चन्द्र सारु मगर : जो वैदेशिक रोजगारी संगै पार्टीको लागि खटे

अर्घाखाँचीका युवा नेता चन्द्र सारु मगरलाई नेपाली काङ्ग्रेस अर्घाखाँचीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको सांसदका लागि शिफारिस गरेको छ।

लामो समयदेखि संयुक्त अरब ईमिरेट्स (युएई) मा रहि रोजगारी संगै पार्टीको हितमा पुर्‍याएको योगदानको मुल्यांकन गरेर मगरलाई समानुपातिक तर्फको उम्मेदवारका लागि शिफारिस गरिएको अर्घाखाँची काङ्ग्रेसले जनाएको छ।

युएईमा काङ्ग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समितीको स्थापनाकाल देखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका मगरले काङ्ग्रेसको १३ औं र १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रूपमा भाग लिईसकेका छन्। 

२०४६ सालको आन्दोलनमा नेपाली काङ्ग्रेसको झण्डा बोकेका मगर २०५० सालमा आफु अध्यनरत विद्यालय (श्री सुधा मावि , जुकेना) मा नेविसंघ प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै नेपाली राजनीतिमा होमिएका हुन। २०५४ सालमा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता लिएसंगै उनले तरुण दलको गाउँ कमिटी संयोजक सम्हालेका थिए।

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका विभिन्न आन्दोलनहरुमा तरुण दलको नेतृत्व सम्हालेका मगर रोजगारीका निम्ति विदेशिए पनि पार्टीको काममा सक्रिय रहे। सन २०१० मा संयुक्त अरब ईमिरेट्समा नेपाली जनसम्पर्क समितिको गठनका लागि उनको भुमिका मुख्य थियो। उनि जनसम्पर्क समिति युएईको संस्थापन समितिको केन्द्रिय सदस्य,  सहमहामन्त्री, कार्यवाहक महामन्त्री, उपसभापति हुँदै वर्तमान वरिष्ठ उपसभापति हुन।

२०७४ सालको संसदीय निर्वाचनमा समेत नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला समितिले मगरलाई जनजातिबाट समानुपातिक तर्फको सांसदका लागि शिफारिस गरेको थियो। तर त्यसबेला उनि सांसद बन्न सकेनन्। यसपालि भने केन्द्रिय नेतृत्वले आफ्नो योगदानको कदर गर्ने कुरामा आफु विश्वस्त रहेको मगरको भनाई छ।

मगरलाई सांसदका लागि सिफारिस गरेसंगै युएईमा क्रियाशिल नेपाली समाजका अगुवाहरुले खुसी व्यक्त गरेका छन्। लामो समयदेखि युएईमा क्रियासिल समाजसेवी एवम् नेपाली समाजका अगुवा चन्द्रप्रसाद सापकोटाले मगरलाई शुभकामना दिएका छन्। हरेक पार्टीले युवा नेतहरुलाई उच्च प्राथमिकता दिएर संसदमा उपस्थिति गराउनुपर्ने सापकोटाको भनाई रहेको छ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमल्सिनाले मगरको योगदानलाई पार्टीले मुल्यांकन गरेको भन्दै पार्टीलाई धन्यवाद दिएका छन्। मगर शिफारिस हुनु भनेको जनसम्पर्क समितीको उपलब्धि रहेको बताउँदै तिमल्सिनाले विदेशमा रहे पनि राजनीतिक आस्था भएका व्यक्ति नेपालमा अगाडी बढ्न सकिन्छ भन्ने पुष्टि भएको बताए।

प्रकाशित मिति: : 2022-09-10 11:47:00

प्रतिकृया दिनुहोस्