शुक्रबार, १९ जुन २०२६

पेनाल्टीले हारबाट जोगियो दक्षिण अफ्रिका, चेक गणतन्त्रसँग बराबरी

फाइल तस्बिर
पेनाल्टीले हारबाट जोगियो दक्षिण अफ्रिका, चेक गणतन्त्रसँग बराबरी
• • •

 फिफा विश्वकपअन्तर्गत समूह ‘ए’ मा दक्षिण अफ्रिकाले अन्तिम समयमा गोल फर्काउँदै चेक गणतन्त्रसँग १–१ को बराबरी खेलेको छ। खेलको सुरुवातमै पछि परेको दक्षिण अफ्रिकाले अन्त्यतिर पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै महत्वपूर्ण एक अङ्क सुरक्षित गरेको हो।

खेलको छैटौँ मिनेटमै चेक गणतन्त्रले अग्रता बनाएको थियो। एडम ह्लोजेकको क्रसलाई अलेक्जेन्डर सोज्काले मिलाइदिएपछि मिखाल सादिलेकले गोल गर्दै टोलीलाई सुरुवाती बढत दिलाउनुभयाे। चेक टोलीले सुरुवाती समयमै आक्रामक खेल प्रस्तुत गरे पनि त्यसपछि थप गोल गर्न भने सफल हुन सकेन।

पहिलो हाफमा अपेक्षाकृत कमजोर देखिएको दक्षिण अफ्रिकाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍याे। लगातार दबाब सिर्जना गरेको दक्षिण अफ्रिकाले खेल सकिन केही मिनेट बाँकी रहँदा बराबरी गोलको अवसर पाएको थियो। चेक गणतन्त्रका पाभेल सुल्कले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गर्नुभएपछि रेफ्रीले पेनाल्टी प्रदान गर्नुभयाे।

उक्त अवसरमा टेबोहो मोकोइनाले कुनै गल्ती नगरी गोल गर्नुभयाे र खेल १–१ को बराबरीमा ल्याउन सफल हुनुभयाे। मोकोइनाको यो गोल दक्षिण अफ्रिकाका लागि विश्वकपमा १६ वर्षयताकै पहिलो गोलसमेत बनेको छ।

बराबरीपछि दुवै टोलीले प्रतियोगितामा पहिलो अङ्क जोड्न सफल भएका छन्। यसअघि उद्घाटन खेलमा पराजित भएका कारण दक्षिण अफ्रिका र चेक गणतन्त्र दुवै समूह तालिकामा दक्षिण कोरिया र सह–आयोजक मेक्सिकोभन्दा दुई अङ्कले पछि रहेका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक ह्युगो ब्रुसले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्नुभयाे। उहाँले खेलाडीहरूको मानसिकता र संघर्षशीलताले आफूलाई प्रभावित बनाएको बताउँदै यही प्रदर्शन कायम रहे आगामी खेलमा दक्षिण कोरियालाई पराजित गरेर नकआउट चरण पुग्ने सम्भावना रहेको उल्लेख गर्नुभयाे।

यता, चेक गणतन्त्रका प्रशिक्षक मिरोस्लाभ कुबेकले नतिजा अपेक्षाअनुसार नभए पनि आफ्ना खेलाडीहरूले मैदानमा पूर्ण समर्पणका साथ प्रदर्शन गर्नुभएकाे प्रतिक्रिया दिनुभयाे।

अब समूह चरणको आगामी खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने चेक गणतन्त्रले मेक्सिकोको चुनौती सामना गर्नेछ। समूह ‘ए’ को नकआउट यात्रा तय गर्न दुवै टोलीका लागि आगामी खेल निर्णायक बन्ने अपेक्षा गरिएको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!