बर्मेलीमाथि 'जुन्ता' आतंक, राजनीतिक बन्दीलाई जेलभित्रै चरम यातना

सुधा अत्रि

रंगुन, म्यान्मार
Myanmar Now

म्यान्मारकाे सैन्य शासनविरूद्ध राष्ट्रव्यापी 'मौन हड्ताल'मा उत्रिएका कैयाैँ आन्दोलनकारीहरूलाई 'जुन्ता' सरकारले रंगुनस्थित इन्सेन कारागारमा राजनीतिक बन्दीकाे रूपमा राखेकाे छ। एकहप्ता अघि निर्मम रूपमा कुटपिट गरिएका झन्डै एकसय बढी बन्दीहरूलाई थप उपचार गर्न सैन्य सरकारले अस्वीकार गरेकाे छ।

दर्जनौं राजनीतिक बन्दीहरूले एकाबिहानै आ-आफ्नो स्थानमै बसेर 'रगतमा हाम्रो प्रतिज्ञा' भन्ने 'जुन्ता'विरोध गीत गाएर राष्ट्रव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाएकाे अधिकारीहरूले बताएका छन्। गत १०–डिसेम्बरमा मानवअधिकार दिवसकाे अबसर पारेर उनीहरू 'मौन हड्ताल'मा सामेल भएका प्रदर्शनकारीहरू हुन्।

म्यान्मारकाे सबैभन्दा डरलाग्दाे मानिने इन्सेन कारागारमा राजनीतिक बन्दीमाथि बर्बर आक्रमण भएकाे बन्दीका आफन्त र वकिलहरूकाे भनाइ छ।

मानवअधिकार दिवसका दिन म्यान्माली–नागरिकहरूले सैनिक 'कू'विरूद्ध घरमै बसेर शहर–बजार खाली गरिदिएका थिए। जेल अधिकारीकाअनुसार 'माैन हडताल' गर्ने आयोजकहरूलाई सैन्य सरकारले कारागारकाे एकान्त काेठामा एकसाथ फ्याँकेर उनीहरूको खुट्टा बाँधी चरम यातना दिएकाे छ। केही कैदीहरू गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको स्राेतकाे दाबी छ। जबकि कतिपय महिला कैदीहरू समेत यौन उत्पीडनको शिकार भएर बाँचिरहेकी छिन्।

जेल हडतालमा सामेल भएका एक प्रजातन्त्र समर्थक विद्यार्थी नेताको टाउको र ढाडमा गम्भीर चोट लागेको छ। उनकाे अझै उपचार हुन सकेकाे छैन। इन्सेन जेलभित्र 'मौन हड्ताल'मा संलग्न रंगुन विश्वविद्यालय विद्यार्थी संघका उपाध्यक्ष सिट नाइङको अवस्था गम्भीर रहेको उनका आफन्तहरूले बताएका छन्।

'म सिट नाइङकाे परिवारकी सदस्य हुँ। हामी उनको जीवन बारे चिन्तित छौं, 'प्रतिशोधको डरले आफ्नो नाम बताउन अस्वीकार गरेकी एक महिलाले भनिन्, 'उनलाई घाउमा औषधि लगाउन पनि अनुमति दिएकाे छैन। हामी विश्वास गर्छौं कि उनको जीवन अझै खतरामा छ। उनलाई तुरुन्तै चिकित्सा उपचार चाहिन्छ।'

अखिल बर्मा फेडेरेसन अफ स्टुडेन्ट युनियनका उपाध्यक्ष वाइ यान फ्यो मो र रंगुन युनिभर्सिटी स्टुडेन्ट्स युनियनका विद्यार्थी अधिकारका प्रवक्ता ले प्या सो मोलाई पनि प्रदर्शनका क्रममा नराम्ररी कुटपिट गरिएको परिवारका सदस्यहरूले बताएका छन्। उनीहरुलाई खुट्टा बाँधेर एकान्त कारागारमा राखिएको बताइएको छ।

ले प्या सो मोकी आमा म्या मोएले जेलका कर्मचारीहरूले छोराको उपचारमा ध्यानै नदिएकाे बताइन्।

थाइल्यान्डको माई सोटमा रहेको मानवअधिकार संगठन एएपीपीका प्रवक्ताले घाइते बन्दीहरूलाई उपचार गर्न अस्वीकार गरेर जुन्ता अधिकारीहरूले 'मानवअधिकारको गम्भीर उल्लङ्घन' गरेकाे बताएका छन्। मौन हडतालपछि जेल अधिकारीहरूले बन्दीहरूका लागि कडा उपायहरू लागू गरेका छन्। 

अदालतको सुनुवाइका लागि इन्सेन कारागारबाट बाहिर लैजानुअघि अधिकारीहरूले महिला कैदीहरूमाथि हिंसा गरेकाे बताइएकाे छ।बन्दीहरूले अदालती सुनुवाइका क्रममा परिवारका सदस्यहरू र उनीहरूका वकिलहरूलाई गोप्य रूपमा साना नोटहरू दिएर बन्दी दुर्व्यवहारको समाचार बाहिर आएको छ।

जब कैदीहरूलाई सुनुवाइका लागि अदालतमा लगिन्छ, जुन्ता प्रतिनिधिहरूले वकिलहरूसँग कुराकानीको निरन्तर निगरानी गर्छन्। सैन्य सरकारका अधिकारीहरूले वकिलहरूलाई मिडियामा सूचना चुहावट नगर्न धम्की दिएका छन्।

प्रकाशित मिति: : 2021-12-19 09:04:00

प्रतिकृया दिनुहोस्