आङ सान सुकी र राष्ट्रपतिलाई चारवर्षको जेल सजाय

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मार सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र अपदस्थ राष्ट्रपति यु विन मिन्टलाई चारवर्षको जेल सजाय सुनाएको छ।

सोमबार सैन्य अदालतले काेराेना नियम उल्लंघन गरेको भन्दै उनीहरूमाथि म्यान्मारकाे संविधान ५०५ (ख) मुद्दामा दुई वर्ष र विपद् व्यवस्थापन दफा अन्तर्गत दुई वर्षको जेल सजाय सुनाइएको हो। 

७६ वर्षीया सुकीमाथि अन्य ११ आरोप पनि लगाइएको छ। ती सबैमा आराेपमा उनी दोषी पाइए एक सय वर्षभन्दा धेरै जेल सजाय हुनसक्छ। तर, सुकीले आफूविरुद्धका आरोपहरूको पूर्णरूपमा खण्डन गरेकी छन्। 

गत फेब्रुअरीमा सेनाले राजनीतिक 'कू' गर्दै सत्ता आफ्नो हातमा लिएपछि उनलाई पक्राउ परेर नजरबन्दमा राखेको छ। उनलाई कहिलेदेखि जेलमा राखिने भन्ने प्रस्ट भइसकेको छैन।

त्यस्तै, सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाै‌ं घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ।

रंगुन शहरमा सेनाकाे एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे। सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे। 

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाइ जेल हालिएकाे छ। पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन्। 

प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ। बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ। 

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु हुन थालेपछि अ‌ाजभाेलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायाेजना गर्न थालेका छन्।

त्यसैगरी, उत्तरपश्चिमी साङ्गिङ प्रान्तमा सेनाले सत्ता कब्जा गरेपछि विद्रोहमा उत्रिएका सयौं सर्वसाधारण मारिएका छन्। साङ्गिङक्षेत्रस्थित विभिन्न बस्तीहरू गत फेब्रुअरी यता प्रजातन्त्र पक्षधर र तानाशाही सैनिकबीचकाे युद्धले रणभूमि बनेकाे छ।

सैन्य 'कू'पछि साङ्गिङक्षेत्रमा बसाेबास गर्ने कम्तिमा ४१४ नागरिकको हत्या भएकाे अधिकारीहरूले बताएका छन्। जसमा जुन्ता सरकारकाे सुरक्षा बलबाट ३०९ जना मारिएका छन्।

सैनिक सत्ताविरूद्ध युद्ध मैदानमा उत्रिएकाे पीपुल्स डिफेन्स फोर्स (पीडीएफ)का दर्जनाैँ लडाकू र कैयाैँ सरकारी सैनिकहरूकाे मृत्यु भएकाे छ। पीडीएफ लडाकूद्वारा मारिएका कतिपय सैनिक सर्मथक स्थानीयहरू सेनालाई सूचना दिने काम गर्थे।

छिन् प्रान्तको सीमाक्षेत्रस्थित काहे सहरको तरहान बस्ती यसक्षेत्रकाे सबैभन्दा घातक स्थानका रूपमा परिचित छ।

म्यान्मारकाे सैनिकले गत मार्च २८ र अप्रिल ७ मा बन्देज लगाइएका दर्जनाैँ गाउँका जुन्ताविरोधी प्रदर्शनकारीहरूलाई ठूलाे आक्रमण गरेकाे छ। आक्रमणमा परी कम्तिमा १८ निर्दाेष नागरिककाे मृत्यु भएकाे छ। सेनाकाे आक्रमणपछि घाइते भएका तीन सयभन्दा बढी स्थानीयहरू पक्राउ परेका छन्।

द्वन्द्वग्रस्त क्षेत्रका एक पीडीएफ सदस्यले स्थानीय सञ्चार–संस्थालाई दिएकाे जानकारीअनुसार सैनिकसँग लड्न भारी हतियार चाहिने छ।

पीडीएफका अर्का सदस्य भन्छन्, 'तानाशाही कदमकाे प्रतिकार गर्न थुप्रै संख्यामा बन्दुक चाहिन्छ। यहाँ दमन समाप्त होस्। छोराछोरीहरू हामीजस्तै पीडित नबनून् भनेर हामीले प्रतिरोध सुरु गर्‍यौं। पुरुषहरू प्रतिरोधमा सामेल भएका छन्। लडाइँमा सामेल हुन नसक्ने वृद्ध–महिलाहरूले आफ्नो झुम्का तानेर हतियार किन्न हामीलाई प्रस्ताव गरे।'

यसक्षेत्रका महिलाहरू समेत सेनाविरूद्धकाे विद्रोह देखेर निकै उत्साहित भएकाे पीडीएफ अधिकारीहरूले बताउँछन्।

साङ्गिङक्षेत्रमा ३७ वटा बस्ती छन्। तीमध्ये लगभग सबैको आ–आफ्नै लडाकू समूहहरू बनिसकेका छन्। यीक्षेत्रमा सेनाविरूद्ध लड्न विभिन्न नामका अन्य समूहहरू पनि गठन गरिएकाे छ।

'साङ्गिङमा पीडीएफ समूहहरू एकमतका साथ युद्धमा जुटेका छन्, 'एक लडाकूले भनिन्, 'हाम्रो शक्ति दिन प्रतिदिन बढ्दै गएको छ। हरेक समूह बलियो बन्दै गएका छन्। उत्पीडितहरू एकजुट भएका छाैँ। हामी दृढ निश्चयका साथ सशस्त्र संघर्ष जारी राख्छौं।'

स्थानीय पीडीएफ सदस्यकाअनुसार साङ्गिङक्षेत्रमा पीडीएफ फोर्सको संख्या सानाे संख्यामा थियाे। दिनदिनै सेनकाे क्रूरता बढेपछि अहिले दश गुणा बढेको उनीहरू बताउँछन्। सेनाले प्रतिरोधलाई कुचल्नको लागि भारी तोपखाना र हवाई आक्रमणहरू प्रयोग गरिरहेकाे छ।

साङ्गिङ राजनीतिक र ऐतिहासिक रूपमा बलियो आधार भएकाे क्षेत्र हो। म्यान्मारकाे छाया सरकार 'राष्ट्रिय एकता सरकार'मार्फत् आरएफएले संकलन गरेको तथ्याङ्कअनुसार जुनदेखि नोभेम्बरसम्मको पाँच महिनामा साङ्गिङक्षेत्रमा ५ सय ९७ सशस्त्र झडप भएका छन्। सोहीअवधिमा २७४ सर्वसाधारण र १ हजार १३७ जना सैनिक मारिएका छन्।

इन्स्टिच्युट फर पोलिसी एन्ड स्ट्र्याटेजिक स्टडिजकाअनुसार साङ्गिङमा भएको द्वन्द्वबाट अक्टोबरको अन्त्यसम्म ७५ हजार २५० भन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: : 2021-12-06 12:15:00

प्रतिकृया दिनुहोस्