शनिबार, ११ जुलाई २०२६

युरोकप सम्झाउँदै फ्रान्सलाई यामालको चुनौतीः अब डराउने पालो उनीहरूको

News Image
• • •

स्पेनका युवा फरवार्ड लामिन यामालले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन्।

स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको स्मरण गर्दै उनले यसपटक पनि प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताए।

फ्रान्सविरुद्धको सेमिफाइनल खेलअघि टीभी इस्पानासँग कुरा गर्दै यामालले दुई ठूला टोलीबीचको भिडन्त हुने भए पनि स्पेनमा कुनै डर नरहेको बताएका हुन्।

‘यदि कसैले डराउनुपर्छ भने त्यो उनीहरू (फ्रान्स) हुन्। हामीले युरोमा उनीहरूलाई हराएका थियौं। हामी दुवै उत्कृष्ट टोली हौं, विश्वका उत्कृष्ट टोलीमध्ये पर्छौं। अब के हुन्छ हेर्न बाँकी छ, तर हामीलाई कुनै डर छैन,’ यामालले भने।

बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल पुगेपछि स्पेनी टोली निकै उत्साहित रहेको उनले बताए। उनले लगातार दोस्रो ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको स्पेन अब फाइनलसम्म पुग्ने लक्ष्यमा रहेको उल्लेख गरे।

‘फेरि सेमिफाइनलमा पुग्दा हामी निकै खुसी छौं। अब हाम्रो लक्ष्य फाइनलसम्म पुग्नु हो,’ उनले भने।

बेल्जियमविरुद्धको खेलमा स्पेनले राम्रो प्रदर्शन गरेको दाबी गर्दै यामालले टोली हाबी भए पनि बेल्जियमले अवसरको सदुपयोग गरेको बताए। ‘हामी धेरै राम्रो टोली थियौं। तर हामी उत्कृष्ट खेलिरहेका बेला पनि बेल्जियमले गोल गर्न सफल भयो,’ उनले भने।

यामालले स्पेनविरुद्ध धेरै टोलीले रक्षात्मक रणनीति अपनाउने भएकाले खेल कठिन हुने पनि बताए। ‘कुनै पनि टोली हामीविरुद्ध खुलेर खेल्न आउँदैनन्, सबै पछाडि बसेर डिफेन्ड गर्छन्। यसले खेल कठिन बनाउँछ, तर अन्ततः हामीले जित निकाल्न सफल भयौं,’ उनले भने।

बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा स्पेनका लागि फाबियान रुइज र वैकल्पिक खेलाडी मिकेल मेरिनोले गोल गरेका थिए। बेल्जियमका चार्ल्स डी केटेलेरेले एक गोल फर्काए पनि स्पेन २–१ ले विजयी भएको थियो।

खेलमा गोलरक्षक थिबो कोर्टोइस चोटका कारण मैदान छाड्न बाध्य भएका थिए। स्पेनका रुइजले डानी ओल्मोको प्रहार कोर्टोइसले रोक्न नसकेपछि आएको बलमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

बेल्जियमले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो। केभिन डी ब्रुयनाको पासमा टिमोथी कास्टान्येको क्रसलाई डि केटेलेरेले हेडमार्फत गोलमा परिणत गरेका थिए। उक्त गोलसँगै स्पेनका गोलरक्षक उनाइ सिमोनको विश्वकपमा लगातार गोल नखाएको कीर्तिमान यात्रा ५६० मिनेटमा रोकिएको थियो। उनले सन् १९९० को विश्वकपमा इटालीका वाल्टर जेङ्गाले बनाएको ५१७ मिनेटको कीर्तिमान तोडेका थिए।

खेलको ७१औं मिनेटमा कोर्टोइस घाइते भएपछि बेल्जियम थप समस्यामा परेको थियो। उनको स्थानमा आएका सेन लामेन्सले पाउ क्युबार्सीको लामो दूरीको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गर्दै स्पेनलाई जित दिलाएका थिए। यो जितसँगै स्पेनको अपराजित यात्रा ३६ खेल पुगेको छ।

कोलम्बियासँग पराजित भएपछि स्पेनले लगातार ३६ खेलमा हार बेहोरेको छैन। यो अर्जेन्टिनाले सन् २०१९ देखि २०२२ सम्म कायम गरेको ३६ खेलको अपराजित यात्रासँग बराबरी हो। अब स्पेन विश्व कीर्तिमान बनाएको इटालीको ३७ खेलको अपराजित यात्राभन्दा एक खेल मात्र टाढा छ।

अब विश्वकपको सेमिफाइनलमा स्पेनले उपाधि दाबेदार फ्रान्सको सामना गर्नेछ। यो खेललाई प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित भिडन्तका रूपमा हेरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!