आधुनिकताले छोएन पशुपालक किसानलाई

रासस

डम्मर बुढामगर

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। उनीहरूले अन्य पेसालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन।

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्। पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन। उनीहरू परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन्।

स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउँछन्। उनले भने, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौं, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान।’

उनले १८  भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आएका छन्। उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो। आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन्। उनी अहिले ५१ वर्ष पुगे। 

‘बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ’, उनले भने, ‘मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैं निको हुन्छन्।’

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आएका छन्। उनी आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अंगाल्दै आएको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरू गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ।’

उनले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिएका छैनन्, तर पनि यो व्यवसायले उनलाई सन्तुष्टि दिएको छ। परम्परागत प्रणालीबाट पशुपालन गर्दै आएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफैं ओखतीमुलो गर्छन्। अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन्।

‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्’, उनले भने, ‘सामान्य रोगको त उपचार म आफैं पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन्।’

आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउँछन्। ‘यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ,’ उनले भने। 

स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गरे। सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउँछिन्। सुनारले भनिन्, ‘हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो।’

पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांश समय गोठमै बस्छन्। पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछिन्। 

प्रकाशित मिति: : 2022-11-29 08:54:00

प्रतिकृया दिनुहोस्