धन झुल्ने सहेंलाका फाँटमा अब कागती

तारानाथ आचार्य
एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे। वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन्। 

पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन्। व्यवसायिक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन्। 

बागलुङ नगरपालिका १४ अर्माहाका किसानले झण्डै साढे दुई सय रोपनी जग्गा एकीकृत गरी व्यवसायिक  खेती  शुरुआत गरेका थिए । यस वर्ष पनि यसलाई थप विस्तार गर्ने जनाएका छन्। 

चासो कृषक समुहमा आबद्ध ६२  किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन्। उनीहरुले खेती थालेको जग्गा भने बागलुङ–१२ सहेंलाको फाँटमा पर्छ। 

गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन्। 'हाम्रो योजना ६ हजार बिरुवा ३ सय रोपनी जग्गा पुर्याउने हो' समूहका अध्यक्ष केशव सुवेदीले भने, 'एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ।'

सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन्। सहेंलामा खेतीयोग्य जमिन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ। यहाँ सो खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन्। 

'उहाँहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ' नगर प्रमुख जनकराज पौडेलले भने, 'सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ।'

 पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ। यस वर्षपनि थपिने दुई हजार विरुवा सुन कागती–२ जातकै हो। एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै रु २० लाख अनुदान पाएका छन्। 

'एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले बिक्री गर्दा सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिएला' अध्यक्ष सुवेदी भन्छन्, 'विरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ।'

एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो। पाँचवर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-06 14:41:00

प्रतिकृया दिनुहोस्