शनिबार, १४ नोभेम्बर २०२६

विश्वासको मत लिन बैठक बोलाएर मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

News Image
• • •

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्।

विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

उनले राजीनाको घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए।

पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा घोषणा गरेको मुख्यमन्त्री यादवले बताए।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको थियो।

नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यस्तै ,सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री यादवले राजीनामा दिएसँगै सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ।

प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!