पारस शाह नेपालका पूर्वयुवराज हुन्- यो इतिहास हो । यो मुलुक उनका पुर्खाको नेतृत्वमा अर्जेको हो- यो पनि इतिहास हो । तर, वर्तमानमा चाँहि उनी एक सर्वसाधारण नेपाली नागरिक मात्र हुन् । यो सत्य हो ।
जसरी एक सर्वसाधारण नागरिकमा रिस, राग, क्रोध, माया, मोहजस्ता संवेदनाहरू हुन्छन्, पारसमा पनि हुन्छन्, यो स्वभाविक मात्र हैनन्, अरू बढी स्वभाविक हो । उनी युवराजको इतिहासबाट सर्वसाधारणको वर्तमानमा घटुवा भएका एक अभागी मानिस हुन् । पूर्वराजा ज्ञानेन्द्रको अथाह सम्पति र व्यापारिक साम्राज्यका एकलौटो उत्तराधिकारी भएर पनि साथी- शुभेच्छुकको भरमा बाँच्नुपर्ने एउटा विडम्बनाको नाम पनि हो- पारस शाह ।
बाहिरबाट हेरर्दा पारस शाह अर्कै देखिन र लाग्न सक्छन् । तर, उनी के हुन त्यो चाँहि उनै भएर मात्र अनुभूत हुन सक्छ होला शायद । न परिवार, न श्रीमती, न आमबाबुको साथ र संरक्षकत्व केही पनि छेन उनीसँग । एक किसिमले भन्ने हो भने भिखारी जस्तै जीवन बिताइरहेका छन् उनी । अरू जुनीको कुरै नगरौ, एउटै जुनी त्यो पनि एकदशकको अवधिमा के भयो भन्दा पनि के के भएन पारसको जीवनमा । भाग्य र समयले यति धेरै परेड खेलेको एउटा मान्छे कसरी स्वभाविक जीवन बाँच्न सक्छ र ? तैपनि बाँच्न प्रयासरत देखिन्छन् उनी । उनको जीवनको उतारचढाव समाजशास्त्र/मानवशास्त्रमा विद्यावारिधिको गजबको शोधको विषय बन्न सक्छ ।
यसो हुनुमा उनको जति दोष छ, त्योभन्दा बढी दोष शिक्षा, संस्कार र संगत केही पनि दिन नसक्ने उनका बाबुआमाको पनि छ । आखिर जन्मदा त उनी यो रूपमा जन्मेका थिएनन् । आज जे छन्, उनी त्यही निर्मल निबासका उत्पादन हुन् । सिक्काका दुईवटा पाटा हुन्छन् भनेर हेर्ने हो भने यो पाटाेबाट हेर्दा पारस शाहको नियतिको कल्पना मात्र गर्न सकिन्छ ।
अर्को सत्य के पनि हो भने, उनी अहिले जस्तो हुनु परेको छ, न उनी त्यस्तो हुन जन्मेका थिए, न त्यसरी नै उनलाई हुर्काइएको थियो । एउटा परिस्थिति र भूमिकाका लागि जन्माइएको र हुर्काइएको पात्र अर्कै भूमिका र परिस्थितिमा बाँच्नुपर्दा अस्वभाविकताहरू देखिनु स्वभाविक हो । पारस साहमा यदाकदा देखिने हर्कत पनि त्यसैको परिणाम हो ।
पछिल्लोपटक पारस साहको पारोे फेरि एकपटक चढ्यो । उनले विमानस्थलमा एकजना प्रहरी अधिकृतलाई दुर्व्यवहार गरेको समाचार बाहिरियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भयो । उनीमाथि धेरैले गालीको बर्षा गरे । तर, यसपटक उनलाई केही समर्थन पनि मिल्यो ।
उनले यसो गर्न पाउँनुपर्छ, त्यो हैन । उनले मात्र हैन, अरू कसैले पनि यसो गर्न पाउँनु हुदैन । तर कहिलेकाँही यस्तै दुर्भाग्यपूर्ण घटना हुन्छन् । कुनै चाहेर, कुनै नचाहेर । अब यो घटना पारसले चाहेका थिए या थिएनन् - त्यो सबैको आआफ्नो पक्षधरताका आधारमा गरिने अनुमान मात्र हो ।
तर, महत्वपूर्ण कुरा पारसले अंग्रेजीमा सामाजिक सञ्जालमा जे लेखे । त्यसले भने यो घटनाको सन्दर्भमा उनलाई हेर्ने दृष्टिकोणमा केही फरक आएकजस्तो देखिन्छ । उनले लेखेका छन्-
मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैँकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ। म सम्बन्धित पक्षसँग माफी चाहन्छु। तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु।
यसमा पाँचवटा कुरा अत्यन्त महत्वपूर्ण छन् ।
पहिलो, पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ ।
दोस्रो, मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ ।
तेस्रो, म सम्बन्धित पक्षसँग माफी चाहन्छु ।
चौथो, तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो ।
पाँचौ, बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु ।
पहिला त उनले आफ्नो खराब मुड चलिरहेको स्विकार गरे । यो नै ठूलो कुरा हो । आज नेपालमा कसले आफ्नो कमजोरी र गल्ती यति सजिलै स्विकारिरहेको छ ? दोस्रो, उनले सम्बन्धित पक्षसँग माफी नै मागे। पारस शाहले मागी मागे, इतिहासमा पहिलोचोटि भएको होला । यो आफैंमा चानचुने कुरा हैन ।
अनि उनले आफ्नो छोरामाथि प्रहरीको डण्डा देखेको कुरा उठाएर बाबुको कर्तव्यको कुरा गरे । एटा बाबुलाई आफ्नो छोराका लागि यति गर्नु उनले नाजायज ठानेनन् । तर, पनि सम्बन्िधत पक्षसँग माफी गरे ।
त्योभन्दा पनि महत्वपूर्ण कुरा उनले यसबारे निर्णय गर्न नेपाली जनतालाई छाडिदिए । यो भनेको नेपाली जनताको सार्वभौमिकतालाई स्वीकार्नु हो ।
पारसलाई जन्मजात मन नपराउने पृष्ठभूमि र त्यहीबाट निर्देशित मनोग्रन्थीले काम गर्ने हो भने त बेग्लै कुरा हो । तर, यस घटनालाई मात्र राखेर उनले सार्बजनिक गरेको धारणालाई आग्रह पूर्वाग्रह नराखी हेरेने हो भने यसपटक पारसको पारो चढे पनि उनले त्यसको मज्जाले सुरक्षित अवतरण गरे । अर्थात् उनले यसपटक यो घटनालाई परिपक्व किसिमले ट्याकल गरेर बाजी मारे ।