चर्चित गायक प्रेमध्वज प्रधानका कथा बिएलमा (भाग–१)
घुम्तीमा नआऊ है’ र ‘यो नेपाली शिर उचाली’ जस्ता कालजयी गीतका गायक प्रेमध्वज प्रधान, जुन बेला जन्मिएका पनि थिएनन्, उनका जिजुबुवा नारायणध्वजको सिन्धुपाल्चोकस्थित चौतारामा ठूलो धाक थियो।
नहोस् पनि कसरी! नारायणध्वज चौतारामा कहलिएका व्यापारी गनिन्थे। उनको भोट जाने बाटोमा कपडाको ठूलो पसल थियो। घरको कुरै छौडौं– चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको बेला चौतारामा प्रेमध्वजका जिजुबुवाको बुर्जाले छाएको घर थियो।
एकपल्ट चन्द्रशमशेर सिन्धुपाल्चोक घुम्न निस्किँदा दूरबिनबाट त्यो घर देखेर चकित परेका थिए। राणाकालमा राणाजीको घरबाहेक सर्वसाधारणलाई बुर्जावाला घर बनाउन प्रतिबन्ध लगाइएको थियो।
श्री ३ चन्द्रले तत्कालै आफ्नो सैनिकलाई आदेश दिए– घर मालिकलाई पक्रेर म कहाँ उपस्थित गराउनू।
आफ्नो घरमा सेना आएको देखेर व्यापारी दिमागका नारायणध्वजलाई यो बुझ्न गाह्रो थिएन– अब उनको परिवार श्री ३ चन्द्रको कोपाभाजनको शिकार हुँदैछ।
उनले जुक्ति निकाले। श्री ३ चन्द्रलाई फुक्र्याउने। सेनाले समातेर उनलाई चन्द्र कहाँ उपस्थित गराएपछि नारायणध्वजले प्रष्टीकरण दिए,‘ हजुर, यो विकट गाउँमा कहिलेकाहीँ हजुरहरू राज हुँदा बस्न असुविधा नहोस् भनेर बनाएको।’
उनको भनाईबाट श्री ३ चन्द्र कहाँ गल्नेवाला थिए! उनले आदेश दिए, ‘घरको संरचना तुरुन्त भत्काउनू।’
यो काण्डमा नारायणध्वज आफ्नो र परिवारको ज्यान त जोगाउन सफल भए तर घर जोगाउन सकेनन्।
चन्द्रको उर्दी पाएको केही घण्टाभित्र सैनिकहरूले प्रेमध्वजको पुर्खाले बनाएको त्यो बुर्जाघर हेर्दाहेर्दै भत्काईदिए।
वास्तवमा प्रेमध्वजको जन्म हजुरबुवाले चौतारामा बनाएको त्यही बुर्जाघर भत्किएपछि पुनः बनेको एउटा साधारण घरमा भएको थियो।
प्रेमध्वजका जिजुबुवा संगीतका ठूला पारखी थिए। उनमा शास्त्रीय संगीतको चेत थियो।
प्रेमध्वजलाई अहिले पनि आफ्नो जिजुबुवासँग जोडिएको एउटा किस्सा याद छ। भन्छन्, ‘मेरो हजुरबुवा (उत्तरध्वज) को पाटनस्थित एउटा घरमा बिहेको कुरा चलेको थियो। केटीपट्टिबाट खबर आएछ, काठमाडौंमा घर नहुने केटोलाई छोरी नदिने। यो सुनेर रिसाउनु भएका जिजुबुवा नारायणध्वजले असनको बांगेमुढामा घरै किन्नु भएको थियो रे।’
प्रेमध्वजका हजुरबुवा उत्तरध्वज पनि संगीतका पारखी थिए। उनले संगीतको तलतल मेटाउन गोपाल नाम गरेका एक अनाथलाई शास्त्रीय संगीत सिकाएका थिए। जसको आवाज उनी बुढेसकालमा चौतारास्थित आफ्नो घरमा बसेर सुन्ने गर्थे।
प्रेमध्वजले संगीतको पहिलो राग पनि उनै गोपालको मुखबाट सुनेका थिए।
***
प्रेमध्वजको बुवा रत्नध्वज र आमा प्राणदेवीको कहानी पनि रोचक छ। रत्नध्वज व्यापारको सिलसिलामा काठमाडौंको घरमा बस्थे।
उतिबेला असनमा नाटक देखाउने एउटा मण्डली थियो। उनीहरू हरेक इन्द्रजात्राको दिन दरबार पुगेर नाटक देखाउने गर्थे। एकपल्ट त्यही नाटक मण्डलीमा रत्नध्वजको पनि छनोट भएछ।
नाटककै सिलसिलामा दरबार छिर्दा रत्नध्वजको आँखा जुधेछ, प्राणदेवीसँग। प्राणदेवी श्री ५ त्रिभुवनको आमाको निकै मन परेकी दासी। उनी दरबारमै बसेर शास्त्रीय संगीत तथा नृत्यको तालिम लिने गर्थिन्।
उनी १८ वर्ष नपुग्दै राजा त्रिभुवनकको आमाको निधन भयो र प्राणदेवी दरबार छोड्न बाध्य भइन्।
प्राणदेवीसँग दरबारमा भएको पहिलो भेटमै रत्नध्वजले मुटु दिइसकेका थिए। त्यसैले उनी दरबारबाट बाहिर आएपछि रत्नध्वजले घरका अन्य सदस्यलाई पत्तै नदिइ प्रेम विवाह गरे। प्राणदेवी नेवार समूदायको भएको हुनाले आफ्नो विवाहको विषयलाई लिएर घरमा त्यति ठूलो आपत्ति नहोला भन्ने लागेको थियो, रत्नध्वजलाई।
तर, भयो उल्टो। उनको बिहेलाई लिएर घरमा लफ्डा सुरु भयो। प्राणदेवीको थर तुलाधर थियो।
त्यतिबेला प्रधानले छोएको तुलाधरले नखाने, तुलाधरले छोएको प्रधानलाई नहुने। प्रधान र तुलाधरबीच ठूलो खाडल थियो।
बिहेलगत्तै प्रेमध्वजका बुवा रत्नध्वजले आमालाई चौतारास्थित पुख्र्यौली घर पुर्याएका थिए। तर, हजुरबुवाले आफ्नो स्वीकृतिबेगर भएको विवाहलाई स्विकारेनन्।
लगातारको दबाबपछि प्रेमध्वजका बुवाले १९९४ सालमा जैसीदेवलअगाडि चिकमंगलमा बसोबास गर्ने गंगादेवी मास्केसँग दोस्रो बिहे गरे। घरको माहोल बिग्रँदै गयो।
अवस्था यस्तो बन्यो, २००१ सालमा प्रेमध्वजको बुवा र आमाबीच पारपाचुके भयो।
‘मैले थाहा पाएअनुसार पारपाचुके हुँदा आमालाई ७ सय रुपैयाँ दिइएको छ,’ प्रेमध्वज सम्झन्छन्।
बुवा र आमाको पारपाचुके नहुँदासम्म प्रेमध्वज हजुरबुवासँग चौतारामा बस्थे।
‘तर, आमा र बुवाको सम्बन्ध बिच्छेद भएपछि म काठमाडौं आए। त्यतिबेला म ६ वर्षको थिए। आमा मलाई च्यापेर केही दिन माइत बस्नु भयो। यसपछि हामी काठमाडौंमा घर हुँदा हुँदै महाबौद्धको असं बहालमा डेरा गरी बस्न थाल्यौं,’ ८२ बर्षिय गायक भन्छन्।
प्रेमध्वज असं बहालको डेरामा बस्दा बुवा रत्नध्वज आमालाई भेट्न आइरहन्थे। रत्नध्वजको दिमाग पनि व्यापारी जस्तै थियो।
‘एक दिन डेरा आएको बेला आमालाई फकाउनु भएछ। पैसा यत्तिकै घरमा राख्यौ भने खर्च हुन्छ। मलाई देऊ। एउटा गाडी किनिदिन्छु। गाडीको भाडाले तिमीहरूको गुजारा राम्रोसँग हुन्छ,’ उनी सम्झन्छन्।
प्रेमध्वजकी आमा निकै सोझी थिइन। परिवारको दबाबले पारपाचुके गर्नुपरे पनि उनी पूर्व श्रीमानलाई अझै विश्वास गर्थिन्। ‘आमाले अंशबन्डाको सबै पैसा बुवालाई फर्काइदिनु भयो। बुवाले घरभाडा तिर्न केही वर्ष पैसा दिनुभयो। त्यसपछि सबै बन्द भयो। आमाले अशंबन्डाबाट पाएको कुनै पैसा फिर्ता पाउनु भएन,’ उनी भन्छन्।
बुवाको त्यो हर्कतले विस्तारै प्रेमध्वजको घरको अवस्था यस्तो बन्यो, छोरा र आफ्नो जीवन रक्षाका लागि आमाले छिमेकीकहाँ गएर काम गर्न थालिन्। उनी पुतली बनाउन पोख्त थिइन। उनी यो काम पनि गर्थिन्। तर यति गर्दा पनि छोरा पाल्न उनलाई धौंधौं पर्यो।
यसपछि आमालाई छिमेकीहरूले सल्लाह दिएछन्। बुवा नभएको छोरा बिग्रिन्छ। छोरालाई बुवाको जिम्मा लगाऊ।
त्यतिबेला रत्नध्वजको न्युरोडमा कपडाको व्यवसाय थियो। उनलाई पनि आफू बाहिर गएको बेला पसलको हेरविचार गर्ने मान्छेको आवश्यकता परेको रहेछ।
प्रेमध्वजकी आमाले आफ्नो पूर्वपति कहाँ प्रस्ताव राखिछन्।
प्रेमध्वजका बुवाले दोस्रो बिहे गरेपनि त्यतिबेलसम्म कान्छी आमाबाट सन्तान भएको थिएन। ‘मलाई काम दिने विषयमा सायद उहाँहरू सँग कुरा भएको थियो होला। म सानैदेखि कम बोल्थे। त्यसैले मलाई काममा राख्ने सहमति बन्यो,’ उनी सम्झन्छन्।