म्यान्मारः पूर्वमुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोपमा ७५ वर्ष जेल सजाय

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मारको सैनिक नियन्त्रित विशेष अदालतले राज्यकी एक पूर्वमुख्यमन्त्रीलाई भ्रष्टाचार गरेको आरोपमा ७५ वर्षको जेल सजाय सुनाएको छ।

सैन्य ‘जुन्ता’ सरकार समर्थक विशेष अदालतले कैयान राज्यकी पूर्वमुख्यमन्त्री नाङ खिन ठ्वे मिन्टलाई डेढ दशक यताकै कठोर सजाय सुनाएको हो।

६५ वर्षीया मिन्ट प्रजातन्त्रवादी नेत्री आङ सान सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी शीर्ष नेत्रीसमेत हुन्।

मिन्टमाथि सैन्य सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै पाँचवटा मुद्दा दर्ता गरेको थियो। म्यान्मारकाे भ्रष्टाचार विरोधी कानूनको दफा ५५ अन्तर्गत पाँचवटा मुद्दामा ७५ वर्षको जेल सजाय तोकिएको छ।

सैन्य सरकारको अधिनमा रहेको विशेष अदालतले अलग–अलग आरोपकाे प्रति १५ वर्षको जेल सजाय सुनाएको स्थानीय समाचारमाध्यमले जनाएका छन्।

तर, उनीमाथि थुपारिएका ती सबै आरोप पार्टी नेतृत्वलाई कमजोर पार्ने उद्देश्यका साथ आएको प्रजातन्त्र सर्मथक बर्मेलीहरूले बताएका छन्।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को केन्द्रीय कार्यसमितिका सदस्यसमेत रहेकी मिन्टलाई १–फेब्रुअरीमा सैन्य विद्रोहपछि पक्राउ गरिएको थियो।

त्यस्तै, साेही राज्यका पूर्वविकास मामिला मन्त्री ऊ तान नाइङलाई ९० वर्षको जेल सजाय सुनाइएको छ। उनलाई ६ वटा मुद्दामा ९० वर्षको जेल सजाय सुनाइएको हाे।

प्रकाशित मिति: : 2021-11-10 09:29:00

प्रतिकृया दिनुहोस्