भुटानमा 'घो' र 'किरा'मा दशैं : राजा केशरले लगाइदिए टीका

दशैको टीका लगाइदिदै भुटानी राजा केशर । तस्बिर सौजन्य : राजा केशरको फेसबुक पेज ।

भुटानका राजा जिग्मे केशरले हिन्दू धर्मवालम्वी भुटानी नागरिकलाई टीका लगाइदिएका छन् । 

राजधानी थिम्पूको कुइन्सेलफोद्रङस्थित देवी पञ्चायन मन्दिरमा उनले मंगलबार टीका लगाइदिएका हुन् । 

राजा केशरको हातबाट टीका लगाउन देशका विभिन्न भागबाट ठूलो संख्यामा हिन्दू धर्मवालम्वी सर्वसाधारण भुटानीहरू देवी पञ्चायन मन्दिर पुगेका थिए ।

 राजाबाट ढिलै भए पनि हिन्दुहरूको धार्मिक स्वतन्त्रताको सम्मान भएको छ । 

घो र किरामा सजिएर त्यहाँ पुगेका हिन्दूहरूलाई उनीहरूको जातीय र धार्मिक भेषभूषामा टिका थाप्न भने बन्देज लगाइएको थियो । यो दृश्य भने अलि नमिलेको जस्तो देखिएको थियो । 

राजा केशरका बाबु तत्कालिन राजा जिग्मे सिंग्मेलाई हिन्दू धर्मवालम्वी नेपाली मूलका भुटानीलाई देश निकाला गरेर धार्मिक स्वतन्त्रतामाथि धावा बोलेको आरोप लागेको थियो । त्यही बेला यो मन्दिर पनि भुटानी जिग्मे सत्ताको कोपभाजनको शिकार भएको थियो ।

बाबुले स्वेच्छाले सत्ता छोडेपछि राजा केशरले मन्दिरको जिर्णोद्धार गरेर यही अक्टोबर १ मा हिन्दू समुदायलाई हस्तान्तरण गरेका थिए । त्यहाँको सरकारले यसलाई राजाका तर्फबाट हिन्दू समुदायलाई उपहार भनेको थियो ।

'घो र किरामा दशै टीका- योभन्दा हाँस्यास्पद अरू के हुन सक्छ र ?

राजा केशरको यो टीका प्रकरणले भुटानिभत्र र भुटानबाट निर्वासित नेपाली मुलका भुटानीमा मिश्रित प्रतिक्रिया मिलेको छ । केहीले यसलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूको भनाइ छ - 'राजाबाट ढिलै भए पनि हिन्दुहरूको धार्मिक स्वतन्त्रताको सम्मान भएको छ । यसले एक किसिको सकारात्मक सन्देश जान्छ ।' 

तर, योभन्दा भिन्न बिचार बोक्ने भुटानीहरूले यस टीका प्रकरणलाई राजा केशरको नाटक भनेका छन् । उनीहरूको विचारमा यो हिन्दुहरूलाई सम्मान गरेजस्तो देखाएर संसारका आँखामा छारो हाल्ने केशरको रणनीति मात्र हो । उनीहरूको प्रश्न छ- 'घो र किरामा दशै टीका- योभन्दा हाँस्यास्पद अरू के हुन सक्छ र ?

 

 

प्रकाशित मिति: : 2019-10-09 09:31:10

प्रतिकृया दिनुहोस्