डुब्न लागेकाे घाम जस्ताे भइसके सिन्धुलीका घर्केबहादुर रायमाझी। उमेरले सात दशक कटिसके। उमेरको हिसाबले कुरा गर्ने हाे भने सुखका साथ बस्नुपर्ने उनी, तर झनै दुख गरिरहेका छन्। उनलाई धेरै पैसा कमाउनु छैन तर बाँचुन्जेल आफ्नै कमाइले जीवन चलाउनु छ।
काठमाठौंको सुन्धारामा कपडा सिलाउनका लागि सधैं ग्राहक कुरिरहेका हुन्छन्, उनी। ३० डिग्री तापक्रममा पनि उनी छाता ओढेर थाेत्रा फाटेका लुगा सिलाउँछन्।
भक्तपुरको बोडेमा बस्ने उनी बिहान १० बजे धरहरा नजिकै पुग्छन्। अनि लुगा सिलाउने मेसिनबाट काम सुरु गर्छन्। यसरी नै बितिरहेको हुन्छ, घर्केबहादुरको दिनचर्या।
उमेरले डाँडा काटिसकेका उनलाई काम गर्ने रहर त छैन तर बाध्यताले उनलाई बसेर खान पनि दिँदैन।
‘बुढो भइसकेँ, काम गर्न पटक्कै जाँगर लाग्दैन। तर के गर्नु दुखले साथ कहिले छाडेन’, दुख पोख्दै उनी भन्छन्, ‘भाग्यमा नमरुन्जेल दुख गर्न लेखेको रहिछ।’
दिनभरि कपडा सिलाएर उनी दुई/तीन सय कमाउँछन्। तर कहिले त उनी रित्तै हात घर फर्किछन्।
आफूले कमाएका दुई/चार पैसा उनी घरमा दिने गर्छन्। तर खाली हात घर फर्किँदा उनलाई बुहारीले भन्ने गरेकी छिन्, ‘खोई पैसा? काठमाडौं जस्तो ठाउँमा पैसा नकमाएर हुन्छ? यस्तो महँगी छ।’
दिनभरि ग्राहकको पर्खाइमा बसेका उनलाई मात्र एउटा कुराको पीर छ, ‘बिना पैसा घर फर्किन नपरोस्!’
आफूले काम नगरे भोकै बस्नुपर्ने दुख उनी बिएल नेपाली सेवालाई सुनाउँदै भन्छन्, ‘आफैँले हुर्काएका छोरा त आफ्नो हुँदैन रहिछ, झनै बुहारी त के हुन्थ्यो होला र!’
३५ वर्षका छोरा किर्तिमान पेशाले गाडी ड्राइभर हुन्। तर उनको केही भर छैन।
‘छोराले पैसा त कमाउँछ तर तास खेलेरै सक्काउँछ’, उनले भने, ‘पहिला पढ् भन्दा पनि मानेन, अहिले जुवाडे भएको छ।’
उनलाई अहिले छोरा बुहारीको भन्दा पनि धेरै नातिनातिनीको माया लाग्छ। त्यसैले उनी घर फर्किँदा सधैँ नातिनातिनीका लागि मिठाई बोकेर जान्छन्।
‘सावाँको भन्दा ब्याजको धेरै माया हुँदो रहिछ’, हाँस्दै उनले भने, ‘मलाई बच्चाहरुले माया गर्छन्।’
छोराछोरीको मायाबाट आफू बञ्चित भएको उनको बुझाई छ। ‘छोरा जन्मिए बुहारीलाई ठिक्क भयो, छोरीलाई ज्वाइँले लैजानुभयाे’, उनी दुख पोख्छन्, ‘अन्तिममा आफू एक्लै।’
‘एक मोहर’ मा काम
सिन्धुलीको एक दुर्गम गाउँमा घर्केबहादुरको जन्म भयो। २००७ मा जन्मिएका उनी गरिबमा परिवारमा हुर्किए।
माता-पिता दुबै अरुको खेतमा काम गर्थे। उनीहरु खेतमा काम गरेबापत ‘एक पाथी’ धान कमाउँथे। त्यसैबाट चल्थ्यो रायमाझीको परिवार।
‘१० कठ्ठा आफ्नै खेत थियो तर धानै नफल्ने। त्यसैले बाआमा अरुको बारीमा खेताला जानुहुन्थ्यो अनि धान लिएर आउनुहुन्थ्यो’, विगतलाई सम्झँदै उनले भने।
घरको एक्लो छोरा थिए, घर्केबहादुर। त्यसैले उनी ९ वर्षकै उमेरमा घरकाे जिम्मेवारी सम्हाल्ने भए। ‘घरमा दुख थियो, काम नगरेर पनि के गर्नु र’, उनले भने।
नाबालक उनले पहिलो पटक सिलाइको काम सिकेका थिए। उनले देखेका थिए, सियोलाई धागोमा हालेको अनि त्यसैले कपडा सिलाएको। त्यो देखेर उनलाई पनि इच्छा लाग्यो, कपडा सिलाउने।
‘सुरुमा मैले च्यातिएका थोत्रा कपडा फेला पारेँ’, विगतमा काम गरेको अनुभव सुनाउँदै उनले भने, ‘त्यसैलाई सिलाउन थालेँ। सुरुसुरुमा कपडा सिलाउँदा सियोले हात घोच्यो पनि तर हार मानिनँ।’
सिलाइका काम सिकेका उनको पहिलो तबल थियो, ‘एक मोहर’। काम गरेर पैसा कमाएका उनी निकै खुसी थिए। आफूले पाएको पैसा उनले आमालाई दिँदै भनेका थिए रे, ‘आमा म पनि कमाउने भएँ है।’
उनले त्यसाे भनिरहँदा आमा मनमाया राेएकाे उनलाई अझै याद छ। ‘मैले आमालाई पैसा दिएपछि आमा रुनुभयो’, गहभरि आँसु बनाएका उनी स्वर्गीय आमालाई सम्झँदै भन्छन्, ‘अहिले बल्ल थाहा भयो, किन उहाँ रुनुभएको रहिछ भनेर।’
सानै उमेरदेखि परिवार धानेका उनले १५ वर्षको उमेरमै विवाह गरे। ०२२ सालमा विवाह गरेका उनी दुई वर्षपछि पिता बने।
बच्चाको पिता बनेका उनमा थप जिम्मेवारी बढ्यो। त्यसैले उनी ०५१ मा काठमाडौं आए।
‘७ जना केटाकेटी भइसकेका थिए। उनीहरुलाई खुवाउनु नै पर्यो, त्यसैले यहाँ आएँ’, उनले काठमाडाैं आउनुकाे कारण खुलाउँदै भने।
घर छाडेर काठमाडौं आएका उनलाई थाहै थिएन, कहाँ बस्ने र कहाँ खाने।
साथीहरुको संगतमा काठमाडौं आएको उनी सम्झिन्छन्, ‘गाउँमा दुख थियो। पैसा कमाउन मुस्किल पर्थ्यो, त्यसैले साथीहरूकाे हुलमा काठमाडौं आएँ।’
पहिलो पटक गाउँ छाडेर सहर पसेका उनको कोही थिएन, काठमाडौंमा चिनेका मान्छे। त्यसैले सुरुसुरुमा उनी बाटोमै बस्न बाध्य भए।
‘पहिलाको काठमाडौं अहिलेको जस्तो थिएन। पूरै शान्त थियो, आवाज कतै थिएन’, २८ वर्षअघिको काठमाडाैँ सम्झँदै उनले भने, ‘पूरै अनौठो लागेकाे थियो।’
आफूले सिलाइका काम सिकेपनि नयाँ सहरमा उनले ज्यामी काम गरे। त्यो काम गरेर उनले दिनमा ४/५ रुपैयाँ कमाउन थाले। ‘दुई/चार रुपैयाँ कमाइन्थ्यो, डेढ रुपैयाँको भात खाइन्थ्यो’, उनी सुनाउँछन्।
कहिले ज्यामी काम त कहिले सिलाइको काम गरेर उनले छोरालाई कक्षा ८ सम्म पढाए। आफू एक कक्षासमेत नपढेकोले उनलाई धोको थियो, छोरालाई १० सम्म पढाउने तर, छोराले पढ्नै मानेन।
‘१० सम्म पढेको भए जागिर गर्थ्यो होला तर पढेन’, उनले भने। ७ जना सन्तानमध्येका एक्लो छोरो भएकाले धेरै पढाउने मन भएको उनी सुनाउँछन्।
‘मेरो छोरीहरु त पढेकै छैनन्, उनीहरुलाई पढाएर पनि के गर्नु र। अर्काको घर जाने जात हो’, छोरीको विवाह छिट्टै गरिदिएको बताउँदै उनले भने, ‘के गर्नु गरिब भइयाे खान मुस्किल थियो। केटा माग्न आयो, त्यसैले १५ वर्षकी छोरीलाई पठाइदिएँ।’
आफूलाई सन्तानको धनी बताउने उनी हिजोआज साेच्ने गर्छन्, ‘अरुका लागि होइन, आफ्नो लागि बाँच्नु पर्ने रहिछ!’