जुम्लाबाट कोरोना परीक्षणका लागि पठाइएका ३२४ को रिपोर्ट नेगेटिभ 

जुम्लाबाट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका ३ सय २४ जनाको रिर्पोट नेगेटिभ आएको छ। भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावल जानकारी दिए। 

‘सबैको रिपोर्ट नेगेटिभ आयो। यो जुम्लाबासीको लागि खुसीको खबर हो। अब पनि लकडाउनलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने देखिन्छ।’ उनले बिएल नेपाली सेवासँग भने, ‘हालसम्म कर्णालीमा कोरोना देखिएको छैन। यही अवस्था कायम रहने हो भने हामी सुरक्षित रहनेछौं।’

जिल्लाको एक नगरपालिका तथा सात गाउँपालिकाको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका उनीहरुलाई तीन ठाउँमा बोलाई स्वाब संकलन गरिएको थियो। 

जसमध्ये कनकासुन्दरी गाउँपालिकाबाट ५०, हिमा गाउँपालिकाबाट एक सय २४ र जुम्ला विमानस्थलबाट एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिइन।

उनले भनिन्, ‘संघीय सरकार अन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण लागि काठमाडौं पठाएका थियौं।’ 

कोरोना परीक्षणको स्वाब संकलन गर्न जुम्ला विमालस्थलमा कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसन टोलीका डा. रुजु केसीसहित चारजना, हिमा गाउँपालिकामा कर्णाली प्रतिष्ठानका ल्याव प्राविधिक विवेक पुनमगरसहित चारजना र कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलसहित चारजना चिकित्सकको टोली लगायत सहयोगी स्वास्थ्यकर्मी परिचालन भएको थियो।

भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखेकाले संघीय सरकारको ध्यानाकर्षण भएर जुम्ला प्राथमिकतामा परेको बन्जाडेले थपिन्। 

यसअघि जुम्लाबाट स्वाब संकलन गरेर पठाइएको ६ जनाको रिपोर्ट नेगेटिभ पनि आएको थियो।

प्रकाशित मिति: : 2020-04-13 17:59:20

प्रतिकृया दिनुहोस्