर्शनसामु झुक्यो हङकङ सरकार, विवादास्पद विधेयक निलम्बन

हङकङ, जेठ ३२

हङकङ सरकारले विवादास्पद विधेयक निलम्बन गर्ने निर्णय गरेको छ।

हङकङमा केही दिन यता चर्किएको विरोध प्रदर्शनका कारण प्रमुख कार्यकारी क्यारी लामले शनिबार प्रस्तावित विधेयक अनिश्चितकालका लागि निलम्बन गरिएको घोषणा गरेकी हुन्।

उनले कानुनविद तथा विज्ञसँग परामर्श गरेपछि यस्तो निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्।

समाचार एजेन्सीहरुका अनुसार उक्त विधेयक अघि बढाउनेबारे सरकारले कुनै समयसीमा राखेको छैन। यो वर्ष सो विधेयकका बारेमा कुनै निर्णय नहुने सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन्।

प्रमुख कार्यकारी लामले हङकङमा देखिएको संकट समाधान गर्न यस्तो निर्णय लिएको बताइन्। उनले विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुप्रति सहानुभूति प्रकट गर्दै ‘निकै दुःख लागेको’ उल्लेख गरिन् ।

सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका केही दिन यता हजारौं नागरिकले प्रदर्शन गर्दै आएका थिए ।

हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था प्रस्तावित विधेयकमा थियो । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए ।

यो प्रदर्शन सन् २०१४ को अम्रेला मुभमेन्ट पछिकै विशाल भएको बताइएको छ । (एजेन्सी)

प्रकाशित मिति: : 2019-06-15 13:59:32

प्रतिकृया दिनुहोस्