अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग

राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरे । 

सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे । उनले तराई मधेसका जनताको भारत सीमाक्षेत्रका नागरिकसँगको विवाह सम्बन्ध तोडेर मुलुकको राष्ट्रियता बलियो नहुने तर्क गर्दै भारतसँगको सांस्कृतिक सम्बन्ध कसैले तोडेर नटुट्ने बताए । साथै उहाँले निर्णयमा पुनःविचार गर्न आग्रह गरे। उनले मुलुकको परराष्ट्र नीति दुई छिमेकी चीन र भारतसँगको समुदरीका आधारमा हुनुपर्ने बताए । 

सांसद मृगेन्द्रकुमार सिंह यादवले नागरिकता विधेयक सम्बन्धमा नेकपाले सहमतिको बाटो छोडेर निर्णय गरेको भन्दै यसमा दुःख लागेको बताए । उनले उक्त निर्णयले तराईका समुदायको संस्कृतिमाथि अतिक्रमण हुने आरोप लगाए । फरक प्रसङ्गमा उहाँले खेतीपातीको समय भएको र विदेशबाट पनि धेरै युवा स्वदेश फर्केको समयमा मलको उचित व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे।

सांसद देवेन्द्र दाहालले शून्य र विशेष समयमा बोलेको कुरा वेवारिसे हुने गरेको उल्लेख गर्दै रेकर्डमा मात्र सीमित हुने र जनताका कुरा उठ्ने काम नहुने विषयले खासै अर्थ राख्दैन भने । उनले जनताका कुरा सुनुवाइ नभएको देखिएको हुँदा आगामी दिनमा समाधानका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद शेखरकुमार सिंहले वर्षायाम शुरु भएको बताउँदै तराई मधेसमा वर्षेनी बाढीबाट हुने क्षतिका सम्बन्धमा समयमै सरकारले ध्यान दिई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए। उनले तटबन्ध निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ध्यानाकर्षण गराए । साथै सो क्षेत्रमा किसानको बालीनालीमा वन्यजन्तुले गर्ने क्षती बारेमा वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: : 2020-06-22 17:57:13

प्रतिकृया दिनुहोस्