जीवन भनुँ त घात छ
मृत्यु भनुँ त सास छ
दोधारमा बाँचु कति
हर गीतमा चित्कार छ
निकै अघिदेखि सुन्दै आएको नाम हो, नर्बु छिरिङ लामा। तथापि वरिष्ठ संगीतकार, एरेन्जर नर्बु दाइसँग प्रत्यक्ष भेट्ने मौका यसअघि कहिल्यै मिलेन। यसपटक त्यो अवसर जुराइ दिए वरिष्ठ बाँसुरीवादक, संगीतकार सुशिल विश्वकर्माले।
सुशिल दाइ आफैँमा सांगीतिक क्षेत्रका एक हस्ती। जसले सुनाए, ‘नर्बु छिरिङलाई मैले गुरु मान्छु। हामी उहाँलाई आपा भनेर बोलाउँछौँ।’ यति सुनेपछि व्यस्तताका बावजुद पनि समय निकालेँ। उसै पनि त सुशिल दाइले भनेपछि नाइँ भन्ने शब्द मसँग हुँदैन।
शनिबार दिउँसो हामी दुई भाइ यात्रारत भइरह्यौँ नर्बु दाइ बसिरहेको ठाउँ नभेटाउन्जेल। सडक किनाराका पसले र बटुवाहरूसँग सोध्दै गरेर हामी पुग्यौँ ललितपुरको महालक्ष्मी ४, सीतापाखा, सुन्दरबस्तीस्थित दाइको घरमा।
सानो चिटिक्क परेको घर। घरमा नर्बु दाइ र भीमु भाउजु मात्रै छन्। घरमा साथ दिने अर्को भन्नु उही पियानो छ। जसले सन्तान सरह नै माया पाएको छ।
हामीलाई लिन आधी बाटोसम्मै आइपुगेका थिए दाइ। म सोचिरहेको थिएँ, ‘मान्छेको जिन्दगी पनि एक हिसाबले आधीबाटो नै त हो। जहाँ कल्पना गरिएका कैयौं कुराहरू अधुरै रहन्छन्। कैयौँ सपनाहरू देख्न नपाउँदै छोडिसक्नुपर्ने हुन्छ धर्ती। न त भोगाइका पलहरूलाई व्यवस्थित ढंगले सम्झिन सकेको हुन्छ, न त भविष्यका योजनाहरूलाई नै राम्ररी थन्क्याउन सकिरहेको हुन्छ मान्छे। तर, पनि मान्छेका महत्वाकांक्षा र दम्भका भकारीहरू उस्तै हुन्छन्।
नजानिँदो पाराले अहंकार धर्साहरू मोडैपिच्छे सलबलाइरहेकै हुन्छन्। मान्छेले ओढिरहेको आडम्बरको बाहिरी खोल र भित्री पाटो अर्कै हुन्छ। यो जगतमा कैयौँ छन् यस्ता पात्रहरू, जो धन सम्पति र शक्तिको आडमा देखाइरहेका हुन्छन् रवैया।
यस्तो परिवेशमा आडम्बर, छद्मभेषिता, आत्मश्लाघाको च्यादर ओढेर परेड खेलिरहेका पात्रहरूको बीचमा एक अपवाद हुन् नर्बु छिरिङ लामा। जो हेरिरहेका हुन्छन् दुनियाको तमासा। मनन् गरिरहेका हुन्छन् समय र परिवेशको घेरालाई। र, भनिरहेका हुन्छन्, ‘यहाँ गर्नुपर्ने नै कर्म हो। कर्म गर्न नखोजेर आजको मान्छे खोजिरहेको छ चाँडै नै चर्चामा आउन बाटो।’
एक शान्त वातावरण, मौनता छाइरहेको घरको परिवेश। उनी कुनै लेखक पत्रकारसँग अन्तर्वार्ता दिन मान्दैनन्। ‘दाइ, किन यस्तो?’, म जिज्ञासा राख्छु। बडो शालिन र लजालु भाव प्रकट गर्दै उत्तर आउँछ, ‘मेरो सुरुदेखिकै बानी हो। मलाई चर्चामा आउन मन लाग्दैन। त्यसैले कहिलेकाहीँ समूहमा फोटो खिच्नुपर्ने भयो भने पनि पछाडि गएर उभिन्छु।’ उनको भनाइमा कुनै बनावटीपन थिएन। एक इमानदार, स्वाभिमानी स्रष्टा।
एकछिन मौनता छाउँछ। एकाएक तरङ्गित बनाइदिन्छन् परिवेश, जब उनी पियानोमा औला सोझ्याउँदै निकाल्न थाले सङ्गीतको मिठो धुन। उनी बैठक कक्षमा रहेको त्यही पियानोको छातीमा प्रेमपूर्वक विस्तारै मुसार्छन् र निकाल्छन् मन मुटुलाई स्पर्स गर्ने धुनहरू। जसको एक मात्र श्रोता बनिदिन्छिन्, श्रीमती भीमु लामा।
कहिलेकाहीँ कुनै धुन चित्त नबुझ्दा बीचैमा छोडिदिन्छन् उनी। यस्ता कतिपय धुनको साक्षी बन्दै आएकी श्रीमती भीमु लामा उनको संगीत सुनेर उत्तिकै आनन्द लिइरहेकी हुन्छिन्।
एक समय थियो। केही मन मिल्ने साथीहरू थिए। फकीरको जस्तो जिन्दगी थियो। दिनरात उही गीतसंगीतका कुरा हुन्थे। त्यही काम। त्यही चर्चा। त्यस्तैमा बित्थे अधिकांश दिनहरू। उसो त अहिले पनि उनको समय व्यतीत गर्ने भनेकै उही पियानोमा औँला नचाउँदै नयाँनयाँ धुनको सिर्जना गर्नु नै हो।
तथापि पुराना मित्रहरूमा केहीले नेटो काटेर पुगिसके क्षितिज पारि। बाँचिरहेकाहरूसँग पनि धेरै भयो भेट हुन नसकेको। मनभरि सम्झना बोकेर पियानाेमा विभिन्न धुन निकालिरहन्छन् उनी। एक भावुक मन। सेन्टिमेन्टल गीतहरू नै बढी रुचाउने उनी एकान्तमा गुनगुनाइरहन्छन् आफैँले सङ्गीत सिर्जना गरेको दिनेश अधिकारीद्वारा लिखित गीत, जीवन भनुँ त घात छ .....। भजन शिरोमणी भक्तराज आचार्यको स्वरमा सजिएको त्यतिबेलाको निकै नै चर्चित गीतमध्येको एक थियो यो गीत पनि।
गीतले भनेझैँ पछिल्लो समय जताततै चित्कार मात्र छ। भाँतीभाँतीका चित्कार बोकेर दौडिरहेको छ यहाँ मान्छे। कतै शक्तिमा पुग्न नसक्दाको चित्कार छ। कतै रातका रात चर्चाको शिखर छुने सपनाको चित्कार छ। कतै भ्रष्टाचारको पर्दा उघारिने संकेत पाउँदाको चित्कार छ। अन्याय अत्याचार सहनु पर्दाको चित्कार उस्तै छ। यो दुनियाँमा सबैभन्दा बढी त मानव मानव बन्न नसक्दाको चित्कार छ। त्यसैले त शान्तिका पक्षधर सङ्गीतकार लामा सङ्गीतलाई मानव जीवनको सर्वोत्तम औषधिका रुपमा ठान्छन्।
त्यस्तै भक्तराज आचार्यको स्वरमा सजिएका रत्नसमशेर थापाका शब्दहरूमा पनि उनैको सङ्गीत रहेको छ। ‘किन फेरि माया सम्झी चर्किन्छ तन...’ बोलको यो गीत चलचित्र भाग्य रेखामा समावेश गरिएको थियो। जुन गीत त्यतिखेर अधिकांशको ओठमा झुण्डिएको गीतहरूमध्येको एक हो।
यस्ता करिब दुई दर्जन जति कालजयी गीतमा उनले सङ्गीत दिएका छन्। हजारको संख्यामा पुगिसकेको हुनुपर्छ उनले एरेन्ज गरेका गीतहरू पनि। कसकसका गीतमा उनले एरेन्ज गरे, कुनै रेकर्ड छैन।
संगीतको बजार खोज्दै २०२७ सालमा काठमाडौंकाे खाल्डोमा झरेका उनले त्यसै वर्ष सुरु गरे रेडियोमा टेक वेसिसको जागिर। ती पल सम्झिँदै उनी सुनाउँछन्, ‘हाम्रो पालामा रेकर्डिङको काम निकै गाह्रो थियो। एउटै गीत रेकर्ड गर्न ५-६ घन्टा लाग्थ्यो। अहिलेको जस्तो सिस्टम थिएन। तथापि त्यो बेलाको जस्तो आनन्द अहिले छैन। वान टाइम गीत रेकर्डिङमा गीतमा भिज्न पाइन्थ्यो। यसरी भिज्न पाउँदाको आनन्द छुट्टै हुन्थ्यो। समय बितेको पनि पत्तै पाइँदैन थियो।’
त्यतिबेला एउटा गीतमा बाजा बजाएको पारिश्रमिक पनि थोरै थियो। भायोलिन, पियानो लगायतका केही बाजा बजाउँथे उनी। विगत सम्झिएर भन्छन्, ‘मेरो बसाइ ब्रह्म टोलमा थियो। संघर्षका ती दिनहरू पनि बडो आनन्दकै थिए। गीतसङ्गीतबाट आनन्द पाइरहेकै हुन्थेँ।’
लामो समय रेडियोमा टेक वेसिसमा काम गरेका लामाले रेडियो छोडेपछि म्युजिक नेपालमा काम गर्न सुरु गरे। त्यहाँ पनि लामो समय व्यतीत गरे।
कुनै समयका निकै नै लोकप्रिय एरेन्जर, सङ्गीतकार हुन्, उनी। सङ्गीत संयोजन गर्दा स्वाध्याय र अभ्यासकै भरमा पाश्चात्य शैली पनि मिसाए। जसले अझ बढी चर्चित बनायो। उसो त अहिले पनि प्रायजसो गायकगायिका र सङ्गीतकारहरू यदाकदा पुगिरहेकै हुन्छन् उनकोमा। उनी चुप लागेर बसेका छैनन्। उत्तिकै सक्रिय छन्। तर, कोरोना कालपछि घरबाहिर निस्केका छैनन्।
सामवेदलाई सङ्गीतको सबैभन्दा पुरानो ग्रन्थका रुपमा लिइन्छ। परमात्मामा लिन भएका महापुरुषहरूले पनि संगीतलाई आत्मसाथ गरेका उदाहरणहरू उल्लेखित कैयौं ग्रन्थहरू प्रकाशित छन्। उसो त कैयौं लेखकहरूले ब्रह्मा र शिवलाई सङ्गीतज्ञका रुपमा अर्थ्याएका छन्। सरस्वतीका हातको विणा र कृष्णका हातको मुरलीले पनि सङ्गीतको महिमा दर्साएका छन्। सदियौंदेखि चल्दै आएको छ शास्त्रीय सङ्गीत। त्यही शास्त्रीय सङ्गीतभित्र रमाइरहेका छन् लामा पनि।
सङ्गीतले मानवलाई मात्र कहाँ हो र आनन्दित तुल्याइरहेको हुन्छ पशुपन्छिदेखि बोटबिरुवाहरूसम्मलाई पनि। यसरी यो जगतमा अहम् भूमिका निर्वाह गरिरहेको सङ्गीतले सानैदेखि छोएको हो लामाको मन मस्तिष्कलाई पनि। जुन बाजा छोयो त्यसलाई विस्तारै बजाउन थाले। अभ्यासमा तल्लीन भइरहे। विद्यालयमा पढ्दाताकादेखि नै साङ्गितिक गोरेटो पछ्याइरहे।
लजालु स्वभावका लामालाई कहिल्यै पलायन नामको लोभ। चर्चाविहीन जिन्दगी बाँच्न रुचाए। उनलाई जीवनभर न नामको भोक लाग्यो, न त दामको नै। सधैँभर भोक लागिरह्यो केवल उही संगीतको। जहाँ उनी आफ्नो जिन्दगी खोजिरहन्थे। र, आज पनि उसैगरी खोजिरहेका छन्।