कोरियामा नेपाली श्रृंखला-२
रौतहटका राम यादव बिहान ६ बजे उठ्छन् र आँखा मिच्दै काममा निस्कन्छन्। दिनभरी उभिएर कम्प्यूटर ल्यापटप यताबाट उता सार्छन्।
थुचुक्क बस्न नपाई बेलुकाको ७ बज्छ अनि थकित हुँदै कोठामा आउँछन् र खाटमा डंग्रङ्ग पल्टिन्छन्।
बच्चा बेलामा गाँउमा साथीसँग रमाईलो गर्दै गाई बाख्रा लिएर जंगल गएका रमाईला पल सम्झन्छन्। त्यही सम्झनाले थकाई बिर्साउन खोज्दै उठेर केही खानेकुरा खान्छन्, अनि सुत्छन्।
इपिएस मार्फत रोजगारिका लागि दक्षिण कोरियामा ११ महिनादेखि पसिना बगाइरहेका रामको दैनिकी यसरी नै बितिरहेको छ।
रौतहटमा जन्मे हुर्किएका उनले एसएलसी मात्र पास गरेका छन्। घरको कमजोर आर्थिक अवस्थालाई केही हदसम्म सहयोग जुटाउन कामको खोजीमा लाग्न थाले।
काम त्यति सजिलै काम कहाँ पाईन्थ्यो र। जति भौतारिए पनि काम नपाएपछि उनले कोरियन भाषा पढ्न थाले। नभन्दै भाषा परीक्षा पास भएर २ वर्षमै दक्षिण कोरिया पुगे।
दक्षिण कोरियाको राजधानी सोलबाट २ घण्टा टाढा ईन्चोन भन्ने ठाउँमा कम्प्युटर, ल्यापटप सम्वन्धी कम्पनीमा काम गर्छन्।
कम्पनी नजिकै उनको कोठा छ। कोठा भाडा र खान खर्च उनको तलबबाटै काटिन्छ। अरू यता उताको खर्च कटाउँदा उनले महिनामा २ लाख बचाउँछन्।
राम कोरियामा त्यत्ति बेखुसी पनि छैनन्। ‘आफ्नै शुरमा रमाउने बानी भएर होला मलाई अहिलेसम्म त्यस्तो बोर फिल भएको छैन,’ उनले बिएल नेपालीसँग भने।
कोरिया जाने बेला देखेको सपना र कोरियाको जिन्दगी उनलाई आकास जमिनको फरकजस्तो लाग्छ।
‘कोरिया जाने बेला देखेको सपना र अहिले एकदमै फरक छ। नेपालमा काम ठगेर हल्लिएर खाएको बानी यता बिहानदेखि रातिसम्म मेसिनझै खटिनुपर्छ। सपना त आखिर सपनै त हो,’ उनले भने।
कोरिया आउनासाथ उनले फलाम फ्याक्ट्रीमा काम गर्नुपरेको थियो। काम साह्रै गाह्रो भएकाले अलि दिन आत्तिए।
‘यति कठिन काम पनि हुन्छ भन्ने मैले सपनामा पनि सोचेको थिईनँ,’ उनले भने, ‘यति गाह्रो भयो कि ४ दिनमै काम छाडेँ,’ उनले अध्यारो मुख बनाउँदै आफ्नो विगत सम्झिए।
यादवले काम गर्ने कम्पनीमा १५ जना नेपाली छन् भने बाँकी सबै विदेसी। ‘मान्छे न हो सधैं देखादेख हुनेसँग बोल्न मन लाग्छ। तर, भाषा आउFदैन अनि लाटोकोसेरो जस्तै मुख हेरेर बस्नुपर्छ,’ उनले मुख विगार्दै भने।
कहिले काँही काम बिग्रदा मालिकले ‘खानै नपाएर गरिब देशबाट आएको’ भन्दै कराउँदा उनलाई अहिले नै नेपाल फर्किहालौं जस्तो लाग्छ।
नेपालमा धेरै परिवर्तन भएका छन्। अब नेपालमा काम गर्न खोज्नेलाई सरकारले आफ्नै गाँउठाउमा काम पनि दिने भएको छ नि, भन्दा उनले बिचमै कुरा काटे।
‘यो सबै गफ मात्र हो। प्रगति कही कतै केही भएको छैन।’
मैले पुनः प्रश्न गरेँ-तपाईं कोरिया हुनुहुन्छ नेपालमा भएको प्रगति तपाईंलाई थाहा नभएको पनि हुनसक्छ नि।
रौतहटको गुरूणा नगरपालिका धमौरा गाउँका २२ वर्षे लाग्ने गरी भने,‘देशको थाहा नभए पनि घरको त थाहा हुन्छ नि, खै त मेरो घरमा केही प्रगति भएको छैन। मेरो घरमा केही भएको छैन भने अरूको घरमा पनि त उस्तै होलाई नि, हैन?’
नेपालमा घुसखोरीलाई कारबाही गरे देश आफैं सुध्रिनि भन्दै उनले देशलाई भष्ट्राचारले बिगारेको तर्क गरे।
निकै कम र विस्तारै बोल्ने रामले फेरि जोस्सिँदै भने,‘हाम्रो गाँउको पञ्चायतमा धेरै नेता छन्। उनीहरूले गाँउ विकासको लागि आएको पैसा सबैजसो बाढेर खान्छन्,’ उनले अगाडि भने,‘गाँउका पञ्चायती जस्तै शहरका मन्त्रीले पनि त विकासको लागि छुट्याएको पैसा यसैगरी बाँढेर खादा हुन् नि हैन र?’