धनगढी - कर्मचारी समायोजनले चिकित्सकविहीन सुदूरपश्चिमका अस्पतालको अवस्था दयनीय बनेको छ। अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालले पनि चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको छैन।
सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ। प्रदेशमै अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ।
‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्,’ कैलालीको मसुरियाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका लहानु चौधरीले भने, ‘यहाँ भएका चिकित्सक पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो।’ चिकित्सक थप्नुपर्नेमा भएकालाई पनि समायोजनका नाममा बाहिर पठाइएपछि विपन्नले रोग पालेर बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘अब त आफ्नै गाउँठाउँमा सामान्य बिमारको पनि उपचार नपाइने भयो।’
प्रदेशकै रेफरलका रुपमा रहेको सेती अञ्चल अस्पतालमा ११ औं तहका तीन, १० औं तहका चार र नवौं तहका चार गरी ११ जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा समायोजनपछि तीनजना मात्रै बाँकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कर्मचारी समायोजनको मारमा सुदूरपश्चिमका अस्पताल परेका छन्। यसै कारण सुदूरपश्चिमका अस्पताल डाक्टरविहीन बनेका हुन्। सुदूरपश्चिम प्रदेशका अस्पतालमा कार्यरत नवौं, दसौं र एघारौं तहका डाक्टरको पदस्थापन अन्यत्र भएकाले समस्या आएको हो। धनगढीस्थित सेती अञ्चल अस्पताल, महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा नवौं तहभन्दा माथिका धेरै डाक्टरको पदस्थापन प्रदेशबाहिरका अस्पतालमा भइसकेको छ। सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा बाहिरबाट एकजना मात्रै विशेषज्ञ डाक्टर आउने भनी सार्वजनिक भएको छ।
सेती अञ्चल अस्पतालमा ११औं तहका तीन, १०औं तहका चार र नवौं तहका चार गरी ११ विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले आठजनाको अन्यत्रै समायोजन गरी पदस्थापन गरेको छ। सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले समायोजनमा परी यहाँका विशेषज्ञ डाक्टर अन्य प्रदेशमा गएको र अन्यत्रबाट यहाँ नआएकाले बिरामीको उपचार गर्न कठिनाइ भएको बताए। ‘११औं तहको म, १०औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीले मात्र यही प्रदेश रोज्यौं। त्यसैले हामीमात्र यसै अस्पतालमा छौं,’ उनले भने, ‘अन्य डाक्टर बाहिर गएकाले सेती अञ्चल अस्पतालका वार्ड नै बन्द हुने अवस्थामा आएको छ।’ भदौमा सेवानिवृत्त हुने डा. बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको उनले बताए।