मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द

तस्बिरः एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ ।

आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।

शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएकायादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।

भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ ।

गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो।

उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (बीएसएफ)बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ ।

उनले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सीमा सुरक्षा बलमा रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन्। त्यतिबेला उनको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन्।

उम्मेदवारी रद्द भएपछि बुधबार उनले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताएका छन्। षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ।

प्रकाशित मिति: : 2019-05-01 22:18:02

प्रतिकृया दिनुहोस्