अबुधावीको समुन्द्रमा ईनासको डान्स पार्टी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अबुधावी क्षेत्रले आयोजना गरेको रमाइलो क्रुज पार्टीमा युएईका नेपालीहरुले खुलेर मनोरञ्जन गरेका छन्।

अबुधावीको मरिना पोर्टमा आयोजित पार्टीमा युएईमा क्रियाशील नेपाली कलाकार, नेपाली समुदायका अगुवा एवम् संस्थाका पदाधिकारीहरु सहभागी भएका थिए।

कार्यक्रममा नेपाल आइडल सिजन– ४ का सहभागी रुपेश पोखरेलले दर्जन बढी रोमान्टिक गीत पस्केर पार्टीमा सहभागीहरुलाई नचाएका थिए। समुन्द्रको बिचमा आइतबार राति आयोजना गरिएको उक्त पार्टीमा नेपाली लोक भाकाहरुसमेत घनकेको थियो।

पार्टीको दौरान ईनास युएईका अध्यक्ष एमडी बोहरा, नेपाली समुदायका अगुवाहरु नरेश सेन, निर्मल पोखरेल, खेमराज बस्नेत, कृष्ण गौतमलगायतले ईनास अबुधावी क्षेत्रीय समितिका पदाधिकारिहरुलाई ओहदाको प्रमाणपत्र प्रदान गरेका थिए।

आयोजक ईनास अबुधावीका अध्यक्ष अस्मत घिमिरेले पार्टीमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै धेरै मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्ने बताएका थिए।

युएईमा सन २०१३ देखि ईनास सक्रिय छ। यसले विभिन्न अवसरमा नेपालदेखि कलाकारहरु बोलाएर सांगीतिक कार्यक्रमहरुको आयोजना तथा संयोजन गरिरहेको छ। युएईको अबुधावी, दुबई, रसअलखेमा र अलएनमा क्षेत्रीय समितिहरुसमेत विस्तार भएको छ।

प्रकाशित मिति: : 2022-11-29 16:18:00

प्रतिकृया दिनुहोस्